उप्रेतीले ल्याए ‘कालापानी यात्रा’
![उप्रेतीले ल्याए ‘कालापानी यात्रा’](https://annapurnapost.prixacdn.net/media/albums/kalapaniyatra_20210327160220_XFJMCZf44S.jpg)
काठमाडौं : प्राज्ञ नन्दु उप्रेतीले नियात्रा कृति ‘कालापानी यात्रा’ सार्वजनिक गरेका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा दार्चुलाका मोहनसिंह ऐतवाल, इलाम पशुपतिनगरका कर्णबहादुर तामाङ र रिन्छु ल्याम योन्जनले उक्त कृति विमोचन गरेका हुन्।
लेखक उप्रेतीले २०५५ सालमा तत्कालीन नेकपा (माले)निकट अनेरास्ववियुले गरेको ‘काठमाडौं–कालापानी मार्च’को नालीबालीलाई संग्रहित गरेका छन्। त्यस बेला विद्यार्थी टोलीको नेतृत्व तत्कालीन अनेरास्ववियु अध्यक्ष योगेश भट्टराईले गरेका थिए। त्यसमा आफूले पत्रकार भएर सहभागिता जनाएको उप्रेतीले लेखेका छन्।
उनले किताबको पाण्डुलिपि २०५७ सालमै तयार पारे पनि राजनीतिक परिस्थिति अनुकूल नभएकाले प्रकाशन नगरेको सुनाए। तर, जनताप्रति अन्याय भएको आत्मबोध गरी ढिलै भए पनि प्रकाशनमा ल्याएको उनले उल्लेख गरे।
कार्यक्रममा एमाले नेता भट्टराईसहित भैरव रिसाल, बुद्धिनारायण श्रेष्ठका साथै यात्राका केही सभागीले आआफ्नो धारणा व्यक्त गरेका थिए। रिसालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गरिए व्यावहारिक रुपमा ती भूमि फिर्ता नपाएकामा असन्तुष्टि जनाए।
मिठाई देखाएर नदिएको अवस्थाजस्तै रहेको उल्लेख गर्दै ती भूमि उपभोग गर्न पाउनुपर्ने माग गरे। यात्राका तस्बिरसमेत संग्रहित १९६ पृष्ठको यो कृति भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)