विश्वको सर्वश्रेष्ठ शिक्षा

विश्वको सर्वश्रेष्ठ शिक्षा

दृश्य नं. एक

काठमाडौंकी कृति (नाम परिर्वतन) बल्ल ४ वर्षको भएकी छन्। उनी अढाई वर्षको उमेरमा नै एक प्राइभेट स्कुलको मन्टेस्वरी नामको क्लासमा भर्ना भएकी हुन्। उनी हरेक दिन स्कुल जाने बेलामा कुक्काइकुक्काइ रुन्छिन्। अनि उनका आमाबाबाले उनलाई जबरजस्ती गाडीमा हालेर स्कुल पठाउँछन्। उनले झोला बोकेर स्कुल जानुपर्छ। अनि स्कुलमा पढ्नुपर्छ, घोक्नुपर्छ र झोलाभरि होमवर्क लिएर फर्किनुपर्छ।

नेपाललाई पनि फिनल्याण्ड जस्तै शान्त, सुन्दर र समृद्धशाली बनाउने हो भने नेपालको वर्तमान आर्थिक ढाँचा नै परिवर्तन गर्नुपर्छ। शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्छ।

उनी घर फर्किंदा जेलबाट छुटेका कैदी जस्तो खुसी हुन्छिन्। तर घर आएर फेरि उनलाई होमवर्क गर्नुपर्छ। झोलाभरि होमवर्क देखेर उनी ओइलाएकी फूलजस्तो हुन्छिन्।

दृश्य नं. दुई
कृतिकी अंकलकी छोरी कृपा (नाम परिर्वतन) ७ वर्षकी भइन्। उनी अहिले आमाबाबासँग फिनल्यान्डमा छिन्। सात वर्षको उमेरमा बल्ल उनी एक सरकारी स्कुलमा १ कक्षामा भर्ना भएकी छन्। उनले न त झोला नै बोक्नुपर्छ, न त स्कुलमा पढ्नु र घोक्नुपर्छ। होमवर्क त हुँदै हुँदैन। उनी स्कुलमा खेल्छिन्, खेल्दै पढ्छिन्, खुसीखुसी लेख्छिन्, चित्र कोर्छिन्। स्कुल उनका लागि यति रमाइलो छ कि शनिबार र आइतबार अर्थात् छुट्टिका दिनमा पनि उनी स्कुल जान खोज्छिन्। घरमाभन्दा पनि उनलाई स्कुलमा बढी आनन्द मिल्छ।

दृश्य नं. तीन
रूपन्देहीकी  सात वर्षकी लक्ष्मी (नाम परिवर्तन) मजदुरकी छोरी हुन्। उनी बस्ने घरनजिकै एउटा भव्य प्राइभेट स्कुल छ। बिहान गाडीका ताँती लागेर टाढा टाढाबाट विद्यार्थी त्यहाँ पढ्न आउछन्। पुरानो कपडा लगाएकी फाटेको झोला बोकेकी लक्ष्मी भने सुकिलामुकिला ती विद्यार्थीलाई फर्की फर्की हेर्दै तीन किलोमिटर टाढाको सरकारी स्कुलमा पढ्न जान्छिन्। (यस्तै यस्तै दृश्य नेपालको हरेक जिल्लामा देखिन्छ।)

दृश्य नं. चार
फिनल्याण्डको हेलसिन्कीमा एउटा सुविधासम्पन्न आकर्षक सरकारी स्कुल छ। बिहान ९ बजेतिर उताबाट मन्त्रीकी सात वर्षीय छोरी तथा किसानको छोरो खुसीखुसी स्कुल पढ्न आउँछन्,  यताबाट मजदुरको छोरा तथा व्यापारीको छोरी, अर्कोतिरबाट चिकित्सकको छोरा पढ्न आउँछन्। के धनी के गरिब, सबैका छोराछोरीले एउटै स्कुलमा पढ्छन्। फिनल्याण्डको गाउँका होस् वा सहरका, हरेक स्कुलहरूमा एउटै वातावरण र ठीक यस्तै दृश्य देखिन्छन्।

गुणस्तरका हिसाबले पनि फिनल्याण्डको शिक्षा विश्वकै सर्वश्रेष्ठ मानिन्छ। अन्तर्राष्ट्रिय स्तरमा १५ वर्षीय स्कुले विद्यार्थीको गणित, विज्ञान तथा भाषा योग्यताको लागि गरिने परीक्षण, प्रोग्राम फर इन्टरनेसनल ऐसेस्मेन्ट (पिसा) मा फिनल्याण्ड लगातार नम्बर एकमा छ।

फिनल्याण्डको शिक्षा र नेपालको शिक्षाको बीचमा त आकाश–जमिनको फरक छ। फिनल्याण्डको शिक्षामा एकरूपता तथा समानता छ, कुनै विभेद छैन, शिक्षा सबैका लागि सर्वसुलभ छ। पढ्न चाहने र पढ्न सक्ने विद्यार्थीले जुनसुकै विषय जति पढे पनि निःशुल्क छ। तर नेपालमा दुईथरि शिक्षा छ, सरकारी शिक्षामा पनि चर्को विभेद छ। सरकारी स्कुलमा पढाइ निःशुल्क भने पनि विद्यार्थीले धेरैथोरै शुल्क तिर्नुपर्ने हुन्छ। राजधानी तथा सहरका सरकारी स्कुल र दुर्गम गाउँका सरकारी स्कुलको भौतिक सुविधा आदिमा समेत ठूलो असमानता छ।

फिनल्याण्डले शिक्षामा सबैभन्दा बढी लगानी गरेको छ। फिनल्याण्डले शिक्षा र स्वास्थ्यलाई समृद्धिको जगको रूपमा लिएको छ। फिनल्याण्ड एक समृद्ध राष्ट्र मात्र होइन, सुखी देश पनि हो। सन् २०१६ मा प्रकाशित संयुक्त राष्ट्रसंघको वल्र्ड हैप्पिनेस रिपोर्टअनुसार फिनल्याण्ड संसारको पाँचौं सुखी देश हो।

फिनल्याण्ड संसारकै एक शान्त, सुखी र समृद्ध राष्ट्रका रूपमा स्थापित हुनुका पछाडि शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक, समाजिक तथा मनोवैज्ञानिक पक्षलाई समटेर बनाइको सरकारी नीतिको ठूलो हात रहेको हेलसिन्की विश्वविद्यालयमा सामाजिक मनोविज्ञानकी प्राध्यापक डा. किस्र्टी लोन्काको भनाइ छ।

फिनल्याण्डको शैक्षिक मोडेल त अहिले विश्वमा नै चर्चित छ।  यस मोडेल धेरैको चासोको विषयसमेत बनेको छ। फिनल्याण्डमा औपचारिक स्कुल शिक्षा सात वर्षको उमेरबाट सुरु हुन्छ। नौ वर्षको स्कुले शिक्षा आवश्यक छ। नौ कक्षापछि विद्यार्थीसँग पढाइका तीन विकल्प हुन्छन्। एक, हायर सेकेण्डरी पढ्ने, अर्को, व्यावसायिक शिक्षा लिने। तेस्रो, कुनै रोजगार गर्ने। औषत ५ प्रतिशत विद्यार्थीले तेस्रो विकल्प छनौट गर्छन् भने ४० प्रतिशत छात्रा तथा ५५ प्रतिशत छात्रले व्यावसायिक शिक्षा रोज्छन्। तर मजाको कुरा के छ भने व्यावसायिक शिक्षा पढेको विद्यार्थीले पछि विश्वविद्यालयको शिक्षा पढ्न पाउने बाटो पनि खुला रहन्छ। जस्तो कि नौ कक्षा पढेर कार्पेन्टरको व्यावसायिक तालिम गरेको विद्यार्थीले पछि इन्जिनिरिङ पनि पढ्न पाउने सुविधा छ।

फिनल्याण्डमा स्कुलहरू ९ देखि ९.४५ बजेदेख सुरु हुन्छन्। र, २ देखि २.४५ बजे नै बन्द हुन्छन्।  हप्ताको ५ दिन औषत ७५ मिनेटका तीनचार कक्षा हुन्छन्। पिरियडहरूका बीचबीचमा थुप्रै इन्टरभल्स हुन्छन्।

फिनल्याण्डको स्कुलमा ६ कक्षासम्म कुनै परीक्षा हुँदैन। १६ वर्षको उमेरमा नौ कक्षामा मात्र परीक्षा दिनुपर्छ। ६ कक्षासम्म विद्यार्थीलाई पढाउने शिक्षक एउटै हुन्छन्। एउटै शिक्षकले नै सबै विषय पढाउँछन्। विद्यार्थीलाई यसरी एउटै शिक्षकले पढाउँदा विद्यार्थीको सम्पूर्ण मनोविज्ञान तथा कमीकमजोरी शिक्षकलाई थाहा हुने र यसबाट उनीहरूको शैक्षिक तथा व्यक्तित्व विकासमा सुधार ल्याउन सकिने भनाइ फिनल्याण्डकी न्युरोसाइकोलोजिस्ट प्रा. डा. रित्वालाक्सोनेनको छ।

शिक्षकले विद्यार्थी लेक्चर दिएर होइन, विद्यार्थीको सहयोगी बनेर सिकाउँछन्। विद्यार्थीलाई गृहकार्य पनि निकै कम दिन्छन्। कमजोर विद्यार्थीलाई बढी ध्यान दिन्छन्। फिनल्याण्डमा छोराछोरी पढाउन आमाबाबाले कुनै टेन्सन छैन, शिक्षा पूरा निःशुल्क छ। स्कुलमा दिनको खानाको पनि व्यवस्था हुन्छ। धनी– गरिब सबैलाई समान शिक्षाको व्यवस्था छ। शिक्षामा यस्तो सुविधाका कारणले गर्दा ९३ प्रतिशत फिनल्याण्डवासीले हाइस्कुलको शिक्षा पूरा गरेका हुन्छन् भने ६६ प्रतिशतले विश्वविद्यालयको शिक्षा।

फिनल्याण्डमा शैक्षिक पेसा चिकित्सा जस्तै वा त्यो भन्दा पनि बढी सम्मानित छ। शिक्षकको तलब तथा सुविधा पनि निकै बढी छ। स्कुलका औसत शिक्षकले प्रतिमहिना ५ लाख १० हजार नेपाली रुपैयाँबराबरको तलब पाउँछन्। १५ वर्ष सेवा गरेपछि त शिक्षकको तलब दुईगुणा नै हुन्छ।

फिनल्याण्डमा स्कुल शिक्षक बन्न पनि स्नातकोत्तर हुनुपर्छ। विश्वविद्यालयका १० प्रतिशत मेधावी विद्यार्थीलाई शिक्षकका लागि छनौट गरिन्छ। स्नातकोत्तर र शिक्षक तालिम नगरिकन एक कक्षालाई पनि पढाउन पाइँदैन। शिक्षकलाई कक्षामा पाठ्यक्रम पूरा गर्ने कुनै दबाब हुँदैन, अरू देशको तुलनामा पाठ्यक्रम पनि थोरै हुन्छ। शिक्षकको जोड पढाउनुभन्दा पनि सम्झाउनुमा केन्द्रित रहन्छ, यसका लागि उनीहरूले अनेक शैक्षिक प्रविधि अपनाउने गर्छन्। नाचगान पनि फिनल्याण्डको एक शैक्षिक प्रविधि हो।

फिनल्याण्डका हरेक स्कुलहरूमा बिनाविभेद विद्यार्थीलाई दिवाखानाको व्यवस्था, शैक्षिक सामग्रीको व्यवस्था, मेडिकल सुविधालगायत मानसिक तथा व्यक्तित्व विकासका लागि मनोवैज्ञानिक सेवा पनि उपलब्ध हुन्छन्। प्राध्यापक डा. किस्र्टी लोन्काको कथन छ, फिनल्याण्डको शैक्षिक प्रणालीको सफलताको रहस्य यहाँको आर्थिक ढाँचा नै हो, जसले पालनपोषण तथा सामाजिक न्यायलाई बढुवा दिन्छ। यस मोडलअनुसार निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, आवासको व्यवस्था, पुरुषलाई बढी छुट्टिको व्यवस्था जसले गर्दा आफ्ना बालबालिकामा ध्यान पुर्‍याउन सकुन्। फिनल्याण्डको यस नीतिको प्रभाव नै क्लासरुममा देखिएको हो।

हो, शिक्षा जीवनको उज्यालो हो। मानव सभ्यताको आँखा हो, सारा संसारलाई उज्यालो बनाउने नानी हो, नानीभित्रको ज्योति हो। राष्ट्र विकासको जग हो। शिक्षाबिना कुनै पनि देश विकास पथमा अगाडि बढ्न सक्दैन। त्यो किनभने सामाजिक कार्यमा मानिसको सहभागिता उनीहरूको शिक्षादीक्षामा निर्भर रहन्छ। शिक्षित नागरिक नै सामाजिक कार्यमा उत्साहका साथ सहभागी भएर देशप्रति आफ्नो निष्ठा व्यक्त गर्छन्। शिक्षाले नै नागरिकलाई राष्ट्र सर्वप्रथमको भावना सिर्जित गर्छ। वास्तवमा शिक्षित नागरिकको देश नै संमृद्धिशाली बन्छ। त्यसैले हरेक नागरिकका लागि गुणस्तरीय शिक्षा आवश्यक छ। शिक्षा र स्वास्थ्य सर्वसुलभ भयो भने नै देश सुखी र समृद्ध बन्न सक्छ। तर, २१ औं शताब्दीमा पनि नेपालले संघर्ष गरिरहेको छ, गरिबीसँग, गुलामी राजनीति एवं गुलामी मानसिकतासँग, अन्धविश्वाससँग, अज्ञानता र रूढिवादी मनस्थितिसँग, थरिथरिका लुटहरूसँग।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.