भक्तपुरमा दोस्रो डोजको खोप दिइँदै

भक्तपुरमा दोस्रो डोजको खोप दिइँदै

भक्तपुर : कोरोना भाइरस संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई मंगलबारदेखि दोस्रो डोजको खोप लगाइँदै छ। कोरोना भाइरसविरुद्धको दोस्रो डोजको खोप लगाउन भक्तपुरका चारवटा नगरपालिका अस्पताल तथा स्वास्थ्य संस्था र भक्तपुर अस्पताल गरी पाँचवटा खोप केन्द्र निर्धारण गरिएको छ।

स्वास्थ्य कार्यालय भक्तपुरले पाँचदिनभित्र दोस्रो खोप लगाइसक्ने तालिका बनाएको छ। जसअनुसार बैशाख ७ गते सुरु हुने खोप कार्यक्रम वैशाख ११ गते सकिने कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए। उनकाअनुसार भक्तपुर अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा पाँचै दिन खोप दिइनेछ। भक्तपुर नपाको जनस्वास्थ्य केन्द्र, चाँगुनारायण र सूर्यविनायकका नगरपालिका अस्पतालमा भने २–२ दिनमात्रै खोप केन्द्र सञ्चालन हुनेछ।

भक्तपुरमा पहिलो चरणअन्तर्गत गएको वर्षको माघ १४ देखि २४ गतेसम्म र फागुन २ देखि ११ गतेसम्म खोपको पहिलो डोज दिइएको थियो। भारत सरकारले अनुदानमा दिएको र नेपाल सरकारले किनेको कोभिशिल्ड खोपको पहिलो डोज दिइएको हो। यो खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भएकाले मंगलबारदेखि खोपको दोस्रो डोज लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख मिजार बताउँछन्।

उनकाअनुसार दुईपटक गरेर सञ्चालित पहिलो चरणमा भक्तपुरका ५ हजार ७ सय ९३ जनाले कोभिशिल्ड लगाएका थिए। पहिलो चरणको सुरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई प्राथमिकताको आधारमा खोप दिइएको थियो। त्यस्तै दोस्रोपटकमा चिकित्सक तथा स्वास्थ्यकर्मी, पत्रकार, सरकारी कर्मचारी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो।

विद्युत प्राधिकरण तथा टेलिकमका कर्मचारी, अड्डाअदालत र बैंक तथा वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरु पनि दोस्रोपटकमा खोप दिइएको थियो। भक्तपुरमा गएको वर्षको फागुन २३ गतेदेखि भने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिशिल्ड नै खोप दिइएको थियो।

तीनपटकको खोप कार्यक्रमअन्तर्गत भक्तपुरमा करिब १९ हजार ५ सय जनाले कोभिशिल्डको पहिलो डोज पाएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए।
उनले फागुन २३ गतेपछि पाएका ज्येष्ठ नागरिकहरुको लागि अर्को तालिका आउने बताए।

साढे ९ हजारले लगाए भेरोसेल
भक्तपुरमा चीन सरकारले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल पनि दिइरहेको छ। सुरुमा १८ देखि ५९ वर्षभित्रका प्राध्यापक, फलफूल तथा तरकारी व्यवसायी, चीनमा छात्रवृत्तिमा पढ्न जाने विद्यार्थी, होटल तथा ट्रेकिङ व्यवसायीहरुलाई दिइएको खोप अहिले ४० देखि ५९ वर्ष उमेर समूहलाई दिइरहेको छ।

जसअनुसार सोमबारसम्म ९ हजार ५ सय २३ जनाले भेरोसेल खोप लगाएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। भेरोसेल खोप लगाउन भक्तपुरका चार नपाले नगरवासीलाई पायक पर्ने गरी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा खोप केन्द्र व्यवस्थापन गरेका छन्।

भेरोसेल खोपको पहिलो डोज लगाएको ४ हप्तापछि दोस्रो खोप लगाउनुपर्छ। कोभिसिल्डभन्दा भेरोसेलको प्रभावकारिता प्रतिशत बढी रहेको दावी गरिएको छ।
सोमबारसम्म भक्तपुरका ९ हजार ९ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.