बुद्ध र बेपत्ता रुख !

बुद्ध र बेपत्ता रुख !

लुम्बिनी दर्शन गर्ने सुअवसर पाँच वर्षपछि प्राप्त गरेको थिएँ। जब नेपाल प्रज्ञा प्रतिष्ठानबाट आयोजित अनुदान गोष्ठीमा भाग लिन भैरहवा गएँ। योभन्दा पूर्व पनि दुई–तीनपटक लुम्बिनीको भ्रमण गर्ने पर्यटकको रूपमा गएको थिएँ। यस भ्रमणपछि भारतको उत्तरप्रदेशको वाराणसीबाट प्रकाशित ‘आज’ हिन्दी दैनिकमा ‘लुम्बिनी जहाँ गौतम बुद्ध का जन्म हुआ था’ दुईवटा मेरो आलेख प्रकाशित भएको थियो। एक दैनिक अखबारमा पनि मेरो एउटा आलेख ‘लुम्बिनी जहाँ डलरको वर्षा हुन्छ’ शीर्षकमा प्रकाशित भएको थियो।

 यसपल्टको लुम्बिनी भ्रमण/दर्शनको अवसर प्रदान गरेको थियो। नव स्थापित शान्ति र सद्भावका लागि लुम्बिनी अनुसन्धान केन्द्र, लुम्बिनी विकास कोष र लुम्बिनी विश्वविद्यालय तथा नेपाल विश्व सम्बन्ध परिषद् जो निःशुल्क र निष्क्रिय रूपमा सहभागी थिए। म नेपाल विश्व सम्बन्ध परिषद्को कार्यकारिणी सदस्य छु। अध्यक्ष हेमन्त खरेल, उपाध्यक्ष उमेशबहादुर मल्ल र कोषाध्यक्ष रवीन्द्र भट्टराई पनि सहभागी थिए। संगोष्ठीको विषय थियो ‘शान्ति तथा समझदारी’ र यो अन्तर्राष्ट्रिय संगोष्ठी भएको हुनाले यसमा छिमेकी राष्ट्र भारत, मलेसिया, फिलिपिन्स तथा सार्क सचिवालयका प्रतिनिधि पनि सहभागी थिए। अन्य राष्ट्रलाई पनि आमन्त्रित गरिएको थियो तर तिनीहरूका प्रतिनिधि अनुपस्थित थिए। उद्घाटन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले गर्नु भएको थियो।

त्रिदिवसीय अन्तर्राष्ट्रिय संगोष्ठीमा सिर्जना कलेजका कलाकारहरूद्वारा निर्मित शान्ति तथा समझदारीसम्बन्धी विभिन्न कलाकृतिको उद्घाटन अभिनेत्री मनिषा कोइरालाले गर्नुभएको थियो। यस आयोजनामा आकर्षण थप्नका लागि नै उहाँलाई आमन्त्रित गरिएको थियो। यहाँ संगोष्ठी कति सफल या असफल भयो त्यो चर्चाको विषय होइन, अपितु लुम्बिनीको विकास नै मुख्य मुद्दा हो। लुम्बिनी विश्वका बौद्धधर्मीहरूको आस्था र श्रद्धाको निर्विवाद केन्द्र बनेको छ तर लुम्बिनी दर्शन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सुविधाको अनुभव कति हुन्छ र तिनीहरू के अनुभव लिएर फर्कन्छन् त्यो मुद्दा महत्वपूर्ण छ।

आजको सन्दर्भमा शान्तिका अग्रदूत र नेपालका सपूत सिद्धार्थ गौतमलाई संसारले राम्रोसित चिनिसकेको छ। अब उनलाई चिनाउनु पर्ने आवश्यकता छैन। उनको जन्म नेपालमा भएको पनि निर्विवाद रूपमा प्रमाणित भइसकेको छ। आज विश्वमै अशान्ति छ। संसारमा कहीँ शान्ति छैन। दक्षिण एसिया र मध्यपूर्वमा मात्र होइन, अपितु युरोप र अमेरिकाको पनि कुनै देशमा शान्ति छैन। तसर्थ गौतम बुद्धको आदर्श र सन्देश आजको सन्दर्भमा धेरै समसामयिक एवं सान्दर्भिक छ। यसै महत्वलाई प्रचारित र प्रसारित गर्न संगोष्ठीको आयोजना गरिएको थियो।

बोटविरुवाको विशाल वन लुम्बिनीमा थिए। वनसित सिद्धार्थ गौतमको अन्योन्याश्रित सम्बन्ध थियो। चलनचल्तीको भाषामा नङ र मासुको जस्तो अनुस्यूत सम्बन्ध थियो तर आज लुम्बिनीमा जाँदा वनको त सर्वथा अभाव देखिन्छ।

जब अध्यक्ष हेमन्त खरेलज्यूले मलाई सूचित गर्नुभयो। म धेरै उत्साहित र उर्जाशील भएर लुम्बिनीमा आयोजित उक्त संगोष्ठीमा भाग लिन दिवा बसबाट प्रस्थान गरें। सकुशल बेलुकी ५ बजे लुम्बिनी पुगें तर भैरहवादेखि नै उदेकलाग्दो दृश्य परिदृश्य देखिन थाल्यो। सडक धुलाम्य त छँदै थियो, विकासको कुनै संकेत भैरहवादेखि लुम्बिनीसम्म देखिएन। आजसम्म कति वनमन्त्री भए तर तिनीहरूको गिदीमा यो कुरो कहिले पनि आएन कि भैरहवादेखि लुम्बिनीसम्म सडकको दुवै छेउमा हरियालीको अनुभव होस् र वृक्षारोपण गरेर यसको सौन्दर्यमा अभिवृद्धि होस् जुन सरकारको लागि कुनै ठूलो काम होइन।

सिद्धार्थ गौतम बुद्धको जन्म साल वृक्षको छायाँमुनि भएको थियो जब उनकी अमा यसको हाँगा समातिरहँदा फलीभूत भएको थियो। उनले सिद्ध प्राप्त गरे बोधगयास्थित बोधीवृक्ष मुनि। भनाइको अर्थ के छ भने बोटविरुवाको विशाल वन लुम्बिनीमा थिए। वनसित सिद्धार्थ गौतमको अन्योन्याश्रित सम्बन्ध थियो। चलनचल्तीको भाषामा नङ र मासुको जस्तो अनुस्यूत सम्बन्ध थियो तर आज लुम्बिनीमा जाँदा वनको त सर्वथा अभाव देखिन्छ। यतिसम्म मात्र कहाँ हो र मायादेवी मन्दिरको परिसरमा प्रवेश गर्दा पनि यसको दर्शन हुँदैन। सुरुमा एउटा पोखरी देखिन्छ जुन फोहोरको डंगुर भएको छ। पाँच वर्ष पहिला जाँदा त्यहाँ कमलका फूल फक्रेको देखेको दिएँ तर आज त्यो पनि नदारथ छ। त्यहाँ एउटा चौर पनि देखिन्छ जुन दर्शनार्थीहरूको आँखामा कसिंगरजस्तो घोच्छ।

मायादेवी मन्दिरमा प्रवेश गर्दा त्यो रुख पनि जसको हाँगा समातेर मायादेवीले सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् त्यो रुख पनि वेपत्ता छ। सुनिन्छ, त्यो रुखलाई टुक्रा टुक्रा पारेर विदेशीलाई बेचिएका छन्। विदेशी मुद्राको त वर्षात् नै भएको होला र त्यसमा केही नेता र केही अन्य लुम्बिनीसँग सम्बन्धित मानिसको निहित स्वार्थ स्पष्ट देखिन्छ। दर्शनार्थीहरूलाई श्रद्धाभाव देखाउन नक्कली रुख भए पनि हुन्थ्यो तर त्यो पनि देखिँदैन।

