शनिबारदेखि बिस्का जात्रा

शनिबारदेखि बिस्का जात्रा

भक्तपुर : आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्रा यस वर्ष शनिबारदेखि सुरु हुँदै छ। चैत मसान्तको चार दिनअघि भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ।

जात्राको पहिलो दिन लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्‍याइन्छ। जात्राको यस प्रक्रियालाई स्थानीय भाषामा द्यः क्वहाँ बिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ। अरू बेला भैरवनाथ सधैं मन्दिरमा विराजमान हुन्छन् तर जात्राको बेला मन्दिरबाट रथमा सवारी हुने भएकाले यसलाई द्यः क्वहाँ बिज्याइगु जात्रा भनिने भैरवनाथ नाइके कृष्णभक्त छुकां बताउँछन्।

उनका अनुसार यसदिन भैरवनाथ देवता रथमा सवारी भएजस्तै भक्तपुरका अन्य भैरव, अष्टमातृका, गणेशलगायतका सम्पूर्ण देवदेवी द्योछें तल सवारी हुन्छन्। भैरव, अष्टमातृका, गणेशलगायतका देवदेवी द्योछें तल सवारी भएसँगै स्थानीय दाफाभजन खलःले रातभरि भजनकीर्तन गर्ने प्रचलन रहँदै आएको छ।

बिस्का जात्राको लागि आवश्यक तीनतले भैरवनाथको रथ तयार भइसकेको छ। त्यस्तै भद्रकालीको दुईतले सानो प्यागोडा शैलीकै रथ पनि तयार गरिएको छ। यस वर्ष भैरवनाथ रथमा चारवटा नयाँ पांग्रा हालिएको छ। जुन अघिल्लो वर्ष नै बनाइएको थियो तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्था गर्न भन्दै गत वर्ष रथ तानिएन। यस वर्ष रथको बेतसिँ र बेतसिँ च्याप्ने काःसिँ दुइटा पनि नयाँ हालिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।

उनले शनिबारदेखि सुरु हुने यस वर्षको बिस्का जात्राको सम्पूर्ण तयारी पूरा भएको बताए।

शनिबार बिहानैदेखि भैरवनाथ मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरूको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजा सम्पन्न गर्ने गरी जात्रा तालिका नै बनाइएको प्रमुख कर्माचार्यको भनाइ छ।

‘बिस्का जात्राका सरोकारवालाहरूको बैठकले निर्णय गरेअनुसार शनिबार दिउँसो २ बजे नै भैरवनाथको रथ तान्ने गरी सम्पूर्ण तयारी गरिएको छ’, उनले भने, ‘जसअनुसार साँझ ५ बजेभित्र भैरवनाथको रथलाई गःहिटी पुर्‍याएर पहिलो दिनको जात्रा शान्तिपूर्ण र मर्यादित ढंगले सभ्य र भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।’

उज्यालैमा सम्पन्न गर्न सकिए जात्रा शान्तिपूर्ण र मर्यादित हुने सबैको विश्वास रहेको छ तर जात्रालाई ठ्याक्कै नियमानुसार सञ्चालन गर्न भने नसकिने सरोकारवालाहरू बताउँछन्।

‘भैरवनाथ मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा चलिरहँदा रथको अघि र पछि मोटो र लामो डोरी बाँध्ने कार्य हुने भएकोले यस वर्ष निर्धारित समयमै जात्रा सुरु हुनेछ’, गुठी प्रमुख कर्माचार्य भन्छन्।

रथमा बाँधिने ती आठवटा डोरीलाई अष्टमातृकाको प्रतीकको रुपमा लिइन्छ। उनका अनुसार डोरी बाँधिसकेपछि रथको अघिल्तिर रहेको बेतसिँमा बेताल बाँधिनेछ। बेताल बाँधिसकेपछि बाजागाजाका साथमा मन्दिरबाट भैरवनाथ देवताको सवारी रथसम्म हुन्छ। भैरवनाथलाई रथमा विराजमान गराएपछि भैरव नाइकेको होस्तेको जवाफमा भक्तजनहरूले हैंस्से भन्दै रथ तानिन्छ।

गत वर्ष कोरोना भाइरस संक्रमणको कारण रोकिएको हुँदा यस वर्ष बिस्का जात्रा भव्य र सभ्य हुँदै सबैको अनुमान रहेको छ तर सुरुमा बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने भनी जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) र भक्तपुर नगरपालिकाले निर्णय गरेपछि स्थानीय आक्रोशित भएका थिए। उनीहरूले स्वःस्फुर्त रुपमा बिस्का जात्रा रोक्ने निर्णयविरुद्ध प्रदर्शन गरे। डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई जात्रा रोक्ने निर्णयमा पुनर्विचार गर्न दबाब थिए।

त्यस्तै भक्तपुर नपा ५ योसिंखेलकै अधिवक्ता राजकुमार सुवालले जात्रा राक्ने डीसीसीएमसीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिए। उक्त रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले बिस्का जात्रा नरोक्न अन्तरिम आदेशसमेत दिइसकेको छ।

त्यस्तै व्यापक जनदबाब बढेपछि भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरी शान्तिपूर्ण र मर्यादित रूपमा बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने योसिङ (लिंगो) ठड्याउने र ढाल्ने जात्रा सञ्चालन गर्ने निर्णय गरेको थियो।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.