शब्दहरूको संगीत

शब्दहरूको संगीत

हामी जब पढ्छौं, हाम्रो मगजमा पखेटा पलाउन थाल्छन्।

हामी जब लेख्छौं, हाम्रा औंला गीत गाउन थाल्छन्।
शब्दहरूले पृष्ठमा ढोलकले झैं लय छाड्छन् र बाँसुरीझैं गुन्गुनाउँछन्। 
बेगवान गीतचरीले झैं उडान भर्छन् र हात्तीझैं गर्जन्छन् शब्द।
बगिरहेको नदी रोकिने छ र पुतलीहरू उचाइमा मोडिनेछन्। 

यी शब्दहरू विख्यात अमेरिकी कवि एवम् बालसाहित्य सर्जक मार्गरिटा एंगलका हुन्। उनले यस वर्षको विश्व बालपुस्तक दिवस अप्रिल २ का सन्दर्भमा दिएको ‘शब्दहरूको संगीत’ विषयको सन्देशमा उक्त विचार राखेकी हुन्। अमेरिका यस वर्षको विश्व बालपुस्तक दिवसको मुख्य आयोजक राष्ट्र हो। यसैले उक्त देशकी स्रष्टा एंगलका विचारलाई यतिखेर संसारभरि प्रवाहित गरिएको छ।

सन् १९६७ देखि अन्तर्राष्ट्रिय बालपुस्तक दिवस संसारभर नै विविध कार्यक्रमका साथ मनाउने गरिएको छ। केही वर्ष यतादेखि नेपालमा पनि यो दिवस मनाउन थालिएको छ। बालसाहित्यको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था आईबीबीवाई (इन्टरनेशनल बोर्ड अन बुक फर योङ पिपुल)मा आवद्ध विश्वका ८० भन्दा बढी देशमा यो दिवस विशेष रूपमा मनाइन्छ। ती ८० मध्येका कुनै न कुनै देशले वर्षेनी यो दिवसका लागि नारा तथा विशेष लोगो तय गर्छन्। अनि विशेष सन्देशका साथ संसारभर त्यसको प्रचार गर्छन्। बालबालिकालाई कथा सुनाउँछन्। नयाँ पुस्तक उपहार दिन्छन्। नयाँ किताब सार्वजनिक गर्छन्। पुस्तक मेला गरिन्छ। बालबालिका पनि आफूले पढेका पुस्तकबारे छलफल गर्छन्। यस वर्षको बालपुस्तक दिवसको नारा ‘शब्दहरूको संगीत’ (म्यूजिक अफ वर्डस्) रहेको छ।

बालपुस्तक दिवस अप्रिल २ मा मनाउनुको खास कारण पनि छ। यस दिन विश्व विख्यात् परिकथाकार हान्स क्रिश्चियन एन्डर्सनको जन्मदिन पनि हो। १ सय ५० भन्दा बढी भाषाहरूमा अनुदित एन्डर्सनका कथा संसारमै सर्वाधिक बालबालिका र पाकाहरूबाट समेत पढिन्छन्। कुरूप टिउरो (अग्लि डक्लिङ), बादशाहको नयाँ लुगा (इम्पेरर्स न्यु क्लथ), राजकुमारी र केराउको गेडा (द प्रिन्सेस एन्ड द पिच), सानी जलपरी (लिटिल मर्मेड) र सलाई बेच्ने केटी (द म्याचेच गर्ल) एन्डर्सनकृत १ सय ७० कथामध्ये सबैभन्दा लोकप्रिय मानिन्छन्। उनका बाबु घर–घरमा जुत्ता सिउँदै हिँड्थे। 

उनी ११ वर्षको हुँदा बाबुको मृत्यु भएपछि आमाले दोस्रो विवाह गरिन्। यसरी बेसहारा बनेका एन्डर्सन लेखन प्रतिको उत्कट चाहनाले संसारभर प्रसिद्ध भए। उनको देश डेनमार्कमा मात्र होइन, संसारभरि नै अत्यन्त श्रद्धा गरिन्छ। 

पठन संस्कृति सभ्यता र विकासको एक परिचायक पनि हो। यसैले बालककालदेखि नै बालबालिकामा पढ्ने सीप र बानी बसाल्न सक्यो भने यसले उसको जीवनमा सकारात्मक प्रभाव पार्नु त छँदैछ, यसले असल समाज सिर्जनामा पनि सघाउँछ। भनाइ नै छ कि ‘गुड रिडर इज दि गुड लिडर’। पढ्ने सीप र पढ्ने बानीले बालकलाई स्वतन्त्र पाठक बनाउँछ। आजको स्वतन्त्र पाठकले नै भोलिको समाजका लागि विचारक, समालोचक, सर्जक, अन्वेषक र पथप्रदर्शक बन्ने हैसियत राख्छ। सानो उमेरमा बालबालिकाले जति धेरै किताब पढे, उनीहरूको भाषा त्यत्तिकै राम्रो हुन्छ। जसको भाषा राम्रो छ, उसले अध्ययन, रोजगारलगायत हरेक क्षेत्रमा सफलता पनि पाउँछ। भाषामा राम्रो भएका बालबालिकाको अरू सबै विषयमा पनि राम्रो नतिजा पाइन्छ। यी तथ्यहरू अनुसन्धानबाट पत्ता लागेका हुन्। व्यवहारमै पनि हामी भाषा राम्रो भएका र अभिव्यक्ति कलामा कुशल भएकाहरूकै सर्वत्र वर्चस्व देखिन्छ।

हिजोआज रेडियो, टिभी, कम्प्युटर, मोबाइलजस्ता माध्यमका कारण किताबको महत्व घट्दै गएको पो होकि भन्ने प्रश्न पनि उठ्न थालेको छ। यद्यपि सूचना र सञ्चार प्रविधिमा जतिसुकै विकास भए पनि किताबको बेग्लै महŒव छ। संसारमा हरेक दिन तीन हजार शीर्षकका नयाँ किताब छापिन्छन्। यदि ग्याजेट र भच्र्युअल दुनियाँ नै सबथोक हुन्थ्यो भने नयाँ प्रिन्ट पुस्तकको यो संख्या यति अधिक नहुँदो हो। 

हो, यही प्रविधिलाई उपयोग गर्दै किताब पढ्ने बानी विकास गर्न सक्यो भने त्योचाहिँ पक्कै सुनमा सुगन्ध हुनेछ। त्यसैले दुनियाँमा किताबको प्रभावकारिता घट्ने सम्भावना कमै छ। ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन’ भन्ने थोरोको भनाइको प्रभाव अद्यापि कायमै छ। पुस्तकप्रेमी र असल पाठकहरू भन्छन्– नयाँ कागज र मसीको गन्ध लिँदै किताब पढ्नुको स्वाद अरू केमा होला र ? 

बालबालिकालाई पुस्तकतर्फ आकर्षित गर्न अभिभावक, शिक्षक, लाइबेरियन, विद्यालय, संघसंस्था र सरकार सबैले पहल गर्नु आवश्यक छ। यस दिवसको सान्दर्भिकता पनि यसैमा रहेको छ। यस वर्षको अन्तर्राष्ट्रिय बालपुस्तक दिवसका सन्दर्भमा मार्गरिटा एंगलले नै दिएको ‘शब्दहरूको संगीत’ बारे अभिव्यक्तिका थप केही शब्दका साथ भविष्यको सम्पूर्ण उज्यालोलाई शुभकामना।

जब हामी शब्द बाँडछौं, हाम्रा आवाजहरू भविष्यका संगीत बन्नेछन् शान्ति, आनन्द र मित्रता बन्नेछन् आशाको धून बन्नेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.