मुगुमा जीप दुर्घटना: एकको मृत्यु, पाँच घाइते
मुगु: मुगुको सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सोरु गाउँपालिका—८ तारापानीबाट सदरमुकाम गमगढी आउँदै गरेको ग ३ च ११८८ नम्बरको यात्रुवाहक जीप शनिबार दिउँसो १ बजे सोरु गाउँपालिका—८ कोट भन्ने स्थानमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छ जना यात्रुहरु बोकेर सदरमुकाम गमगढी आउँदै गरेको जीप ३ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा सोरु गाउँपालिका—७ निवासी ३० वर्षीया गिरीकला बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भिमदत्त जोशीका अनुसार घाइते हुनेमा सोरु गाउँपालिका—७ निवासी २१ वर्षीय जीप चालक गोविन्द विष्ट, सोही वडाका २५ वर्षीय ललिजङ बुढा, २८ वर्षीय ज्ञानबहादुर बुढा, रत्न बिक र छायाँनाथ रारा नगरपालिका—१का ४८ वर्षीय कुलबहादुर मल्ल रहेका छन् । घाइते सबैको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !