बिस्का जात्रामा रथ तान्दा दर्जन बढी घाइते

बिस्का जात्रामा रथ तान्दा  दर्जन बढी घाइते

भक्तपुर : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको विनाडर भक्तपुरमा आठ दिन नौ रातसम्म चल्ने बिस्का जात्रा शनिबारदेखि सुरु भएको छ । 

भक्तपुर नगरपालिका ५ टौमढीस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिएको हो ।

कोरोना भाइरस संक्रमण हुन नदिन एक व्यक्तिबाट अर्को व्यक्तिसम्म करिब २ मिटरको दूरी अर्थात भौतिक दूरी बनाउन चिकित्सकहरुले सुझाव दिँदै आएका छन् तर शनिबार भक्तपुरको बिस्का जात्रा क्षेत्रमा पाइला टेक्ने ठाउँ थिएन । 

जात्रालुहरुबीच ठेलमठेल थियो । कोरोना भाइरस नाक, मुख तथा आँखा तथा स्वासप्रश्वाससँगै हातको सम्पर्कबाट सर्ने बताइन्छ तर जात्रास्थलमा कति जात्रालुका मुखमुख नै जोडिने अवस्था थियो । तैपनि निर्धक्क भएर भक्तपुरमा जात्रा मनाइएको छ।

एकदर्जनभन्दा बढी घाइते 
जात्राको पहिलो दिन रथ तान्ने क्रममा एकदर्जनभन्दा बढी जात्रालु घाइते भएका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले भक्तपुर नगरपालिका ५ टौमढी बस्ने ७९ वर्षका का कृष्णमान मूलगुढीको दाहिने नली खुट्टामा रथको पांग्राले किचेको बताए। भैरवनाथको रथ टौमढीबाट तानेर नासमना पुर्‍याउने क्रममा मूलगुठीलाई पांग्राले किचेको उनको भनाइ थियो। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै भक्तपुर नगरपालिका ५ टौमढीकै २६ वर्षीय दिनेश साँगाछें, भक्तपुर-९ तौलाछें बस्ने १९ वर्षीय विकेश प्रजापति, भक्तपुर-६ नागपोखरीका ३१ वर्षीय सुनिल नापित सामान्य घाइते भएका छन्।

त्यस्तै सूर्यविनायक नगरपालिका बस्ने २५ वर्षीय नरेश श्रेष्ठ र २० वर्षका रोजेश त्वाती, मनिष सिन्ताकल, रमेश मातां र सुमित त्वायना पनि रथ तान्ने क्रममा घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार सामान्य घाइते भएका नौजना सामान्य उपचारपछि घर फर्केका छन्। उनीहरुको भक्तपुर अस्पतालले तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबाट परिचालन भएका प्राथमिक उपचार टोलीले उपचार गरेका थिए।

शनिबार भैरवनाथको रथ तानिएसँगै भक्तपुर नौदिनसम्म जात्रामय हुने भएको छ । भैरवनाथको रथ तानेर सुरु भएको बिस्का जात्रा नवौं दिन पुनः सोही रथ तानेर जात्रा समापन गरिन्छ ।

लामा तथा मोटा आठवटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्‍याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ । तर समाचार तयार पार्दासम्म भैरवनाथको रथ गःहिटी पुगेको छैन । बिस्काको पहिलो दिनको जात्रालाई स्थानीय भाषामा द्यः क्वहाँ बिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ। अरु बेला भैरवनाथ सधैं मन्दिरमा विराजमान हुन्छन् तर जात्राको बेला मन्दिरबाट रथमा सवारी हुने भएकाले यसलाई द्यः क्वहाँ बिज्याइगु भनिने भैरव नाइके माइला छुकां बताउँछन् ।

भैरवनाथलाई रथमा विराजमान गराइनुअघि मन्दिरभित्र विधिपूर्वक गुप्त तान्त्रिक पूजा गरिएको थियो । भैरवनाथ मन्दिरमा तान्त्रिक विधिअनुसार पूजाआजा चलिरहँदा रथको बेतःसिंमा बेताललाई बाँधेर सिंगारिएको थियो । सँगसँगै रथको अघि र पछि मोटो र लामो डोरी बाँधिएको थियो ।

गुप्त पूजापछि बाजागाजाका साथ मन्दिरबाट भैरवनाथको सवारी भई रथमा विराजमान गराइएपछि रथ तान्न सुरु गरिएको थियो ।

रथ टौमढीबाट दक्षिण गःहिटी, घट्खा, नासमना हुँदै वंशगोपालसम्म पुर्याइएको छ तर जात्राको विधिविधानअनुसार टौमढीबाट तानिएको रथ गःहिटी पुर्‍याइनुपथ्र्यो ।

शनिबार उज्यालैमा जात्रा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसको लागि भक्तपुर नपाका मेयर सुनिल प्रजापतिको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले दिउँसो २ बजे नै रथ तान्ने तालिका बनाएको थियो । तर शनिबार करिब ४ बजेमात्रै रथ तानिएको थियो । त्यस्तै रथमा अनधिकृत व्यक्तिहरुलाई सवार हुन नदिने बैठकले निर्णय गरेको थियो । जुन पालना हुन सकेन । भैरवनाथको रथमा अनधिकृत व्यक्तिहरु बस्ने गर्दा नै अघिल्ला वर्षहरुमा रथ तान्ने जात्रालुहरुले उनीहरुमाथि ढुंगामुढा गरेका थिए । तर यस वर्ष ढुंगामुढा गर्नेजस्ता कुनै अप्रिय घटना भने भएको छैन ।

जात्रा व्यवस्थापन प्रचलनअनुसार भैरव नाइके, गुठीयार र खान्कीहरु रथका चारै दिशामा चारचारजना गरी १६ जनामात्रै बस्ने व्यवस्था छ । तर शनिबार रथभरि अनधिकृत व्यक्तिहरु सवार थिए ।

कोभिड १९ कै बीच जात्रा
गत वर्ष कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण बिस्का जात्रा रोकिएको थियो तर यस वर्ष जात्रा रोकिएन । स्वास्थ्य मापदण्ड पालना गरेर जात्रा मनाउन भनिएपछि हजारौं भक्तजन शनिबार सुरु भएको बिस्का जात्रामा सहभागी भएका थिए । जहाँ न सामाजिक एवं भौतिक दूरी सम्भव थियो न त सबैले मास्क लगाएका थिए ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) र भक्तपुर नगरपालिकाले सुरुमा बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, योसिङ (लिंगो) ठड्याउने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरेका थिए । तर सर्वसाधारणले कोभिड १९ को बहानामा जात्रा रोक्न नपाउने भन्दै विरोध प्रदर्शन गरेपछि अन्ततः जात्रा गर्ने गराउने निर्णय गराइएको थियो ।

स्थानीयले स्वःस्फुर्त रुपमा बिस्का जात्रा रोक्ने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र भक्तपुर नपाका मेयर सुनिल प्रजापतिलाई जात्रा रोक्ने निर्णयमा पुनर्विचार गर्न दबाब थिए ।
त्यस्तै भक्तपुर नपा ५ योसिंखेलकै अधिवक्ता राजकुमार सुवालले जात्रा राक्ने डीसीसीएमसीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिए । उक्त रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले बिस्का जात्रा नरोक्न अन्तरिम आदेशसमेत दिइसकेको छ ।

त्यस्तै व्यापक जनदबाब बढेपछि भक्तपुर नपाले स्वास्थ्य मापदण्ड पूरा गरी शान्तिपूर्ण र मर्यादित रुपमा बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने योसिङ (लिंगो) ठड्याउने र ढाल्ने जात्रा सञ्चालन गर्ने निर्णय गरेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.