पर्यटक भित्र्याउन खुकुलो नीति

पर्यटक भित्र्याउन खुकुलो नीति

काठमाडौं : कोभिड—१९ को संक्रमणपछि मुलुकमा विदेशी पर्यटन सहज रूपमा भिœयाउन सरकारले खुकुलो नीति कार्यान्वयनमा ल्याएको छ।

कोभिड संक्रमणका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले नयाँ खुकुलो नीति ल्याएको हो। कोभिड—१९ को संक्रमणका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी मारमा परेको क्षेत्रमा सूचीकृत भएको छ। सरकारले पर्यटकको आवागमनलाई व्यवस्थित गर्न कार्यान्वयनमा ल्याएको मापदण्ड, २०७७ लाई परिमार्जन गरी लागू गरेको छ। चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको उक्त मापदण्डमा पर्यटकमैत्री नीति ल्याएर पहिलेभन्दा खुकुलो बनाएको छ। 

परिमार्जित नयाँ मापदण्डअनुसार विदेशी पर्यटकको हकमा लागू गरिएको पाँच दिनको होटल क्वारेन्टिन बसाइको व्यवस्थालाई खारेज गरिएको छ। ७२ घण्टे पीसीआर नेगेटिभ भएका पर्यटकले नेपालमा आएपछि कोभिड जाँच गर्नुपर्नेछ। तर, कोभिड जाँचको क्रममा नेगेटिभ आएको अवस्थामा क्वारेन्टिन अनिवार्य बस्नुपर्ने बाध्यता भने हटाइएको छ। 

कोभिड जाँचको नतिजा नआएसम्म आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्था गरिएको छ। कोभिडविरुद्धको खोप लगाएका विदेशी पर्यटकले पनि कोभिड जाँच गराउनुपर्ने उल्लेख गरिएको छ। जाँचको क्रममा कोभिड पोजेटिभ आएका पर्यटकको हकमा भने कोभिड नेगेटिभ नआएसम्म प्रचलित स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नै खर्चमा होटल क्वारेन्टिन बस्नुपर्ने  व्यवस्था गरिएको छ। 

पर्यटकलाई ससर्त अनअराइभल भिसा दिन सक्ने गरी नयाँ व्यवस्था गरिएको छ। यसअघि पदयात्रा तथा पर्वतारोहणका लागि मात्रै अनअराइभल भिसाको व्यवस्था गरिएको थियो। गत महिनादेखि सरकारले प्रक्रिया पुर्‍याएर सम्बन्धित मुलुकको नेपाली नियोगबाट पर्यटकले भिसा पाउने व्यवस्था गरेको थियो। यो व्यवस्था पर्यटक अनुकूल नभएको भन्दै परिमार्जनका लागि प्रस्ताव गरिएको थियो। 

नयाँ व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा पाउनका लागि पर्यटकले बोर्डिङ हुनुभन्दा ७२ घण्टाअघिको कोभिड जाँच नेगेटिभ आएको नतिजा वा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको कागजात संलग्न गर्नुपर्नेछ। साथै नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुन पर्यटन बोर्ड वा पर्यटन विभागको सिफारिसको कागजात, होटल बुकिङको कागजात र यात्रा बिमा गरिएको कागजात चेक इन् काउन्टरमा बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ। 

यात्रा बिमाको विषयमा यसअघि पर्यटन विभागले पर्यटकलाई अनिवार्य गरेको पाँच हजार अमेरिकी डलरबराबरको यात्रा बिमाको प्रावधानलाई हटाइएको छ। आपत्कालीन, खोज, उद्धार, उपचारलगायत नेपाल यात्रा अवधिभरका लागि मान्य हुने गरी गरिएको यात्रा बिमाको कागजात नै मान्य हुने नयाँ व्यवस्था ल्याइएको छ। 

यो व्यवस्था विशेषगरी हिमाल आरोहणका लागि निर्धारण गरिएको हो। सरकारले आपत्कालीन उद्धारअन्तर्गत सबै प्रकारका बिमा पर्ने हुँदा यो व्यवस्था लागू गरेको हुन सक्ने पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन्। पाँच हजार डलरको बिमा कार्यान्वयनमा समस्या आएको अवस्थामा अन्तर्राष्ट्रिय मान्यताको पर्यटकको आपत्कालीन बिमाको व्यवस्था उचित भएको निर्देशक आचार्यले बताइन्। 

‘आपत्कालीनभित्र खोज उद्धारसहित कोभिडलगायत सबै रोगको उपचार पनि पर्ने भएकाले छुट्टै बिमा व्यवस्थाको आवश्यक छैन’, आचार्यले भनिन्। अन्तर्राष्ट्रिय बिमासम्बन्धी नीतिका आधारमा गरिएको उक्त बिमालाई मान्यता दिने विभागले जानकारी दिएको छ। 

यस्तै नेपाल आउन चाहने भारतीय पर्यटकको हकमा भने नेपाल भारतबीचको एयरबल सम्झौताअनुसार हवाईमार्गबाट आउनुपर्नेछ। स्थलमार्गबाट आउन चाहने भारतीय पर्यटकले कोभिड नेगेटिभ वा कोभिड खोप लगाएको कागजात पेस गर्नुपर्नेछ।

विश्व महामारीको रूपमा फैलिएको कोभिड—१९ को संक्रमणविरुद्ध सरकारले गत वर्षको चैत ११ गतेबाट लागू गरेको लकडाउनका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनिरहेको छ। एक वर्षदेखि ठप्प प्रायः रहेको पर्यटन क्षेत्रलाई लयमा फर्काउन विदेशी पर्यटक नेपाल भिœयाउने खुकुलो नीति लिन सरोकारवाला पर्यटक व्यवसायीले माग राख्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.