खोलामा बेपत्ता बालिकाको शव सय मिटर तल भेटियो
विराटनगर : मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव फेला परेको छ । मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रंगेली–१ बस्ने अनिल खवासकी छोरी एलिना खवास मृत भेटिएकी हुन् ।
एलिना स्थानीय सञ्जीव चौधरीकी छोरी ८ वर्षीया साबिती चौधरीसँग कोचनी खोलामा सोमबार साँझ पौडी खेल्न गएकी थिइन् । दुवै जना पौडी खेल्ने क्रममा एलिना खोलामा डुबेर बेपत्ता भएको पाइएको डीएसपी मिश्रले बताए ।
खोजी गर्ने क्रममा राति ११ बजेतिर उनको शव फेला परेको हो । घटनास्थलबाट डुबेर बेपत्ता भएको करिब सय मिटर तल स्थानीयले बालिकाको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए । त्यसअघि प्रहरी र स्थानीयले लामो समयसम्म खोजी गरेका थिए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !