लक्ष्य पछ्याउँदै बबई सिँचाइ आयोजना
गुलरिया : बर्दियामा बाह्रैमास सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले २०४५ सालदेखि सुरु गरिएको बबई सिँचाइ आयोजनाको समयसीमा सकिनै लाग्दा नहर निर्माणको काममा तीव्रता दिइएको छ। सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको बबई सिँचाइ आयोजना आर्थिक वर्ष २०८५/८६ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
आयोजनामा आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा ३० प्रतिशत बढी बजेट विनियोजन भएको छ। आर्थिक वर्ष २०८३/८४ को लागि २ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ रकम विनियोजन भएको छ। जसमध्ये चालुतर्फ ३ करोड ७६ लाख र पुँजीगततर्फ २ अर्ब ५२ करोड ३ लाख रुपैयाँ रकम विनियोजन भएको बबई सिँचाइ आयोजनाका निर्देशक गोपाल शर्माले बताए।
चालु आर्थिक वर्षमा १ अर्ब ८२ करोड रुपैयाँ रकम विनियोजन भएको उनको भनाइ छ। बबई सिँचाइ आयोजना स्थापनाकालदेखिकै सबैभन्दा बढी बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन भएको छ।
विगतमा न्यून बजेटका कारण आयोजना समयमा सम्पन्न हुन सकेका थिएनन्। आगामी वर्ष आयोजनाको कामले तीव्रता पाउने आशा छ। ‘अब बजेट अभावका कारण आयोजनाको काम नरोकिने उनले दाबी गरे।’ अन्य समस्या नआए तोकिएकै समयमा आयोजना सम्पन्न हुने विश्वास हाम्रो छ। आयोजना दुईदेखि तीन वर्षभित्रमा सकाउने उद्देश्यले बजेट माग गरिए बमोजिमकै बजेट आएको छ। नहर निर्माण धमाधम भइरहेको छ।
नहरमा पानी नभएको किसानहरूले गुनासो गर्छन्। निर्देशक पोख्रेलले थपे निर्माणाधीन भेरी बबई डाइभर्सनको काम सकिए पानीको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। गौरवको आयोजना भएकाले केही चुनौती त छन्। बजेट सुनिश्चितता र वन क्षेत्रमा निर्माण सहजता भए तोकिएकै समयमा हामीले लक्ष्य पूरा गर्छौं।
उनले थपे, ‘हालसम्म आयोजनाको ८१ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत भएको छ। आयोजनाले निर्माण गर्नुपर्ने ७७ किलोमिटर मूल नहरमध्ये ७१ किलोमिटर नहर निर्माण भइसकेको छ।’ अझै ६ किलोमिटर मूल नहरको काम बाँकी छ। आयोजनाको पूर्वी ३ सय ३७ किलोमिटर शाखा र प्रशाखा नहर निर्माणको काम सकिएको छ। पश्चिमतर्फ २२ किलोमिटर नहर निर्माणाधीन अवस्थामा छ। पूर्वतर्फका नहर निर्माणको काम सम्पन्न भएको छ भने पश्चिमी नहरको काम तीव्रता कासाथ भइरहेको उनले प्रष्ट्याए।
बबई सिँचाइ आयोजनाले सिञ्चित क्षेत्र संरक्षण कार्यक्रमअन्तर्गत बबई नदीमा हालसम्म ३१ किलोमिटर तटबन्ध निर्माण भएको र थप नौ किलोमिटर तटबन्ध निर्माणको आवश्यकता छ। बबई सिँचाइ आयोजनाका सूचना अधिकारी शेखरनाथ न्यौपानेका अनुसार पूर्वतर्फको नहर निर्माणको काम सकिएको छ। हाल प्रशाखा र लाइनिङको फाटफुट काम भइरहेको छ। ‘अब बाँकी मुख्य काम भनेको पश्चिमतर्फको गुलरिया नगरपालिका क्षेत्रको रहेको छ। केही स्थानमा जग्गाको मुआब्जा दिन बाँकी रहेको उनको भनाइ छ। हालै बहुवर्षीय स्रोत सहमति आएको हुँदा बाँकी काम तीव्र रूपमा अगाडि बढाउँदै लगेका छौं।’
सिञ्चित क्षेत्रको सुरक्षाका लागि स–साना खोला नालाहरूमा तटबन्ध निर्माण, बाँध निर्माण कार्य आवश्यकताअनुसार भइरहेको उनको भनाइ छ। ‘काम पूरा भएको स्थानमा पनि झरनको व्यवस्थापन गर्ने, काठेडुँडलाई व्यवस्थापन गरेर पक्की नाली बनाउने, कल्भर्ट बनाउनेजस्ता काम भइरहेको कार्यालयले जनाएको छ।
आयोजनाले हालसम्म २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याइरहेको छ। हालसम्म ६ पालिकामध्ये पाँच वटा पालिकामा सिँचाइ पुगिसकेको छ। गुलरिया नगरपालिकाको आठ हजार हेक्टरमा सिँचाइ पुर्याउन बाँकी रहेको उनले प्रस्ट पारे। विगतका वर्षमा भएका ठेक्काहरूको निरन्तरता छ।
प्रतिक्रिया दिनुहोस !