उठ्ला पर्यटन क्षेत्र ?

उठ्ला पर्यटन क्षेत्र ?

काठमाडौं : विश्व स्वास्थ्य संगठनले कोभिड—१९ को संक्रमणलाई महामारीको रूपमा घोषणा गरेको एक वर्ष पूरा भएको छ। सन् २०१९ को डिसेम्बरदेखि चीनबाट सुरु भएको कोभिड विश्वव्यापी रूपमा फैलिएको थियो। 

विश्वलाई यसले आफ्नो नियन्त्रणमा लिएपछि २०२० को मार्च ११ तारिखमा विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रूपमा घोषणा गरेको थियो। कोभिड महामारीको रूपमा दोस्रो वर्षमा प्रवेश गरिरहँदा कोरोनाको संक्रमण र त्रासमय वातावरण विस्तारै घट्दो क्रममा छ। 

कोभिड १९ को संक्रमण उच्च दरमा बढिरहेको वर्षमै सरकारले नेपाल भ्रमण वर्ष मनाउने पूर्वघोषणा गरी आवश्यक योजनाका साथ दु्रत गतिमा अघि बढिरहेको थियो। तत्कालीन समयमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले आवश्यक सम्पूर्ण तयारी सम्पन्न गरेको थियो।

पर्यटन वर्षको माध्यमबाट मुलुकको आर्थिक अवस्था थोरै भए पनि उकास्ने सरकारको योजनामाथि कोभिड—१९ को महामारीले तुषारापात मात्रै गरेन। यो महामारीका कारण पर्यटन क्षेत्र पूर्ण रूपमा धराशायी बन्न बाध्य भयो। पर्यटन वर्षको उद्घाटन कार्यक्रम सकेर जनवरी र फेबु्रअरी महिनामा सरकारले करिब दुई लाख पर्यटक नेपाल भित्र्याउन सफल भएको थियो। तर, पर्यटन भित्र्याउन सरकारको योजना धेरै दिनसम्म टिक्न सकेन। 

होटेल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहका अनुसार मार्चमै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड—१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो। यसको प्रत्यक्ष असर पर्यटन वर्षको मार्च महिनामा परेको थियो। मार्चदेखि नेपाल घुम्न आउने पर्यटकको संख्या शून्यमा झरेको थियो। सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या करिब २ लाख ३० हजार छ।

कोभिड—१९ को बढ्दो संक्रमणलाई ध्यानमा राखेर सरकारले मार्च २४ तारिखदेखि अनिश्चितकालीन लकडाउनको घोषणा गरेपछि पर्यटन भ्रमण वर्ष पनि रद्द गरिएको थियो। विदेशी कूटनीतिज्ञ, दातृ निकायमा कार्यरत कर्मचारी र विदेशी नागरिकता लिएका नेपालीबाहेक घुम्न भनेर नेपाल आउन नपाउने गरी सरकारले प्रतिबन्ध लगाएको थियो। 

‘यसले गर्दा विस्तारै उकास्न सुरु गरेको पर्यटन क्षेत्र क्रमिक रूपमा ओरालो लाग्दै धराशायी बन्दै गयो’, शाहले भने। नेपालको इतिहासमा पहिलो पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत शून्य उडानको अवस्था सिर्जना भयो।

कोभिडको १० महिने लामो लकडाउनका कारण पर्यटन क्षेत्रमा करिब एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमेको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार कोभिडका कारण पर्यटन क्षेत्रले प्रत्येक महिना करिब १० अर्बको दरले घाटा व्यहोरेको छ। शाहका अनुसार १ खर्ब २५ खर्ब लगानी रहेको पर्यटन क्षेत्रमा प्रत्यक्ष, आंशिक र अप्रत्यक्ष गरी करिब १० लाखले रोजगारी पाइरहेका छन्। 

कोभिडका कारण व्यवसाय बन्द हुँदा करिब ८ लाख दक्ष जनशक्ति रोजगारविहीन भएका छन्। 

नेपाल घुम्नका लागि प्रतिबन्ध लगाइएको करिब १० महिनापछि अर्थात् अक्टुबरदेखि सरकारले पदयात्रा तथा पर्वतारोहणका लागि मात्रै अनअराइभल भिसा सुरु गर्‍यो। सन् २०२१ को मार्चको पहिलो सातादेखि सरकारले नेपाल आउन चाहने पर्यटकले आवश्यक प्रक्रिया पुर्‍याएर सम्बन्धित मुुलुकबाट नै अनअराइभल भिसा लिएर नेपाल आउन सक्ने नीति लागू गरेको थियो। 

बढ्दै चहलपहल
सन् २०२० को पहिलो तीन महिनासँग २०२१ को पहिलो तीन महिनालाई तुलना गर्दा पछिल्लो समयमा पर्यटन व्यवसायमा करिब ४५ प्रतिशतसम्म वृद्धि देखिएको पर्यटनविद् दीपकराज जोशीले जानकारी दिए। सन् २०२१ को दोस्रो ६ महिनादेखि विश्वभरको पर्यटन क्षेत्रले गति लिने अन्तर्राष्ट्रिय उड्डयन नागरिक संगठनले यसअघि नै प्रक्षेपण गरिसकेको छ। ‘गन्तव्यको तयारी, पर्यटन आउने स्रोत बजारको पहिचान, स्मार्टली र इफेक्टिभ्ली सञ्चार हुनुपर्‍यो’, जोशीले भने। 

अन्तर्राष्ट्रिय प्रचारप्रसारमा पर्यटन बोर्ड
थलिएको पर्यटन क्षेत्रलाई पुनः ठड्याउन चालू आर्थिक वर्षको बजेटबाट अति प्रभावित क्षेत्रमा समावेश गरी पुनर्कर्जा, सहुलियतपूर्ण ऋणको व्यस्थाका लागि पर्यटन बोर्डले पहल गरेको थियो। तर, पुनर्कर्जा र सहुलियतपूर्ण ऋणबाट करिब १५ प्रतिशत मात्रै पर्यटन व्यवसायी लाभान्वित भएको बोर्डको भनाइ छ। बोर्डका प्रवक्ता मणिराज लामिछानेले बाह्य मुलुकका पर्यटकको आवागमन तत्कालै हुने नदेखिएपछि सरकारले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न बोर्डले आवश्यक योजना अघि बढाएको जानकारी दिए। यसले गर्दा थोरै भए पनि आन्तरिक पर्यटन क्षेत्रलाई चलायमान बनाउन र जोगाउन सहयोग गर्ने उनको दाबी छ। 

सन् २०२१ मा विदेशी पर्यटकको आगमन संख्या बढाउन स्वास्थ्यसम्बन्धी मापदण्डमा सहजता, खोप लगाएका पर्यटकका लागि निर्वाध नेपाल आउन सक्ने वातावरण बनाउन अन्तर्राष्ट्रियस्तरको प्रचारप्रसारमा जोड दिइने लामिछानेले जानकारी दिए। भारत र चीनसहितका मुलुकसँग सहकार्य गरी क्षेत्रीय पर्यटक भित्र्याउन सुरु गरिने बोर्डको योजना छ। यसका लागि यही मार्च महिनामा भारतको दिल्ली र मुम्बईमा नेपाली ध्वजावाहक विमान लिएर जाने कार्यक्रम बोर्डले तय गरेको छ। साथै अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने डिजिटल छलफलमा पनि नेपालले सक्रिय सहभागिता जनाउने भएको छ।

पर्यटक भित्र्याउन नीति नियमले बाधा पुर्‍याउँदैन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटक भित्र्याउन हालको कानुनी व्यवस्था बाधा नभएको बताएको छ। पर्यटनसँग पर्याप्त कानुन र नीति भएकाले छुट्टै नीति बनाउन आवश्यक नरहेको मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बताए। कोभिडका कारण लिइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डमा मात्रै आंशिक सुधार गर्न आवश्यक भएकाले सरकार अहिले त्यही विषयमा आवश्यक गृहकार्य गरिरहेको उनले जानकारी दिए। होटेल क्वारेन्टिनको व्यवस्था खारेज, अनअराइभल भिसा खुला गर्नेजस्ता विषय पर्यटन व्यवसायीले मागको रूपमा अघि सारेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.