केन्द्रीकृत विकासका आयाम
यस्तो एउटा समय थियो जतिबेला मेरो हजुरबुवा पूर्वी नेपालको भोजपुर जिल्लाबाट शिक्षा र अवसरको खोजीमा राजधानी काठमाडौं आउनुभयो। कैयन् दिनको यात्रा थियो त्यो।
तीन दिनसम्म हिँडेपछि बल्ल सुनसरी जिल्लाको धरान पुगिन्थ्यो। हजुरबुबा पनि त्यसरी नै धरान पुग्नुभयो र त्यहाँबाट कहिले नेपाल त कहिले भारतको बाटो हुँदै अन्ततः काठमाडौं आइपुग्नुभयो। कष्टपूर्ण र झन्झटिलो थियो त्यो यात्रा।
मेरो बालमष्तिस्कमा कैद भई बसेका हजुरबुबाका ती सम्झना आज पनि त्यत्तिकै ताजा छन्।
तर आज समयले काँचुली फेरिसकेको छ। कुमालेको चक्र झैं समयले पनि ती दिन छाडिसकेको छ। त्यो पल, त्यो परिवेश रहेन अब। आजको दिनमा नेपालमा यस्तो एउटा जिल्ला छैन; जसलाई सडक सञ्जालले नछोएको होस्। अब कुनै नेपालीले आफ्नै देशको राजधानी जान भारतीय बाटो प्रयोग गर्नुपर्दैन। यस अर्थमा हामी भाग्यमानी नै छौं।
हिजो हजुरबुबाको त्यो यात्रा र आज मेरो यात्रामा काठमाडौं जाने बाटो फरक भएको छ। समय छोटो भएको छ तर विडम्बना भनाँं उद्देश्य उही छ। त्यही गुणस्तरीय शिक्षा र अवसरको खोजीमा हजुरबुवा राजधानी छिर्नुभएको थियो अनि त्यसैका लागि म पनि। आज पनि देशको कुनाकन्दराबाट अध्ययन र अवसरको खोजीमा काठमाडौं आउनेको घुइँचो उस्तै छ। धेरै नेपालीले आफ्नो सुन्दर भविष्य राजधानीमा नै खोज्नुपर्ने बाध्यता आजको यथार्थ हो।
एउटा विद्यार्थी उसकी आमाले केलाइकुलाइ गरेर पोको पारिदिएको चामलको बोरा मात्र बोकेर छिर्दैन राजधानी, बोकेको हुन्छ उसले उसको बाबुले दश नंंग्रा खियाएर बगाएको पसिनाका दाना। बोकेको हुन्छ उसकी हजुरआमाले पट्याएर राखेका डाँडापरीका आशा। ती सबैको ठूलो भारी बोकेर आफूलाई गह्रुंगो महसुस गर्दै राजधानीतर्फ लम्किएका हुन्छन् उसका पाइला।
एउटा बाबु आफ्नी पत्नीको साडी फाट्दा पनि नयाँ किनिदिन नसक्ने लाचारपनबाट मुक्त हुने आशामा राजधानी छिर्छ। आफ्ना सन्तानले पनि भोलि आफूजस्तै दुःख पाउनु नपरोस् भनेर उनीहरूको एउटा सून्दर भविष्यको कल्पना गर्दैै आफ्नो गाउँ छाडेको हुन्छ। काठमाडौंमा त राम्रा–राम्रा विद्यालय हुन्छन्, त्यहाँ पढेपछि मेरा छोराछोरी पनि एक दिन ठूला मान्छे बन्नेछन् भन्ने आशाको दियो उसले निभ्न दिएको हँुदैन।
यसरी एउटा विद्यार्थीले आफ्नो परिवार छाड्छ आफनो भविष्यका लागि। एउटा बयस्कले आफ्ना बाबुआमाको बुढेसकालको सहारा बन्न छाडेर राजधानीतर्फ लाग्छ केवल सन्तानको भविष्यका लागि। अनि टुक्रिन्छन् परिवार, टाढा हुँदै जान्छन् आफ्न्त, गुम्दै जान्छन् सहारा। यसपछि डाँडापारिका घाम भइसकेका बूढा बाउआमाले आफ्नै हातले हुर्काएका आफ्ना सन्तान भेट्न वर्षौं कुर्नुको कुनै विकल्प बाँकी रहँदैन।
ठूलो परिवार टुक्रिएर सानो भएपछि मानिसमा सामूहिकता हराउँदै जान्छ। उसमा पारिवारिक हितभन्दा पनि व्यक्तिगत हित र फाइदाले महŒव राख्न थाल्छ। पति र पत्नीको थैलो अलग्गै हुन थाल्छ। मैले कमाएको सम्पत्तिले अरूलाई किन गर्ने भन्ने भावना पैदा हुँदै जान्छ। बच्चामा पनि ‘हामी’ भन्ने भावानाको सट्टामा ‘म’ भन्ने भावनाको विकास हुन थाल्छ।
के हाम्रो राजनीतिक नेतृत्वले हामीलाई देखाएको सपना यही हो त ? समृद्ध नेपाल अनि सुखी नेपाली भनेको यही हो त ? के गोजीमा पैसा हुनु मात्र सुख हो र ? त किन हाम्रो नेतृत्वले काठमाडौं बाहिरलाई पनि उत्तिकै प्राथमिकतामा राखेनन् ? किन सहर र गाउँबीचको खाडल पुरेनन् ? एउटा विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गर्न र एउटा बाबुले दुई पैसा कमाएर आफ्ना सन्तानलाई सुन्दर भविष्य दिनकै लागि अझै पनि राजधानीको एउटा साँघुरो कोठामा निसास्सिएर बस्नुपर्ने बाध्यता किन ?
नेपालमा व्यावहारिक रूपमा उपयुक्त ढंगले विकासको विकेन्द्रीकरण नभएको पक्कै हो। तर सरकारले यस विषयमा सोच्दै नसोचेको भने हैन। राणाशासनको अन्त्यपश्चात् २०१९ सालमा संविधानमार्फत नै विकेन्द्रीकरणको अवधारणा अघि सारिएको थियो। यसपश्चात् २०४७ सालको संविधानमा पनि यसबारे प्रस्ट रूपमा उल्लेख गरीएको थियो। यस्तै गरेर नेपालको संविधान २०७२ ले त देशलाई प्रस्टसँग संघीयतामा लगिसकेको छ। देशमा आज शासन सञ्चालनको तीन तह विद्यमान छ।
आर्थिक गतिविधि देशभरि नै अघि बढाइनुपर्छ। ताकि जनताले अध्ययन र अवसरको खोजीमा सधैंभरि काठमाडौं आइरहनुपर्ने बाध्यता अन्त्य होस्।
यस प्रकारले नेपालमा विकेन्द्रीकरणका विभिन्न प्रयास कार्यान्वयन भइसके पनि यसले ग्रामीण क्षेत्रमा बसोवास गर्र्ने जनतालाई व्यावहारिक रूपमा छुन सकेको देखिँदैन। जनताको जीवनस्तरमा आशा गरेअनुरूपको कुनै परिवर्तन ल्याउन सकेको पाइँदैन। हिजोका जनताले केन्द्रीकृत विकासका कारणले पाएको सास्ती आज पनि यथावत् छ।
काठमाडौं उपत्यकामा मात्र कचाकच खाँदिएको विकासले अवसर पनि यहीं मात्र बढाइदियो। अनि सहत्तरै जिल्लाबाट यही अवसर समात्न काठमाडौं आउनेको संख्या आजसम्म पनि घटेन। जसकारणले जति प्रयास गरे पनि काठमाडौं उपत्यका पूर्ण व्यवस्थित बन्न सकेन। घट्दै गयो यसको सुन्दरता। अनि मेरो प्रेम अझ गाढा भएर आयो यो सहरप्रति। अझ लोभ लाग्न थाल्यो यसको ढल्किँदै गएको जवानीप्रति। आदिकवि भानुभक्त आचार्यले देखेको बेहुली झैं सिँगारिएको अलकापुरी कान्तिपुरी नगरी कहाँ रह्यो अब। इड भान डेर कोए अनि माइकल हट् हरूलाई पहिलो हेराइमै प्रेम बसेको काठमाडौं कहाँ हरायो आज ? मनलाई सँगसँगै तनलाई पनि पवित्र पार्न सक्ने बागमती, विष्णुमती त्यही पवित्रता बोकेर बगिरहेछन् त आज ?
एक बेला थियो जतिखेर काठमाडौंको प्रत्येक सडकबाट भीमसेन थापाको धरहरा देखिन्थ्यो। सबैभन्दा बलवान् समय नै हो है भन्दै झक्झकाउने घन्टाघर देखिन्थ्यो। मानो रोपेर मुरी फलाउने किसान बारीमा काम गर्दागर्दा जब थाक्थे, तब आलीमा टुसुक्क बसेर पसिना पुछ्दै पर पशुपतिनाथको गजुरतिर हेरेर हे र्ईश्वर ! भन्दा उनीहरूले थकान बिर्सन्थे। बिहानको मिर्मिरेमा जब उनीहरूको निद्रा खुल्थ्यो तब झ्यालबाट यसो बाहिर हेर्दा पर सेता हिमाल, त्यसको अलि तल हरिया डाँडा अनि ती डाँडामा उभिएको स्वयम्भूनाथको शान्त र स्थिर दुई आँखाले मनलाई पनि शान्त र स्थिर बनाउँथ्यो।
तर आज ती पल समयको गर्वमा बिलाइसके। फिक्का भइसके ती सुन्दरता, रमणीयता अनि मोहकता। हराउन लागिसके मानिस–मानिसबीचका आफ्नोपनका सुगन्ध र मिठासहरू। तर अझै समय छ; जुन हाम्रो मुठीमा छ। चलाइदिऔं जादुको छडी झैं योजना बनाउने मगज, पसिना बगाउने पाखुरा, फर्काऔं काठमाडांैको उही सुन्दरता, स्वच्छता, सुगन्धता अनि बनाऔं विश्वमै एक जीवित संग्रहालय, जुन प्राचीन संस्कृति र सम्पदाले भरिएको हुनेछ। मन्दिर नै मन्दिरको सहर भन्ने उक्ति हराउँदै गए पनि ती धरोहर आज पनि हामीमाझ उत्तिकै गर्वका साथ उभिएका छन्।
आज पर्यटकद्वारा गुगलमा बढी खोजिने सहर काठमाडौं पनि पर्छ। वैदिक, किराँत र बौद्ध सभ्यताको अनेकन सम्पदाको एकै ठाउँ अध्ययन–अनुसन्धान गर्ने सवालमा काठमाडौंलाई हामी विश्वस्तरीय केन्द्र बनाउन सक्छौं। विश्वभरबाट यहाँको काष्ठकला, प्रस्तरकला, धातुकला, चित्रकला हेर्ने र सिक्नेको घुइँचो लगाउन सक्छौं। यहाँ बग्ने बागमती, विष्णुमती, मनोहरा, धोबीखोलालगायतका नदीनालालाई हामी पुरानै रूपमा फर्काउन सक्छौं। काठमाडौंलाई पनि उसै गरेर हामीले फोहोर र प्रदुषणमुक्त गरी पुरानै रूपमा फर्काउन सक्छौं।
तर यसका लागि राज्यले नै यसबारेमा विशेष पहल गर्न जरुरी छ। राज्यले नै व्यावहारिक रूपमै जनताको जीवन छुने गरीको विकासको विकेन्द्रीकरण गर्नुपर्छ। जनतालाई गाउँगाउँमा विकास पुर्याइनुपर्छ। प्रत्येक प्रदेशमा एउटा उच्च गुणस्तरीय विश्वविद्यालय स्थापना गरिनुपर्छ। उद्योगहरू खोलिनपर्छ। आर्थिक गतिविधि देशभरि नै अघि बढाइनुपर्छ। ताकि जनताले अध्ययन र अवसरको खोजीमा सधैंभरि काठमाडौं आइरहनुपर्ने बाध्यता अन्त्य होस्।
प्रतिक्रिया दिनुहोस !