कस्तो अचम्म ? मायादेवीको स्मारक स्थलमा दर्शनार्थी पत्रम् पुष्पम्देखि केही स्वदेशी र विदेशी कागजी नोट चढाएको देखिन्छ। यति मात्र त होइन मायादेवीको महत्व। आजको लुम्बिनीलाई के गरिएको हो म केही बुझ्न सक्दिनँ जहाँ डलको वर्षा हुन्छ दिन रात त्यहाँको दयनीय र सोचनीय स्थिति हेरेर दया लागेर आउँछ। मायादेवी मन्दिरको पश्चिमतिर अवश्यमेव ठूला–ठूला दुई तीनवटा रुख देखिन्छन् जसको छायामुनि बौद्ध भिक्षुहरू त्रिपिटक पढिरहेका थिए। त्यो सक्कली रुख हेर्न गएको थिएँ र विशेष गरेर मायादेवीको प्राचीन महत्व बुझ्नका लागि। हामीलाई संगोष्ठीपछि प्रदान गरिएको प्रेम प्रतीकमा पनि मायादेवीको त्यो सक्कली रुखको हाँगा समातेकी मायादेवीको प्रतिमा उत्कीर्ण गरिएको छ तर त्यो साविक रुख गायव भए पनि नक्कली रुखको नामोनिसान देखिँदैन, मायादेवीको मन्दिरमा। न त स्थानीय सरकार न त प्रदेश सरकार लुम्बिनीको चतुर्दिक विकासमा दत्तचित्त देखिन्छ।

आजको लुम्बिनी बजार व्यवस्थित देखिन्छ र यहाँ आएपछि दुनियाँदारीको अनुभव त जरुर हुन्छ तर कहीँ पनि शन्तिदूतको सन्देशको अनुभूति हुँदैन। धेरैजसो बौद्धमार्गी देशहरूले यहाँ अतिथि गृहको निर्माण करोडौँ रुपियाँ खर्च गरेका छन् कि लुम्बिनी दर्शन–भ्रमण गर्न आउने अतिथिहरूलाई बुद्धत्वको आभास मिलोस्, शान्तिको अनुभूति होस्, धार्मिक भावनाको अनुभव होस् तर यहाँको व्यवस्थापनदेखि दिक्क लाग्छ। हामीलाई भियतनामद्वारा निर्मित अतिथि गृहमा आवासको व्यवस्था मिलाइएको थियो र हामी धेरै उत्साह एवं उमंगको साथमा बेलुका त्यहाँ पुग्यौं।

त्यहाँ निर्मित कोठाहरू पनि बजेट टुरिस्टहरूका लागि सुविधाजनक नै देख्यौ। हामी आफ्नो मालसामान कोठाहरूमा थन्क्याएर संलग्न शौचालयमा जाँदा त पानी नै छैन। जहाँ पानीको व्यवस्था नै छैन त्यहाँ बास बस्ने कुरै भएन। हामी मुसाजस्तो आफ्नो मालसामान बोकेर फेरि आधुनिक वातावरणमा निर्मित होटलमा बास बस्नका लागि बाहिरिन बाध्य भयौं। तीन चार दिन लुम्बिनीमा बास बस्दा केही मानसिक शान्ति प्राप्त होला भनेको त झन् मानसिक उद्धेलन एवं द्वन्द्वको शिकार हुन पुग्यौं।

हामीहरू होटलबाट पठाएको गाडीको प्रतीक्षा गर्दा भियतनामी अतिथि गृहका व्यवस्थापकबाट के आश्वासन प्राप्त गर्‍यौं भने तपाईहरू यहीँ बस्नुस् मालसामान यही छाडेर होटलबाट खाना खाएर अउनुस् तबसम्म पानी उपलब्ध भइहाल्छ। अन्त्यमा के भनियो भने हाम्रो जेनेरेटर नै खराब छ अब के गर्ने ? यस्तो छकाउने काम पनि विदेशीद्वारा निर्मित अतिथि गृहमा हुँदोरहेछ, त्यसको छनक पाइयो। विदेशी सरकारहरूले यसैका लागि अतिथि गृह बनाएको त होइन क्यारे ? यिनीहरूले त स्वदेशी तथा विदेशी अतिथिहरूलाई सुख–सुविधा प्राप्त होस् भनेर बनाइदिएका हुन् तर यहाँको व्यवस्थापन देखेर हर्ष र विस्मातको अनुभूति हुँदोरहेछ। 

हामी नेपालीहरू कस्ता छौं भनेर विदेशी सरकारले प्रदान गरिएको सुविधाबाट पनि हामी लाभान्वित हुन सक्दैनौं। चारैतिर यस्तै लथालिंग देखियो लुम्बिनीमा। लुम्बिनी भ्रमण वर्ष २०१९ मनाउँदा त्यहाँका स्थानीयहरूले भन्दै थिए, अब सन् २०१९ को अन्त्य हुन लाग्यो तर लुम्बिनी वर्ष २०१९ को अनुभूतिको आभाष पनि पाउन सकेका छैनौं। यस्तै अनुभव पोखे त्यहाँस्थित सम्पूर्ण पुस्तक पसलका विक्रेताहरूले।

हामी लुम्बिनीतिर लम्किएका थियौं, केही मानसिक शान्ति प्राप्त होस् भनेर तर फेरि दुनियाँदारीको दुनियाँमा नै बस्ने बाध्यता भयो। लुम्बिनीस्थित होटलहरू त नेपालीका लागि ठीकै लाग्यो तर यहाँ सबै होटलहरूमा माछा, मासु र मदिराको प्रयोग हुँदोरहेछ। यसको प्रत्यक्ष अनुभव लुम्बिनीमा गएको पहिलो रात मै भयो। हामी भोकले लखतरान भएका थियौँ तर होटलवाला भन्दै थियो, माछा पाक्दैछ। हामीलाई त सादा खाना खानका लागि पेटमा मुसा कुदिराखेको थियो तर माछा पाक्दै छ भन्ने कुराले झन् भोकलाई बढाइदियो। 

गौतम बुद्धले अहिंसाको सन्देश दिएर अमर भए तर उनको जन्मस्थलमा माछा, मासु र मदिराको यस्तो खुलमखुल्ला प्रयोगले उनको आत्मालाई त अवश्य नै दुखाएको होला। जीवहत्यालाई उनले कहिल्यै पनि समर्थन गरेनन् तर आज बौद्ध धर्मावलम्बी पनि माछा, मासु र मदिराको प्रशस्त मात्रामा प्रयोग गर्दछन्। के हो त बुद्धको सन्देश संशोधित भएको छ ? मलाई थाहा छैन तर म त के भन्न चाहन्छु भने सम्पूर्ण लुम्बिनी क्षेत्रमा माछा, मासु र मदिरामाथि कडा प्रतिबन्ध लगाउनु पर्दछ। तर यस मतलाई आज कसले समर्थन गर्ला ?

यसमा पनि मलाई शंका–उपशंका लाग्दछ। यहाँ कतिपय स्टार वनदेखि स्टार फाइभसम्म होटल उपलब्ध छन् र यहाँ यसको प्रशस्त मात्रामा प्रयोग हुने गर्दछ।

बजारस्थित होटलहरूको गुनासो के छ भने हामीलाई पर्यटक त के नेपालीहरू पनि वास्ता गर्दैनन्। सबै पर्यटकलाई तारे होटलहरूले हाइज्याक गरेर लग्दछन् र हाम्रो व्यापार सुख्खा हुन्छ। यस्ता गुनासाहरू पनि नसुनिएको होइन लुम्बिनीमा। हो पनि विदेशी पर्यटकहरू आआफ्ना देशबाट नै लुम्बिनी भ्रमणका लागि रिजर्भेसन गराउँछन् लोकल होटलहरूलाई त थाहा पनि हुँदैन। सबै काठमाडौंबाट भैरहवा हवाईजहाजमा जाने यी र होटलहरूद्वारा सञ्चालित गाडीबाटै सोझै आफ्नो सुरक्षित होटलमा जाने यी गाडीहरू पनि शीत ताप नियन्त्रित र सुविधाजनक भएकाले पर्यटकहरूलाई भैरहवादेखि लुम्बिनीसम्मको बाटोको सही स्थिति पनि थाहा हुँदैन। यस्तो बिग्रेभत्केको सडकमा त हामी मध्यम वर्गीय मानिस हुन्छौं। हाम्रा गुनासाहरू सुन्ने कसलाई फुर्सद छ र ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.