लोकतन्त्रको फेरिएको परिभाषा

लोकतन्त्रको फेरिएको परिभाषा

राजाको छोरा राजा बन्ने र राजा नै सर्वेसर्वा हुने शासनलाई राजतन्त्र भनियो। यस्तो शासनमा निरंकुशता हाबी भयो। जनताले दुख पाए। गरिखाने अवसर र स्वतन्त्रता पाएनन्। जनताले जीवनमा उन्नति–प्रगति गर्न सकेनन् भनेर ठूलो संघर्ष गरेर राजतन्त्र फालियो। बहुसंख्यक जनताद्वारा चुनिएका जनप्रतिनिधिको सम्मतिअनुसार शासन व्यवस्था चल्ने र नीति निर्धारण आदि हुने शासन प्रणाली भनेर लोकतन्त्रको स्थापना गरियो। लोकतन्त्रमा सबै समान हुन्छन्, सबैले समान अवसर पाउँछन् र सबै सुखी हुन्छन् भनेर सिकाइयो, पढाइयो र बुझाइयो। लोकतन्त्र भनेको जनताद्वारा जनताका लागि जनताको शासन हो भनियो।

लोकतन्त्रमा समानता र स्वतन्त्रता हुन्छ पनि भनियो। त्यही नै हो भनेर बुझियो, मनन गरियो। तर जनताबाट चुनिएर र नचुनिएर पनि सिंहदरबार पुग्ने नेताहरू प्रधानमन्त्री हुने, तिनैका आसेपासे मन्त्री र राज्यमन्त्री बन्ने, तिनैका भाइ–भतिजा, छोरा–बुहारी, छोरी–ज्वाइँ, सम्धी–सम्धिनी राज्यका ठूलाठूला पदमा पुग्ने शासनलाई लोकतन्त्र भनिन्छ भनेर परिभाषित गर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। यो विडम्बना हो र हामी नेपालीको दुर्भाग्य हो। यस्तै परिभाषा स्थापित हुन गयो भने लोकतन्त्रकै उपहास हुनेछ।

नेता भनेका जनताका सेवक हुन्। त्यसैले नेताले जनतासामु झुक्नुपर्ने हो। तर जनताले नेतासामु झुक्नुपर्ने बाध्यता छ।

अहिले मुलुकमा नेता र जनताको कित्ता स्पष्ट छुट्टिएको छ। नेता र जनताको नयाँ परिभाषा पनि स्थापित भएको छ। नेता भनेका सर्वशक्तिमान नागरिक र जनताचाहिँ निरीह र निमुखा नागरिक हुन् भन्ने व्यवहारमा स्पष्ट देखिएको छ। संविधानमा नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न भनिएको छ तर व्यवहारमा छैन। जनता निरीह र निम्छरा छन्। नेता सर्वशक्तिमान छन्। नेता जनताका सेवक होइनन्, शासक बनेका छन्। नेताहरूले आफूलाई जनताको शासक हुँ भन्ने सोच राखेका छन्। भलै त्यो भ्रम हो। त्यो भ्रम हटेको दिन नेता नेता रहने छैनन्।

नेता भनेका जनताका सेवक हुन्। त्यसैले नेताले जनतासामु झुक्नुपर्ने हो। तर जनताले नेतासामु झुक्नुपर्ने बाध्यता छ। नेताको अभिमानसामु जनताको स्वाभिमान निरीह छ। नेताको शान र मान छ तर जनतालाई सबैतिर अपमान छ। जनताले राज्यबाट सेवा लिएवापत शुल्क तिरेका छन्। शिक्षामा शुल्क तिरेका छन्। स्वास्थ्यमा शुल्क तिरेका छन्। बिजुलीमा शुल्क तिरेका छन्। खानेपानीमा शुल्क तिरेका छन्। फेरि पनि जनताले ढाड सेक्ने गरी कर तिर्नुपर्छ। जनताले उपभोग गरेको सेवावापत शुल्क तिरिसकेपछि केका लागि कर तिर्नुपर्ने हो ? नेता र कार्यकर्ता पाल्न र पोस्न ? जनताले तिरेको त्यही शुल्क र करबाट पालित र पोषित नेताहरूले नै जनतालाई तुच्छ सम्झन्छन्। यस्तो कृतघ्न परम्पराको अन्त्य जरुरी छ। नत्र राजतन्त्र र लोकतन्त्रमा भिन्नता रहँदैन।

हिजो चप्पल लगाएर राजधानी छिर्ने नेताहरूको आजको हैसियत देखेर हामी छक्क होइन तीनछक्क पर्छौं। मनमा प्रश्न उठ्छ– यस्तो कसरी सम्भव भयो ? यसलाई सम्भव बनाएको लोकतन्त्रले हो। लोकतन्त्र जनताका लागि आएको होइन रहेछ। लोकतन्त्र जनताका लागि ल्याइएकै होइन रहेछ। लोकतन्त्र नेताहरूका लागि आएको रहेछ। लोकतन्त्र नेताहरूका लागि ल्याइएको रहेछ। लोकतन्त्र नेताहरूका लागि फापेको छ। त्यसैले नेताहरू नै जप्छन लोकतन्त्रको मन्त्र। जनता लोकतन्त्रको कर्णकटु भजन सुन्न अभिशप्त छन्।

नेताहरूको हरेक बोलीमा लोकतन्त्र छ। भाषणमा लोकतन्त्र छ। तर व्यवहारमा लोकतन्त्र कहींकतै छैन। लोकतन्त्र नेताहरूको खल्तीमा छ। उनीहरूले जब चाहन्छन् तब प्रयोग गर्छन् लोकतन्त्रलाई। जनताले अहिलेसम्म वास्तविक लोकतन्त्रको अनुभूति नै गर्न पाएका छैनन्। लोकतन्त्र आएको आभास नै भएको छैन जनतालाई। लोकतन्त्र सिंहदरबार पस्नेहरूलाई मात्रै आएको छ। लोकतन्त्र ठूलाठूला पदमा बस्नेका लागि मात्रै आएको छ। पसिना बगाएर खाने भुईंमान्छेका लागि लोकतन्त्र आएकै छैन।

जनता हिजो पसिना बगाएर खान्थे। आज पनि पसिना बगाएरै खाइरहेछन्। त्यही पसिनाको पनि उचित मूल्य नपाएर जनता पीडित छन्। शोषित छन्। अपमानित छन्। जनता जहाँको तहीं छन्। नेता कहाँबाट कहाँ पुगिसके। नेता झुपडीबाट आलिशान महलमा पुगिसके। साइकलबाट प्राडो, पजेरो र ल्यान्डरोभर चढ्ने भइसके। जनता झुपडीबाट पनि टहरो पुग्ने अवस्थामा छन्। जनता खाली खुट्टै हिँड्छन्। सार्वजनिक बस चढ्छन् र खलासीको छुद्र वचन सुन्छन्। आङ नांगै पारी लाज छोप्न फाटेको लगौंटी लगाउँछन्। गरिबीले पिल्सिएर बाँच्छन्। अभावमा तड्पिएर बाँच्छन्। रोग लाग्दा जीवनजल र सिटामोल नखाएरै मर्छन्। नेताहरू वैभावशाली जीवन जिउँछन्। जोडले हाच्छिउँ आउँदा पनि उपचारका लागि सिँगापुर र बैंकक धाउँछन्। लोकतन्त्रको उपलब्धि यही हो भनेर सोध्नुपर्ने अवस्था छ।

नेताहरू भुजा ज्युनार गर्छन्। राजकीय भाषा बोल्छन्। आइस्यो, खाइस्यो र गइस्यो भन्छन्। अनि राजतन्त्र हटाएकोमा गर्व गर्नचाहिँ कहिल्यै छाड्दैनन्। हरेक भाषणमा राजतन्त्रको अन्त्यलाई ठूलो राजनीतिक उपलब्धि हो भनेर दोहोर्‍याइरहन्छन्। जनता खोलेफाँडो खान्छन्। आनन्दले निदाउँछन् र सुखको मीठो सपना देख्छन्। ब्युँझेपछि आफूलाई त्यही दु:खको भुमरीमा रुमलिइरहेको देखेर निराश हुन्छन्, उदास हुन्छन् र हतास हुन्छन्। सोच्छन्– कसले पो हामीलाई सुख देला ?

कसले दिन्छ जनतालाई सुख ? सबै उस्तै हुन्। जुन जोगी आए पनि कानै चिरेका। सबैले भन्छन्– हामी जनताका लागि राजनीति गर्छौं। तर जे गर्छन्, आफ्नै निम्ति मात्रै गर्छन्। जनता त तिनको प्रगतिको भर्‍याङमात्रै हुन्। जनताको ढाडमा टेकेर ती आफ्नो लक्ष्यमा पुग्छन्। लक्ष्यमा पुगेपछि जनतालाई बिर्सन्छन्। यो परिस्थिति हिजो थियो। आज पनि छ। भोलि पनि रहनेछ। तब त्यो राजतन्त्र र यो लोकतन्त्रमा भिन्नता के ?

हाम्रा केटाकेटीले राजतन्त्र भनेको के हो भनेर सोधे भने के भनेर उत्तर दिने ? लोकतन्त्र भनेको के हो भनेर सोधे भने के उत्तर दिने ? उत्तर त दिऔंला राजतन्त्र भनेको निरंकुश राजाको शासन हो। जहाँ राजामात्रै सुखी र जनता सबै दु:खी हुन्छन्। अनि लोकतन्त्र भनेको जनताद्वारा चुनिएका जनताकै प्रतिनिधिको शासन हो। जहाँ सबै समान हुन्छन् र सबै सुखी हुन्छन्।

लोकतन्त्रको परिभाषामा हामीले बोलेको झूटलाई सच्याएर हाम्रा केटाकेटीले लोकतन्त्रको आफ्नै परिभाषा बनाउने छन्। जनताको अभिमतबाट संसद्मा पुगेका नेताहरू प्रधानमन्त्री हुने, तिनैका आसेपासे मन्त्री र राज्यमन्त्री बन्ने, तिनैका भाइ–भतिजा, छोरा–बुहारी, छोरी–ज्वाइँ, सम्धी–सम्धिनी ठूलाठूला पदमा पुग्ने र तिनै नेताहरू मात्रै धनी बन्ने शासनलाई लोकतन्त्र भनिन्छ भनेर उनीहरूले हामीलाई नै सुनाउनेछन्। हामी कसरी सुन्न सकौंला लोकतन्त्रको यो फेरिएको परिभाषा ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.