आज सकिँदै बिस्का जात्रा : भैरवनाथको रथ भाँचिने खतरा !

आज सकिँदै बिस्का जात्रा : भैरवनाथको रथ भाँचिने खतरा !

भक्तपुर : आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्रा आज सकिँदै छ। बिस्का जात्राको अन्तिम दिन आइतबार ‘द्य थहाँ बिज्यागु’ (देउता माथि सवारी हुने) जात्रा मनाइँदै छ। उक्त जात्राअन्तर्गत भक्तपुर नपा ५ गःहिटीमा रहेको भैरवनाथको रथ तानेर पाँचतले मन्दिर परिसरमा पु्र्‍याइन्छ।

तर रथलाई गःहिटीबाट सीधै टौमढी नलगी जात्रालुहरुले आफूअनुकूल थने र क्वने लाने गर्दै आएका छन्। जसले गर्दा जात्रा लम्बिने गर्दै आएको छ।

रथ पाँचतले मन्दिर परिसर पुर्‍याइएपछि रथमा सवार भैरवनाथ र बेताल झिकेर भैरव मन्दिरमा पुनःस्थापना गरिन्छ। यसरी रथमा सवार भैरवनाथ र बेताल मन्दिरमा सवारी हुनु नै द्यः थहाँबिज्याइगु जात्रा हो। जुन कार्य सम्पन्न भएपछि बिस्का जात्रा विधिवत रुपमा सम्पन्न भएको मानिन्छ।

भैरवनाथको रथ भाँचिन सक्ने खतरा !
बिस्का जात्राको प्रमुख आकर्षण भैरवनाथ रथ निर्माण गर्न क्रेनको सहायताले गलःसि हालिँदै।

यता गुठी संस्थान भक्तपुरले भैरवनाथको रथ भाँचिएर ढल्नसक्ने खतरा रहेको औंल्याएको छ। रथको मेरुदण्डको रुपमा रहेका चार वटा गलःसिमध्ये तीनवटा चिरा परेर कुनै पनि बेला भाँचिने अवस्थामा पुगेको भक्तपुर गुठीका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए।

बिस्का जात्राको अन्तिम दिनको लागि अवस्था जाँच गर्दा कुनै पनि बेला भैरवनाथको रथको भाँचिएर गल्र्याम्म ढल्नसक्ने सम्भावना रहेको उनको भनाइ छ।

भैरवनाथको रथ तानेर सुरु भएको भक्तपुरको बिस्का जात्रा यहीं रथ तानेर सम्पन्न गरिन्छ। त्यसैले जात्राको अन्तिम दिनको लागि रथ सही अवस्थामा राख्नु गुठी संस्थानको जिम्मेवारी हो।

बिस्का जात्राको पहिलो दिन गत चैत २८ गते रातभर जबरजस्ती तान्दा रथ भताभुंग बनेको थियो। दायाँबायाँका घरमा ठोक्किँदा पनि बल प्रयोग गर्दा रथको आकार नै बिग्रिएको प्रमुख कर्माचार्य बताउँछन्।

‘रथको मेरुदण्ड भनेकै चार वटा गलःसि हुन्’, उनले भने, ‘चारवटामध्ये तीनवटा गलःसिमा अत्यधिक बल पर्दा चिरा परेको छ। कुनै पनि बेला भाँचिनसक्छ।’

त्यसैले सम्हालिएर अनुशासित भएरमात्रै रथ तान्न उनले आह्वान गरेका छन्। रथमा अनावश्यक जात्रालु झुण्डिने गर्दा पनि गलःसिमा भार पर्न गरेको उनको भनाइ छ।

‘भैरवनाथको रथ जीर्ण भइसकेको छ’, प्रमुख कर्माचार्यले भने, ‘त्यसैले कुनै अप्रिय घटना हुन नदिन बलभन्दा बुद्धि लगाएर रथ तान्न आह्वान गर्दछु।’आइतबार नै बिस्का जात्राअन्तर्गत भक्तपुर नपा ४ पोटेरी स्क्वायरमा गत चैत ३१ गते बिहान ठड्याइएको हात नभएको योसिङ द्यः ढाल्ने परम्परा रहेको छ।

द्यः स्वगंबियगु जात्रामा झुमे भक्तपुरवासी

बिस्का जात्राको आठौं दिन शनिबार द्यः स्वगंबियगु जात्रामा भक्तपुरवासी झुमे। बढ्दै गरेको कोरोना भाइरस संक्रमणलाई नै बिर्सँदै भक्तपुरबासी बिस्का जात्रामा झमेका हुन्।

भक्तपुर नगरभित्र रहेका साढे चार दर्जन देवदेवीलाई पूजाआजापछि भोजसहितको सगुन चढाउने जात्रालाई स्थानीय भाषामा द्यः स्वगंबियगु जात्रा भनिन्छ। भक्तपुर नगरभित्र रहेका सम्पूर्ण देउतालाई सगुन चढाउँदै एक चक्कर पूरा भएपछि द्यः स्वगंबियगु जात्रा सम्पन्न भएको मानिन्छ। उक्त जात्राले शनिबार भक्तपुर नगरभर जात्राको रौनकता छाएको थियो। जहाँ गए पनि जता लागे पनि मौलिक धिमेबाजा, बाँसुरीबाजा, नायखिँबाजालगायतको संगीत र भजनमा जात्रालु झुमेको हेर्न पाइन्थ्यो। प्रत्यक्ष संगीतको रसास्वादनमा सिंगो भक्तपुरवासी रमेका थिए।

नेवारी परम्पराअनुसार भक्तपुर नगरभित्रका अष्टमातृकाअन्तर्गतका ब्रह्मायणी, माहेश्वरी, कुमारी, वैष्णवी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी तथा भैरव, गणेश, मनकामना र भीमसेन गरी साढे चार दर्जनभन्दा बढी देवदेवीलाई सम्हेबजीसहित सगुन चढाइएको हो।

दुई दिन हुने बिस्का जात्रालाई आठ दिन नौ रात बनाउने क्रममा भूपतीन्द्र मल्लले द्यः स्वगंबियगु जात्रा प्रचलनमा ल्याएको संस्कृतिविद्हरुको भनाइ छ। भूपतीन्द्र मल्लले प्रचलनमा ल्याएको पछिल्लो बिस्का जात्राले नै अहिलेसम्म निरन्तरता पाउँदै आएको हो।

संस्कृतिविद्हरुका अनुसार बिस्का जात्राअन्तर्गत देवदेवीलाई खट वा रथमा राखेर जात्रा मनाउँदा देवदेवी पनि अशुद्ध हुने मानिन्छ। त्यसैले प्रत्येक वर्ष बिस्का जात्राको आठौं दिन द्यः स्वगंबियगु जात्रा गर्ने गरिँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।

उक्त जात्राको दिन बिहानैदेखि धोई पखालेर शुद्ध बनाएका देवीदेवीलाई भक्तपुर नगर र यस वरपरका सर्वसाधारणले आआफ्नो बाजागाजासहित सगुन दिने उनले स्पष्ट पारे।

‘देवदेवीलाई द्यः स्वगंबियगु जात्रामा सहभागी गराउन प्रत्येक देउतालाई अघिल्लो दिन साँझ नै द्योछें (देवघर) बाट बाहिर निकालिन्छ’, उनले भने।

उनका अनुसार पहिला अष्टमातृका, भैरव र भद्रकाली गरी ३२ देवदेवीलाई मात्रै सगुन दिने परम्परा थियो। अहिले प्रत्येक टोलका गणेश, मनकामना र भीमसेन देवता थपिएर सगुन दिने देवदेवीको संख्या ४३ पुगेको उनले जानकारी दिए।

‘यसरी सगुन चढाइसकेपछि रथमा बिराजमान भैरवनाथ र भद्रकालीबाहेक सम्पूर्ण देवीदेवीलाई द्यः स्वगंबियगु जात्राकै दिन द्योछें भित्र्याइन्छ’,  संस्कृतिकर्मी धौभडेलले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.