नेपालप्रेमी थिए राजकुमार फिलिप

नेपालप्रेमी थिए राजकुमार फिलिप

लन्डन : बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। महारानी एलिजाबेथले बडो दुःखका साथ पति ‘ड्युक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गरेकी बकिङहम राजदरबारले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

महारानी एलिजाबेथले सन् १९६१ र सन् १९८६ मा दुईपटक नेपालको राजकीय भ्रमण गर्दा राजकुमार फिलिप सँगै आएका थिए। बेलायती महारानीबाट विशिष्ट सम्मान ‘ओबीई’ प्राप्त समाजसेवी डा. राघवप्रसाद धिताल ‘ओबीई’ फिलिपको नेपाल–प्रेमलाई विशेष रूपमा सम्झना गर्छन्। ‘उहाँमा नेपालप्रति विशेष सद्भाव थियो’, डा. धितालले अन्नपूर्ण पोस्ट्सँग भने।

बेलायती सेनामा सेवारत गोर्खा सैनिक र नेपालको तत्कालीन राजसंस्थासँग नजिकको सम्बन्धजस्ता कारणले बेलायती राजपरिवारका अन्य सदस्यजस्तै फिलिपले नेपाललाई थप महत्त्व दिएको डा. धितालको बुझाइ छ। कुनै विशेष समारोहमा नेपाली टोपी लगाएर जाँदा फिलिपले हात हल्लाउने, मुस्कुराउने गरेको सम्झना डा. धिताललाई छ। नेपालको तत्कालीन राजपरिवारसँग व्यक्तिगत तहमै फिलिपको सम्बन्ध रहेको उनले सुनाए। उनले अध्ययन गर्न बेलायत आउँदा तत्कालीन युवराज दीपेन्द्र र अधिराजकुमार नीराजन राजकुमार र महारानीको सम्पर्कमै बस्ने गरेको बताए।

लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी ‘क्युसी’ जनताको महान् सेवकका रूपमा फिलिपको सम्झना गर्छन्। ‘दोस्रो विश्वयुद्धपछि बेलायतमा राजनीतिक स्थिरता कायम गराउन महारानीलाई पतिका रूपमा उहाँले महत्त्वपूर्ण साथ दिनुभयो’, फिलिपलाई दुई अवसरमा भेटेका डा. सुवेदीले भने, ‘उहाँले यहाँका कैयौं च्यारिटीमा संरक्षकको भूमिकाबाट पनि ठूलो योगदान पुर्‍याउनुभएको छ।’

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राजकुमार फिलिपको निधनमा दुःख व्यक्त गरेका छन्। उनले जीवनमा अनगिन्ती युवालाई प्रेरित गरेको उल्लेख गर्दै प्रधानमन्त्री जोन्सनले बेलायतीमाझ राजसंस्थाले बनाएको आजको स्थानका लागि उनको विशेष योगदान रहेको स्मरण गरेका छन्। 

पछिल्लो समय अस्वस्थ रहेका फिलिप एक महिना अस्पताल बसेर हालै डिस्चार्ज भएका थिए। उनको विन्डसर क्यासलस्थित निवासमै निधन भएको हो। उनको जन्म सन् १९२१ जुन १० मा ग्रिक आइल्यान्ड कोर्फुमा भएको थियो। उनले सन् १९४७ नोभेम्बर २० मा तत्कालीन राजकुमारी एलिजाबेथसँग विवाह गरेका थिए। विवाहको पाँच वर्षपछि एलिजाबेथ बेलायतकी महारानी घोषित भएकी थिइन्। उनीहरूका ४ सन्तानका साथै ८ नाति–नातिना र १० पनाती–पनातिना छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.