कोचिङ सेन्टरमा आगलागी : १५ बालबालिकाको मृत्यु, झ्यालबाट ‘बचाई दिनुस्’ भन्दै गुहार
भारत : भारतको उत्तर प्रदेशस्थित लखनउको अलीगञ्ज क्षेत्रमा रहेको एक भवनमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकका अनुसार आगो एक कोचिङ सेन्टरमा लागेको थियो ।
अधिकारीहरूका अनुसार भवनको भुइँतलामा पेट सप (जनावरसम्बन्धी पसल) थियो भने माथिल्लो तलामा गेमिङ जोन सञ्चालन भइरहेको थियो । केजीएमयू ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अमिय अग्रवालले १५ बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले भने, ‘२१–२२ जना बालबालिकालाई अस्पताल ल्याइएको छ । पाँच जना घाइते छन् र उनीहरूलाई भर्ना गरिएको छ ।
दुई जना झ्यालबाट हाम फाल्दा घाइते भएका हुन् । उनीहरूको कम्मरमा चोट लागेको छ । सीटी स्क्यान गरेर उपचार भइरहेको छ । १५ जना बालबालिका मृत अवस्थामा ल्याइएका थिए ।’ उत्तर प्रदेश सरकारले घटनाको उच्चस्तरीय छानबिन गर्ने घोषणा गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ र गम्भीर घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयले पनि मृतकका परिवारलाई दुई लाख रुपैयाँ तथा घाइतेलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने जनाएको छ ।
उपमुख्यमन्त्रीले के भने ?
उपमुख्यमन्त्री ब्रजेश पाठकले भने, ‘यस घटनामा १४ जना बालबालिकाको ज्यान गएको छ र चार जना घाइते भएका छन् । उनीहरूलाई केजीएमसी ट्रमा सेन्टरमा पठाइएको छ ।’ उनले थपे, ‘घटनाको उच्चस्तरीय छानबिनका लागि निर्देशन दिइएको छ । मुख्यमन्त्री आफ्ना सबै कार्यक्रम रद्द गरेर लखनउ आइरहनु भएको छ । घाइतेहरूको राम्रो उपचार गर्नु अहिलेको प्राथमिकता हो । पीडित परिवारसँग सरकार पूर्ण रूपमा उभिएको छ ।’ उनका अनुसार उद्धार कार्य सकिएको छ र भवनभित्र अब कोही बाँकी छैन। घटनाका जिम्मेवारमाथि कडा कारबाही गरिनेछ ।
प्रत्यक्षदर्शीले के देखे ?
प्रत्यक्षदर्शी अनुराग ओझाले आगलागी भएको करिब ४० मिनेटपछि मात्रै दमकल टोली घटनास्थलमा पुगेको दाबी गरेका छन् । उनले भने, ‘आगो निकै भयानक थियो । भवनभित्र रहेका मानिसहरू झ्यालबाट ‘हामीलाई बचाई दिनुस्’ भन्दै कराइरहेका थिए । स्थानीयले ढुंगा हानेर सिसा फुटाउने प्रयास गरेका थिए ।’
अर्की प्रत्यक्षदर्शी शशिबालाले पनि दमकल आउन ३०–४० मिनेट लागेको र त्यसले अवस्था झन् भयावह बनेको बताएकी छन् । अरविन्द नामका अर्का प्रत्यक्षदर्शीका अनुसार भवनमा पेट सप र सम्भवतः बेसमेन्टमा पशु अस्पताल थियो भने माथिल्लो तलामा गेमिङ जोन सञ्चालन भइरहेको थियो ।
राजनीतिक नेताहरूले के भने ?
मुख्यमन्त्री योगी आदित्यनाथले घटनालाई अत्यन्त दुःखद भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । भारतीय कांग्रेस नेता राहुल गान्धीले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै लेखेका छन्, ‘लखनउको कोचिङ सेन्टरमा भएको आगलागीमा धेरैको मृत्यु भएको खबर अत्यन्त पीडादायी छ । शोकमा रहेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व मुख्यमन्त्री अखिलेश यादवले पनि मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेलाई उत्कृष्ट उपचार उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनले भने, ‘यो अत्यन्त दुःखद घटना हो । यसको कारणबारे निष्पक्ष र इमानदार छानबिन हुनुपर्छ । भविष्यमा यस्ता दुर्घटना नदोहोरिउन् भन्नेमा सबैको प्रयास आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस !