भताभुंग भैरवनाथको रथ

भताभुंग भैरवनाथको रथ

भक्तपुर : बिस्का जात्राको पहिलो दिन नै भैरवनाथको रथ भताभुङ्ग भएको छ। बिस्का जात्राको प्रमुख आकर्षण प्यागोडा शैलीको भैरवनाथको तीनतले रथ एक दिनमै ल्याङफ्याङ भएको हो। शनिबारबाट सुरु भएको भक्तपुरको बिस्का जात्राको पहिलो दिन जबरजस्ती तान्दा रथ जीर्ण भएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए। तीनतले रथका छाना बिग्रिएर उछिट्टिएका छन्।

त्यस्तै छाना अड्याउन राखिएका टुँडालहरू झरेका छन्। कति टुँडाल हराए लेखाजोखा छैन। केही टुँडाल जीआई तारमा अल्झिएर बसेका छन्। त्यस्तै रथको पहिलो तलाको चारैतिर हुने तोरणसमेत खसेका छन्। गजुरसमेत सद्दे छैन। नयाँ बनाइएका बडेमानका काठका पांग्रासमेत मक्किएका छन्। पांग्राका चोक्टा चोक्टा उछिट्टिएका छन्।

‘रथ दायाँबायाँका घरमा ठोक्किए पनि जबरजस्ती तान्दा छाना बिग्रिएका छन्’, प्रमुख कर्माचार्यले भने, ‘त्यस्तै घरका पेटीमा ठोक्किँदा पनि एकोहोरो तान्दा घिस्रिएर पांग्राका चोक्टा चोक्टा उछिट्टिएका छन्।’

उनले जीर्ण रथ पुनः मर्मत गरिने बताए। बिस्का जात्रा आठ दिन नौ रातसम्म चल्छ। त्यसैले बाँकी जात्राका लागि पनि रथलाई सग्लो बनाइने प्रमुख कर्माचार्य बताउँछन्।

‘रथका बिग्रिएका भागको विवरण लिँदै त्यसको लागि काठको जोहो गर्ने काम भइसकेको छ’, उनले थपे, ‘सोमबारदेखि रथ मर्मत गर्ने काम अघि बढ्छ।’

जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले र भैरवनाथको मन्दिरबाट रथ तानेर गःहिटी पुर्‍याइने प्रचलन छ। तर, शनिबार भैरवनाथको रथ गःहिटी पुगेन। आइतबार बिहान मात्रै तानेर रथलाई गःहिटी पुर्‍याइएको थियो। टौमढीबाट तानिएको रथ शनिबार राति अबेरसम्म तानिएको थियो। जसअनुसार रथ टौमढीबाट दक्षिण घट्खा, नासमना हुँदै वंशगोपालसम्म तानिएको थियो। वंशगोपाल पुगेको रथलाई शनिबार राति नै तानेर पुनः टौमढी फर्काइएको थियो। टौमढी फर्काइएको रथलाई उत्तर क्वाछें, साकोथा, सुकुलढोको हुँदै गोल्मढीसम्म तानिएको थियो।

यसरी टौमढी दक्षिण र उत्तर दुइटै दिशातिर रथ तान्दा धेरैका घरमा रथ ठोक्किएको थियो। टौमढी फर्काउने क्रममा रथले ऐंसामढी सत्तलका दुइटा थाम नै उखेलेको थियो। त्यस्तै सुकुलढोकाको एउटा घरमा ठोक्किएर ढोकाका खापामा क्षति पुर्‍याएको थियो।

टौमढीबाट वंशगोपालसम्म तान्दा नै रथ जीर्ण भइसकेको स्थानीय बताउँछन्। उनका अनुसार तैपनि पुनः टौमढी फर्काएर गोल्मढीसम्म पुग्दा रथमा थप क्षति पुगेको थियो।

शनिबार दिउँसो २ बजे रथ तानेर ५ बजेभित्र जात्रा सकाउने तालिका बनाइएको थियो तर आइतबार बिहान करिब ८ बजेसम्म रथ तानिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.