आफ्नै उद्योगले कर छलेको भन्दै संस्थापक अध्यक्षले नै दिए उजुरी

आफ्नै उद्योगले कर छलेको भन्दै संस्थापक अध्यक्षले नै दिए उजुरी

भक्तपुर : भक्तपुर औद्योगिक क्षेत्रस्थित एक उद्योगको कर छलेर सीमित सञ्चालकहरुले मात्रै अकुत सम्पत्ति आर्जन गरेका भन्दै उद्योगका संस्थापक अध्यक्षले नै उजुरी दिएका छन् ।

औद्योगिक क्षेत्रस्थित शिव बाबा टेक्सटाइल प्रालिका संस्थापक अध्यक्ष हरिराम कोन्डाले सरकारलाई तिर्नुपर्ने आयकर, लाभांश कर र भ्याट छलेर केही सञ्चालकहरुले अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् ।

उनले राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व कार्यालय भक्तपुरमा उजुरी दर्ता गरेसँगै सरकारलाई तिर्नुपर्ने कर छल्न सघाएको भन्दै आन्तरिक राजस्व कार्यालय भक्तपुरका केही कर्मचारीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालेको जानकारी दिए ।

हाल उद्योगका सामान्य सञ्चालकमात्रै रहेका कोन्डाले उद्योगका केही सञ्चालकहरुले गरेको बदमासीको भागीदार आफू पनि हुने देखेर बेलैमा उजुरी दिएको बताए ।

तर उजुरी दिएको दुई वर्ष हुँदा पनि आन्तरिक राजस्व विभाग तथा आन्तरिक राजस्व कार्यालय भक्तपुरले उजुरीको सुनुवाइ नगरेको भन्दै उनले आक्रोश पोखेका छन् । साझेदार कोण्डाले २०७५ साल चैत ४ गते दुइटै कार्यालयमा उजुरी दर्ता गरेका थिए ।

उनले शिव बाबा टेक्सटाइलले आयकर, लाभांश कर र भ्याटलगायत ८० लाख ४८ हजार ३ सय ३९ रुपैयाँ छलेको उजुरीमा उल्लेख गरेका छन् ।

उजुरीअनुसार उद्योगले ४९ लाख २९ हजार ५ सय ४० रुपैयाँ आयकर, ३० लाख ४३ हजार ७ सय ९९ रुपैयाँ भ्याट र ७५ हजार रुपैयाँ लाभांश कर छलेको दावी गरिएको छ । संस्थापक अध्यक्ष कोन्डाले सरकारलाई दिनुपर्ने आयकर, लाभांश कर तथा भ्याटसँगै उनलाई दिनुपर्ने ७५ लाख ४० हजार ७४ रुपैयाँ उद्योगले अपचलन गरेको आरोप लगाएका छन् ।

उनले आर्थिक वर्ष २०७१/७२ मा २ लाख ४४ हजारमात्रै करअघिको मुनाफा देखाएर उद्योगले गोप्य रुपमा १७ लाख १० हजार रुपैयाँ लाभांश बाँडेको उजुरीमा उल्लेख गरेका छन् । जुन लाभांशको कर सरकारलाई नबुझाएको उजुरीकर्ता कोण्डाले जिकिर गरेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७२÷७३ को आर्थिक प्रतिवेदनमा २१ लाख २८ हजारको मात्रै भ्याट बिलबाट उत्पादन बिक्री भएको देखाए पनि बैंकमा ७६ लाख १ हजार रुपैयाँ उत्पादन बिक्रीबाट जम्मा भएको देखाएको सञ्चालक कोण्डाले जानकारी दिए ।

‘आर्थिक वर्ष २०७४÷७५ मा पनि आर्थिक प्रतिवेदनमा १४ लाख ८३ हजारको मात्रै भ्याट बिलबाट सामान बिक्री भएको देखाएर बैंकमा ६१ लाख ८५ हजार रुपैयाँ जम्मा भएको देखिएबाट भ्याट छलेको सुस्पष्ट हुन्छ’, उनले भने, ‘आर्थिक वर्ष २०७३÷७४ मा कूल लगानी ६५ लाख ३१ हजार ८ सय १७ रुपैयाँमा ६६ लाख ७४ हजार ६ सय १ रुपैयाँ स्थिर सम्पत्ति थप्दा पनि उद्योगले कूल लगानी ६५ लाख ६३ हजार ९ सय ४५ मात्रै देखाएर आयकर छलि गरेको छ ।’

उद्योगका अध्यक्ष हरिगोपाल कोन्डाले भने उद्योगमाथि लगाइएको आरोप वाहियात र निराधार रहेको जिकिर गरे ।

आफूहरुलाई दुःख दिने नियतले उद्योगकै सञ्चालक रहेका हरिरामले मिथ्या आरोप लगाएको उनको भनाइ थियो । हरिराम उद्योगका अध्यक्ष हरिगोपालका सहोदर दाजुसमेत हुन् ।

‘उद्योगले कर र भ्याट छल्यो भनी लगाएको आरोप वाहियात हो’, अध्यक्ष हरिगोपालले भने, ‘हामीलाई दुःख दिने नियतले मिथ्या आरोपमा मुद्दा दर्ता गरिएको हो ।’ उनले आन्तरिक राजस्व कार्यालयमा उद्योगको तर्फबाट सबै प्रमाण पेश गर्दा पनि मुद्दा टुंग्याउन ढिलाइ गरेकोमा आपत्ति जनाए ।

यता आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख गगनबहादुर विकले भने उजुरी परेअनुसार कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धान प्रक्रिया लामो हुनेसमेत बताए ।

‘दुवै पक्षसँग बयान लिइरहेका छौं । ब्यालेन्स सिट भेरिफाइ गरिरहेका छौं’, प्रमुख विकले थपे, ‘नाफा लुकाएको भन्ने मुद्दा भएकाले राष्ट्र बैंकमा सबै एकाउन्ट खोजी गरी पाउन पत्राचार भएको छ ।’ उनले अनुसन्धान अझै ५÷६ महिना लम्बिनसक्ने बताए ।

उक्त उजुरी दर्ता गरेपछि भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयमा हालसम्म ३ जना अनुसन्धान अधिकृतको सरुवा भइसकेको छ । त्यस्तै मुद्दा दर्ता गरिँदाका कार्यालय प्रमुख सूर्यप्रसाद पोखरेल फेरिएर अहिले गगनबहादुर विक आएकै वर्षदिन पूरा भइसकेको छ । उक्त मुद्दा अनुसन्धान गर्ने तीनजना अधिकृतहरु क्रमशः अनिमेष सुवेदी, प्रभा ढुंगाना र उत्तरकुमार रेग्मीको सरुवा भइसकेको छ । हाल उक्त मुद्दाको अनुसन्धान कर अधिकृत राजकुमार पोखरेलको नेतृत्वमा भइरहेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.