जनप्रतिनिधि नै लगाउँदैनन् खोप

जनप्रतिनिधि नै लगाउँदैनन् खोप

दाङ : राजपुर गाउँपालिकाका–६ का वडाध्यक्ष पहिलो चरणको कोरोनाविरुद्ध खोपमा सहभागी भएनन्। कोरोना खोपका विषयमा जनस्तरमा आएका विषयमा उनी कोरोना खोप लगाउन पन्छिएका हुन्। ‘खोप लगाउँदा असरहरू देखिन्छ, शारीरिक समस्या हुन्छ भन्ने सुनेर मैले अहिले खोप लगाइनँ’, उनले भने।

तुलसीपुर उपमहानगरपालिकाका—५ जना वडाध्यक्षसहितका जनप्रतिनिधिले पनि कोरोनाविरुद्धको पहिलो र दोस्रो चरणको खोप अभियानमा सहभागिता जनाएनन्। तुलसीपुर–४ का अध्यक्ष बालकृष्ण रानाले पहिलो चरणमा कोरोनाविरुद्धको खोप नलगाएको बताए। ‘खोपप्रतिको अविश्वासका साथै कामको चापले पहिले खोप लगाउन पाइएन’, उनले भने, ‘अब चाहिँ लगाउने सोच बनाएको छु।’ तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम ढकालले पहिलो चरणमा नलगाए पनि अबको चरणमा भने खोप लगाउने बताए। उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखाले पटकपटक आग्रह गर्दा पनि जनप्रतिनिधिले खोप लगाउन आलटाल गरेका कोरोना फोकल पर्सन विमल केसीले बताए।

शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह पनि कोरोना खोप अभियानमा सहभागी भइनन्। गाउँपालिका जनप्रतिनिधि र कर्मचारी खोप अभियानमा सहभागी भए पनि उपाध्यक्षसहितका केही जनप्रतिनिधि खोप अभियानमा सहभागी भएनन्।  दाङका १०वटा स्थानीय तहका ५ सय ८० जना जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको भए पनि करिब ४० प्रतिशत जनप्रतिनिधिले मात्रै खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए। दाङमा २ सय ४५ जना जनप्रतिनिधिले मात्र खोप लगाएका छन्। 

कोरोनाविरुद्धको खोप अभियानमा जोखिमपूर्ण समूहमै रहेका जनप्रतिनिधिहरू नै सहभागी नहुँदा जनतामा राम्रो सन्देश नजाने शाहीको तर्क छ। लुम्बिनी प्रदेशमा ३ हजार २० जना जनप्रतिनिधिले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रादेशिक अस्पताल तुलसीपुरका वरिष्ठ फिजिसियन डा.सर्वेश शर्माले कोरोना खोपमा कोही पनि डराउनुपर्ने अवस्था नरहेको र ढुक्कसँग लगाउन सकिने बताए। उनले सचेतना र परामर्श कम हुँदा जनप्रतिनिधिमा खोपप्रति अविश्वास हुनसक्ने भन्दै पालिका स्तरबाटै सचेतना बढाउनुपर्नेमा जोड दिए। 

पहुँचका आधारमा खोप
तुलसीपुरका चन्द्रा थापाले पहिलो चरणको खोप लगाएको फोटो फेसबुकमा सार्वजनिक गरिन्। उनी स्वास्थ्यकर्मी नभएर व्यवसायी हुन्। कोरोना खोपमा व्यवसायीको चरण सुरु भएको छैन। तर, थापाले पहँुचको भरमा पहिलो चरणमै कोरोना खोप लगाउन सफल भइन्। उनी जस्तै अन्य पाँच जनाले पनि लक्षित वर्ग नभई पहुँचको आधारमा पहिलो चरणको कोरोना खोप लगाएका छन्। 

निजी स्वास्थ्य संस्थाले पहुँचका आधारमा गैरस्वास्थ्यकर्मीलाई समेत खोप लगाइदिएका तथ्य खुलेको छ। तुलसीपुरमा रहेका निजी अस्पतालहरूले अस्पतालका अध्यक्ष, निर्देशक र  उनीहरूका परिवारका सदस्यसमेतलाई खोप लगाएको तथ्य खुलेको हो। तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले झुक्याएर बाहिरका केही व्यक्तिले खोप लगाएको हुनसक्ने बताए। 

७१ हजार ४ सयलाई खोप 
लुम्बिनी प्रदेशमा कोरोनाविरुद्धको पहिलो र दोस्रो चरणको खोप ७१ हजार ४ सय ७१ जनाले लगाएका छन्। विभिन्न क्षेत्रबाट सहभागी गराएर लक्ष्यअनुसार कोरोना खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालय कोरोना फोकल पर्सन कौशल भण्डारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.