ट्याटु बिबादपछि भक्तपुरमा चक्कु प्रहार गरी युवकको हत्या
भक्तपुर : भक्तपुर– १ सल्लाघारीस्थित नगरकोट मोडमा चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ । ज्यान गुमाउनेमा महोत्तरी जिल्लाको मिथिला नगरपालिका– ९ स्थायी घर भएका २८ वर्षीय आकाश रसाइली रहेका छन् ।
सामुहिक झगडाको क्रममा उनमाथि गए राति पौने ११ बजे चक्कु प्रहार भई उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको तर, उपचारकै क्रममा मंगलबार बिहान सवा ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । रसाइली ट्याटु बनाउने काममा संलग्न रहेको र ट्याटुकै विषयमा आपसी झगडा बढ्दै जाँदा उनीमाथि चक्कु प्रहार भएको प्रारम्भिक अनुसन्धानमा पत्ता लागेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताएका छन् ।
चक्कु प्रहार गर्ने समूहका व्यक्तिहरु झापाको दमक–२ बेल्दाही घर भएका २७ वर्षीय दोर्जे शेर्पा, उदयपुर त्रियुगा – १३ घर भएका ३१ वर्षीय आयुष कार्की र गुल्मीको तम्घास– ९ रानीबासका ३५ वर्षीय रमेश कुँवर प्रहरी नियन्त्रणमा रहेका छन् । आरोपीहरु सबै सल्लाघारीमै अस्थायी बसोबास गर्दै आएका बताइएको छ । प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस !