भेडेटारमा खानेपानीको समस्या

भेडेटारमा खानेपानीको समस्या

धनकुटा : खानेपानी अभावले होटल नै बन्द हुने स्थिति पुगेपछि होटल ड्रिम्सका संचालक आकाश आचार्यले अहिले दैनिक २ देखि ३ हजार लिटर ट्याङ्करको पानी किन्दै जेनतेन होटल संचालक गरिरहेका छन्। ‘पर्यटक आगमनको मुख्य सिजन सुरु भएको छ। आन्तरिक तथा बाह्रय पर्यटकको चहलपहल भेडेटारमा बाक्लिन थालेको छ’, उनले भने, ‘खानेपानी समस्याले होटल बन्द गर्नु भन्दा बरु ट्याङ्करकै पानी किनेर होटल संचालन गरेको हुँ।’

होटल अरुण टपका संचालक रमेश श्रेष्ठले पनि ट्याङकरकै पानी खरिद गरी होटल चलाइरहेको बताए। होटलमा बास बस्न गेष्ट आउँछन्। पानीको समस्याले फर्काउनु भन्दा ट्याङ्करबाटै पानी खरिद गरिरहेको उनको भनाइ छ। ‘लामो समय कोरोनाले होटल व्यवसाय ठप्प बनाएको थियो। थलिएको होटल व्यवसाय अहिले विस्तारै चहलपहल हुन थालेको छ’, उनले भने, ‘यतिबेला नै पानीको समस्या हुन थाल्यो।’

पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पछिल्लो केही महिना यता खानेपानीको चरम समस्या हुन थालेको छ। ठूला र मझौंला गरी झण्डै १ सय २० भन्दा धेरै होटेल रहेको भेडेटारमा होटल संचालन गर्न व्यवसायीहरु ट्याङ्करकै पानी किन्नु पर्ने बाध्यतामा छन्। 

विगत दुई महिना यतादेखि खानेपानीको समस्या देखिएको होटल ड्रिम्सका संचालक आचार्यले बताए। पानी आयो कि भनेर धारा खोल्यो हावा मात्रै आउने गरको उनको भनाइ छ। खानेपानी समितिका पदाधिकारीसँग बुझ्दा मुहानमा पानी छैन भन्ने मात्रै जवाफ दिने गरेको उनले बताए। 

होटल तमोर भ्यालीका संचालक विनियम श्रेष्ठ पनि होटलको लागि ट्याङकरकै पानी खरिद गर्छन्। दैनिक १ हजारदेखि १५ सय लिटरसम्म ट्ङयाकरको पानी किनेर होटल संचालन गर्दै आइरहेको श्रेष्ठ बताउँछन्। उनका अनुसार यतिबेला पर्यटकको आगमन हुने मुख्य सिजन हो। चहलपहल हुन थालेको छ। गेष्टहरु आउने गर्छन्। ट्याङ्करको पानी किनेर भएपनि होटल संचालन गरिराखेका छौं। होटल भरी गेष्ट हुँदा दैनिक २ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने तर धाराबाट ५ सय लिटर पनि पानी नआउने उनले बताए। ट्याङ्करको पानी किन्नुको विकल्प नरहेको उनको भनाइ छ।  

भेडेटार क्षेत्रमा मात्रै नभइ थुम्की, नाम्जे लगायतको क्षेत्रमा पनि खानेपानीको समस्या रहेको छ। यस क्षेत्रमा संचालित अधिकांश होटलले ट्याङ्करकै पानी खरिद गरी होटल संचालन गरिरहेका छन्। थुम्कीस्थित भेडेटार भिलेज रिसोर्टकी संचालक पद्‍मीनी राईले दैनिक दुई हजार लिटरसम्म पानी किनेर होटल संचालन गरिरहेको बताइन्। खानेपानी समस्या समाधानतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्ने उनले बताइन्।

यता भेडेटार खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका सचिव आशीष राईले हिउँदको बेला मुहानमै पानी सुकेको कारण खानेपानी आपूर्तिमा समस्या भएको बताए। चार वटा मुहानको पानी संकलन गरेर वितरण गरिराखेका छौं। २४ घण्टामा १ लाख २० हजार लिटर पानी संकलन हुन्छ। माग दैनिक ३ लाख ५० हजार लिटरको छ। बजार क्षेत्रमा १ सय ३० घर खानेपानीको उपभोक्ता छन्। सबै उपभोक्ताको होटल छन्। माग अनुसार खानेपानी आपूर्तिमा समस्या भएको उनले बताए। 

भेडेटार मुनिको स्थानीय खोलाबाट लिफ्टिङ गरेर पानी ल्याइएको छ। सो लिफ्टिङबाट दैनिक ७० हजार लिटर पानी संकलन हुन्छ। लिफ्टिङ गर्ने मोटर भोल्टेजको कारण बिग्रिरहने, मर्मत सम्भारमा समस्या, लागतमा समस्या रहेको उनको भनाइ छ। उनले भने, ‘म आफैं उपभोक्ता समितिको पदाधिकारी भए पनि खानेपानी समस्याकै कारण होटलको लागि ट्याङ्करको पानी किन्नु पर्ने बाध्यता रहेको छ।’ 

धरान र धनकुटाको सीमाक्षेत्रमा अवस्थित भेडेटार बजार क्षेत्रमा ठूला र मझौंला गरी १ सय २० भन्दा बढी होटेल संचालनमा रहेका छन्। एक अर्बभन्दा बढी लगानी रहेका ती होटेलमा दैनिक १ हजारभन्दा बढीलाई बास बसाउन सकिन्छ। भेडेटारमा पूर्वी तराइका विभिन्न ठाउँ सहित छिमेकी देश भारतका विभिन्न क्षेत्रबाट आन्तरिक तथा पर्यटकको भीड लाग्ने गर्छ। गर्मी सिजन लागेसँगै भेडेटारमा पर्यटकको चहलपहल बाक्लिन थालेको छ। पर्यटकको चहलपहल बाक्लिएसँगै होटल संचालन गर्न खानेपानीको समस्या हुने थालेको होटल एशोसिएशन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.