होली मन : जोगिरा सररर

होली मन : जोगिरा सररर

मानिसलाई स्वस्थ जीवन जिउन सफा र स्वच्छ हावा लिन तथा सफा र स्वच्छ पानी पिउन आवश्यक छ। प्राकृतिक रूपका पौष्टिक खाद्यपदार्थ खान पनि त्यत्तिकै आवश्यक छ। तर यतिले मात्र पुग्दैन। स्वस्थ र ऊर्जाशील जीवन जिउन शारीरिक क्रियाकलाप तथा मनोरञ्जन पनि उत्तिकै आवश्यक पर्छ। शरीरलाई ब्यायाम र मनलाई उत्सव भएन भने मानिस कदापि स्वस्थ जीवन जिउन सक्दैन। स्वास्थ्यको मनोवैज्ञानिक पक्ष के हो भने खुसीका क्षणमा हाँस्न नसक्ने र दुःखका क्षणमा रुन नसक्ने व्यक्तिलाई स्वस्थ मान्न सकिँदैन। यो मनमा कुनै समस्या भएको संकेत हो।

मानिसको जीवनमा चाडपर्वलाई महत्त्वलाई बुझ्न एकपटक मानिसको जीवनबाट चाडपर्व तथा उत्सवहरू अलग राखौं त। के मानिस स्वस्थ जीवन जिउन सक्छ ? कदापि सक्दैन। जीवनमा मनोरञ्जनको यही महत्त्वलाई हृदयंगम गरेरै हाम्रा पूर्वजले चाढपर्व, जात्रा तथा उत्सवहरूको आविष्कार गरेका हुन्। होली पनि यस्तै एक उत्सव हो, पर्व हो।

होली फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म साताभर रङ—अबिर—नाचगान—भोजभतेर गरेर मनाइने वार्षिक उत्सव हो। परापूर्वकालदेखि नै भारतमा जस्तै नेपाली समाजमा पनि होलीको ठूलो महत्त्व छ। त्यसैले रङहरूको यो पर्वलाई हर्षोल्लासका साथ मनाउनका लागि नै सरकारले पहाड र तराईका लागि एकएक दिन राष्ट्रिय बिदा दिने गरेको छ।

यसपालि पहाडी क्षेत्रमा चैत ६ गते तथा तराईमा चैत ७ गते एकअर्कालाई थरीथरीका रङ लगाएर तथा भोजभतेर गरेर धुमधामका साथ रङहरूको पर्व होली मनाइँदै छ ।

होली रङहरूको पर्व हो। होली खेल्ने दिनभन्दा एक दिनपहिला राति होलिका दहन गरिन्छ। राति होलिका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एकअर्कामाथि फाल्ने चलन छ। भनिन्छ– होलीको दिन होलिका दहनसँगै पुरानो राग, द्वेष तथा कटुता त्यागेर, दुस्मनी बिर्सेर मानिसहरू आपसमा मिल्छन्। अतः रङसँगै मन मिल्ने पर्व पनि हो होली। नेपालका पहाडदेखि तराईसम्मका, गाउँदेखि सहरसम्मका प्रायः सबै केटाकेटी, युवायुवती तथा प्रौढहरू आपसी रिसइबी बिर्सेर उत्साह र उमंगका साथ यस रंगीन पर्व मनाएको पाइन्छ।

रङ, मन र मस्तिष्क

होलीमा थरीथरीका रङहरूको प्रयोग गरिन्छ। मनोवैज्ञानिक रूपमा मात्र होइन; स्वास्थ्यका दृष्टिले पनि मानिसको जीवनमा रंङको ठूलो महत्त्व छ। त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ। बेरङ जीवन अर्थात् रङबिनाको जीवन मानिसले सहजपूर्वक जिउन सक्दैन। जीवनमा रङ भएन भने मानिसको मन उदास र निरास हुन्छ। दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ। उसको आशा मर्छ। विश्वास मर्छ। चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लासजस्तो हुन्छ।

तर जीवन रंगीन भयो भने मानिसको मन खुसी हुन्छ। प्रसन्न हुन्छ। दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारोपछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रङको ठूलो महत्त्व छ। होलीमा थरीथरीका रङ खेल्नुको मनोवैज्ञानिक कारण पनि जीवनलाई रंगीन बनाउनु हो।

हुन त समयसँगै जीवनमा रङ छर्ने थरीथरीका माध्यम थपिएका छन्। हिजोआज जीवनलाई रंगीन बनाउने अनेक माध्यम छन्। कोही फुटबल तथा क्रिकेट आदि खेल खेलेर तथा हेरेर रमाइलो मनाइरहेका हुन्छन्। कोही फिल्म हेरेर, संगीत सुनेर, कोही दोहोरी गाएर, कोही भोजभतेर गरेर, कोही होलीजस्ता चाडपर्व मनाएर, कोही मेला र जात्रा सजाएर त कोही मायाप्रीति गाँसेर जीवनमा रङ छर्ने कार्य गरिरहेका हुन्छन्।

दसैं, तिहार, लोसार तथा होली आदि रंगीन उत्सवहरूले सामाजिक तथा मनोवैज्ञानिक महत्त्व पनि राख्छ। वास्तवमा यस्ता उत्सवले मानिसको उत्साह बढाउँछ, दुःख, पीडा, कुण्ठा तथा निराशा हटाउँछ। जीवनको अँध्यारोमा उज्यालोको रङ भर्ने काम गर्छ।

रङको आकर्षण

मानिसका लागि जति मानसिक रङको महत्त्व छ, त्यत्ति नै भौतिक रङको पनि महत्त्व छ। रङमा मानिसको मनमस्तिष्कलाई आकर्षित गर्ने शक्ति हुन्छ। रंगीन कुरा मानिसलाई याद पनि रहन्छ। रङले मानिसका मनमस्तिष्कलाई कसरी प्रभावित पार्छ भन्ने विषयमा थुप्रै अध्ययन–अनुसन्धान भएका छन्। अनुसन्धानबाट पुष्टि पनि भएको छ कि हरेक रङमा मानिसलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपमा प्रभावित पार्ने विशेषता निहित हुन्छन्।

रङका आआफ्नै गुण, धर्म र विशेषता हुन्छन्। जस्तो कि रातो रङ प्रेम, उत्तेजना र क्रान्तिको प्रतीक हो। पहेंलो रङ बुद्धिको प्रतीक हो। नीलो रङ सत्य र आशाको प्रतीक हो। हरियो रङ आशा, समृद्धि तथा बुद्धिको प्रतीक हो। गुलाबी रङ दयाको प्रतीक हो। यसैगरी सेतो रङ शुद्धता, सत्ता र शान्तिको प्रतीक हो। अनि कालो रङ अँध्यारो, तिरस्कार तथा तमस बुद्धिको प्रतीक हो 

रंगीन भोजन

मानिसको स्वास्थ्यका लागि सादा भोजनभन्दा विभिन्न रङको रंगीन भोजन बढी लाभदायक हुने पोषणविद्हरूको भनाइ छ। तर यसको अर्थ कृत्रिम रङ मिसाइएको भोजनचाहिँ होइन। अझ विभिन्न रङका फलफूलको महत्त्व त झनै छ। त्यो किनभने रंगीन फलफूलले मानिसको मनलाई अकार्षित गर्छन्; बढी सन्तुष्टि दिन्छन्  र शरीरलाई आवश्यक पोषणतत्व उपलब्ध गराउँछन्।

श्यामश्वेत सोच

हो, मानिसलाई रङ मन पर्छ। रंगीन जीवनले नै मानिसलाई खुसी दिन्छ; आनन्द दिन्छ र जीवनलाई आशा र विश्वास दिन्छ। तर विडम्बना के भने अधिकांश नागरिक श्यामश्वेत सोच राखेर रंगीन जीवन बाँच्न खोज्छन्। यहींबाटै मानिसका धेरै समस्या उत्पन्न हुन्छन्। दुश्चिन्ता, डिप्रेसनलगायतका अनेक मनोवैज्ञानिक समस्या यही श्याम–श्वेत सोचका कारण पैदा हुन्छन्। जस्तो कि कुनै राजनीतिज्ञले अहिले पनि म निर्वाचनमा पराजित भएँ भने त मेरो राजनीति नै समाप्त हुन्छ भन्ने सोच राख्न सक्छ।

कुनै विद्यार्थीले परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकिनँ भने त मेरो जीवनै बर्बाद हुन्छ भन्ने सोच राख्न सक्छ। अनि यस्तो सोच राख्ने व्यक्ति चुनाव हार्‍यो वा परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सकेन भने दुश्चिन्ता तथा डिप्रेसनजस्ता मानसिक समस्याको चंगुलमा पर्न सक्छ। विद्यार्थीले आत्महत्या गर्नुको प्रमुख कारण पनि यस्तै श्याम–श्वेत सोच हो। तर वास्तविकता भने विल्कुल फरक छ। वास्तविकता के हो भने यस संसारका कुनै पनि मानिस पूर्ण प्रतिभाशाली वा पूर्ण मूर्ख छैनन्। कुनै पनि मानिस पूर्णरूपमा सुन्दर वा पूर्णरूपमा कुरूप पनि छैनन्। कुनै पनि मानिस पूर्णरूपमा असल वा पूर्णरूपमा खराब पनि छैनन्। हरेक मानिसमा गुण पनि हुन्छन् र अवगुण पनि हुन्छन्। भनाइ नै छ– अवगुण नभएका देउता हुँदैनन्। गुण नभएका राक्षस हुँदैनन्। मानिसले यो यथार्थलाई आत्मसात गर्ने हो भने मानिसका थुप्रै मानसिक समस्या स्वतः समाधान हुन्छन्।

उपर्युक्त तथ्यले मानिसको जीवनमा रङको महत्त्व दर्शाउँछ। त्यसैले मानिसले स्वस्थ जीवन जिउन जीवनलाई भौतिक तथा मानसिक दुवै रूपमा रंगीन बनाउन आवश्यक छ। श्यामश्वेत सोच र व्यवहारले मानिसको जीवनरूपी गाडी सहज र सुगमताले अगाडि बढ्न सक्दैन। त्यो किनभने श्यामश्वेत जीवन समस्या हो भने रंगीन जीवन समाधान। त्यसैले होलीको दिनमा मात्र होइन; हरेक दिन मनदेखि नै जीवनलाई रंगीन बनाऔं र स्वस्थ र आनन्दमय जीवन जिऔं।

बानियाँ साइकोथेरापिस्ट हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.