सत्ता–समीकरण

सत्ता–समीकरण

भनिन्छ, राजनीति हो, यस्तै हो। कसैले भने जस्तो हुँदैन। तल–माथि भइरहन्छ। सम्भावनाको खेल हो रे राजनीति, असम्भावना भन्ने केही हुन्न। किनकि राजनीति सांसरिक विषयवस्तु नै हो, गतिशील हुन्छ। व्यर्थैमा मान्छेहरू ‘प्रगतिशीलता’ को ट्याग लगाउँछन् राजनीतिलाई। संसारमा प्रगतिशील नभएको कुरो के छ ? गतिशील भइसकेपछि स्वयम्मा त्यसले प्रगतिशील चरित्र बोकेकै हुन्छ।

तर बुझ्न सकिएन, प्रगतिशील चरित्रले कतिबिघ्न प्रगतिशीलताको खेल देखाएको ! ! उपद्रो नै पो मच्चाएको छ। भन्छ, प्रजातन्त्रमा विश्वास गर्छु, लोकतन्त्रमा विश्वास गर्छु, गणतन्त्रमा विश्वास गर्छु। के–केमा मात्रै विश्वास गर्छु भन्दैन यो प्रगतिशील राजनीतिले ? गर्दा–भन्दा, यसले नैतिकता र अनैतिकताको भेद नै छुट्ट्याउन छाडिसक्यो। इमानदारी र बेइमानीको भिन्नता नै देख्न छाडिसक्यो। के हो निष्ठा ? के हो कर्तव्य ? सबै भुलिसक्यो। मान्छेले केमाथि भरोसा गर्ने ? केको आशा राख्ने ? यो राजनीतिको आफ्नो निर्दिष्ट दिशा कता छ ? पहिल्याउनै गाह्रो भइसक्यो।

गज्जबको छ राजनीतिको प्रगतिशील चरित्र ! कहिले एकै ठाउँमा बसिरहन्छु भन्छ र बसेको जस्तो पनि गर्छ। तर सक्दैन, बामे सर्छ र उभिन खोज्छ। अनि कहिले टुकुटुकु हिँड्छ, कहिले फटाफट पाइला चाल्छ, फेरि खुरुरु दौडन्छ र पर पुग्छ। तर पुगेको ठाउँमा अडिनै सक्दैन। सायद बासु शशीले भने जस्तो– ‘पुग्छु भनेर गएको ठाउँ पाइलैपिच्छे पर सर्छ’ पो हो कि ? तत्काल पहिलेकै ठाउँमा फर्केर आउँछ। फर्केर आउँदा बाटैमा कहिले नाच्छ, कहिले गाउँछ। तर नगाएको बखत कहिले बकबक गर्छ, कहिले भुतभुताउँछ। के पचत्त बुझ्दैन कुन्नि; क्षणभरमा रुन्छ, फेरि अर्को क्षणमा अट्टहास गरेर हाँस्छ। बुझिनसक्नुको छ राजनीति। कहिलेकाहीँ कसैको गुनगान गाउँछ, उसको बखान छाँट्छ, फेरि के लाग्छ, उसैलाई घनघोर गाली गर्छ। चुप लागेर त एक्कैछिन पनि बस्दैन। चकचक चलिरहन्छ। फेरि आफू त चल्छ–चल्छ, एक्लै कहाँ चल्ने हो र; अरूलाई पनि चलाइरहन्छ। कसैलाई पनि चुपचाप बस्न दिँदै दिँदैन।

खेलिरहन्छ राजनीति। खेल, झेलपूर्ण खेल। झेली खेल खेल्न मनपराउँछ। खेलमा आफू मात्रै खेलिरहन होइन, अरूलाई खेलाइरहनमा मजा मान्छ। नोटिस गर्नुपर्ने कुरो के छ भने अरूलाई खेलाउँदा आफ्नो चरित्रलाई भरपूर प्रदर्शन गर्छ। त्यो चरित्र खुबै रोमाञ्चक हुन्छ। साँपसिँढीजस्तो। खेलमा मनोरञ्जन दिलाउँदै, फकाउँदै–फुल्याउँदै जान्छ। लड्डू बाँड्छ, केक काट्छ, भव्य भोजभतेर नै गर्छ। कविता पढ्छ, बाँसुरी फुक्छ, सारंगी रेट्छ, गीतसमेत लेख्छ। र, पुरस्कार थाप्ने बन्दोबस्त मिलाउँछ, सम्मानको खादा ओढ्ने अवसर जुटाउँछ। फोटो खिच्छ, भिडियो खिच्छ, टिकटक बनाउँछ। फेसबुक–ट्वीटर चलाउँछ। भाइरल बनाउँछ। खेल खेलुञ्जेल खेलेकै जस्तो लाग्दानलाग्दै खेल समाप्त भएको घोषणा गर्छ। ‘ए, खेल सकिएको हो र ?’ खेलाडीहरूले हेरेको हेर्‍यै हुन्छन्। वास्तवमा खेल एउटा भूलभुलैया !

खेल्दाखेल्दै खेल सकिइसक्दा खेलाडीहरू आफैंले थाहा नपाई माथि... तिनलाई धेरै माथि पुर्‍याइदिइसकेको हुन्छ राजनीतिले। र, अचानक खेलैखेलमा ढ्यांग्य्रांग तल भुइँमा पछारिदिँदा पो झल्याँस्स हुन्छन्। पत्तै नपाई उत्तानो पर्छन् खेलाडीहरू। हा... हा... हा... अनि खेल खेलाउने राजनीति आफ्नो खेल हेर्दै दंग परेर हाँस्छ। ठीक यहीँनिर खेल हेरिरहने तमासेहरू ताली पिटी–पिटी रमाइरहेका हुन्छन्। उफ्री–उफ्री रमाइरहेका हुन्छन्। नारा लगाइरहेका हुन्छन्। झन्डा उचालेर, ब्यानर बोकेर जुलुस उठाइरहेका हुन्छन्।

तर राजनीतिको रङ कसले पहिल्याउन सक्छ ? कसमा छ त्यस्तो क्षमता, जसले राजनीतिको भित्री खेल बुझोस् ! तमासेहरूले देखेका राजनीतिक दृश्यहरू त केवल नाटक मात्रै हो भन्ने कुरो कसलाई थाहा ? राजनीतिक रंगमंचका पर्दाहरू कति कति ! एउटा खस्न पाएको हुँदैन अर्को खुलिसक्छ। हेर्दाहेर्दै राजनीतिले पछारिएका खेलाडीहरू फेरि उठिसक्छन्। तिनीहरू त्यति कमजोर कहाँ हुँदा रहेछन् र ? पछारिने फेरि सँभालिने, फेरि पछारिने, फेरि सँभालिने त राजनीतिक खेलको संस्कृति नै हो, त्यो परम्परा अवलम्बन गर्न जानिसकेकै हुँदा रहेछन् तिनले। र, यही खेलभित्रै अरूलाई खेलाउने खेल तिनले सिकिसकेका हुँदा रहेछन्। सबैभन्दा अभ्यास भएको खेल– कुर्सीको खेल।

कुर्सी ! बडो शानदारका कुर्सीहरू छन्। सजाएर राखिएका। समान्य कुर्सीहरूभन्दा नितान्त भिन्न स्वरूपका, विशेषतायुक्त ! जसमा बस्नेबित्तिक्कै मोहनी लागे जस्तो हुने। एकदम चुम्बकीय शक्ति छ ती कुर्सीहरूमा। बसेपछि छोड्नै नसकिने, त्यसलाई छाडेर उठ्ने कुरो त झन् परै जाओस् ! लिसो टाँसिए जस्तो।

कुर्सी एउटा होइन, समूहगत रूपमा हुन्छन्। त्यसो त, एक–आपसमा कुर्सीहरूको छुट्टाछुट्टै लहर हुन्छ तर सबैले आ–आफ्नो समीकरण मिलाएर बसेका हुन्छन्। एक छेउमा राता कुर्सीहरू, अर्को छेउमा नीला, सँगै अलिकति हरिया, कतै फाटफुट पहेँला; विभिन्न रंगका हुन्छन् कुर्सीहरू। एउटा भव्य समारोहका बीच कुर्सीहरू जिस्किरहेका हुन्छन्, मस्ती मारिरहेका हुन्छन्, मोबाइल चलाइरहेका हुन्छन्, एक–आपसमा सञ्चो–सुविस्ता सोधिरहेका हुन्छन्; भलाकुसारी गरिरहेका हुन्छन्, कुनै त मस्तले निदाइरहेका पनि हुन्छन्।

कुर्सीको यो जमघटमा कुर्सीहरूले खेल्ने खेल अन्य खेलभन्दा पृथक् हुन्छ। र, भव्य पनि हुन्छ। देखिराखिएकै छ, अहिले जारी छ कुर्सीको खेल।  

कुन–कुन कुर्सी कुन–कुन कुर्सीसँग मिलेर खेल्ने हो ! कुन–कुन कुर्सीलाई अलग्याउने हो ! बडो भद्रतापूर्वक समीकरण मिलाउने खेल चल्दै छ–

आऊ !

समीकरण जोडौं

समीकरण तोडौं

फेरि जोडौं

फेरि तोडौं

भएन,

अनि भनौं–

एउटा गोप्य काम,

आऊ,

पुनः समीकरण फेरबदल गरौं !

००

हामी पोख्त खेलाडी !

हाम्रो सामुन्ने

एउटा भकुन्डो छ– ‘सत्ता’ को

आऊ गुडाऊँ,

खुट्टादेखि खुट्टासम्म गुडाऊँ !

जब खेल्दाखेल्दै थाकिन्छ

आफैं ‘रेफ्री बनेर

बीचमै खेल रोकौं,

अनि भनौं–

भकुन्डो फुट्ला जस्तो छ

त्यसैले खेलको नियम बदलौं,

आऊ !

खेलको समीकरण फेरौं

तिमी उता/म यता

म यता/तिमी उता...

०००

आऊ !

हामी

समीकरण जोडौं

समीकरण तोडौं ! ! 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.