धनगढीको पहिलो जित
काठमाडौं : फर्वाड ओलावले अफिजको उत्कृष्ट प्रदर्शनको मद्दतमा धनगढी एफसीले नेपाल सुपर लिग फुटबल (एनएसएल)मा जित निकालेको छ। आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा धनगढीले मंगलबार काठमाडौं रेजर्सलाई पराजित गरेको हो। ओलावाले दुई गोल गर्दा काठमाडौंविरुद्ध धनगढी ३-० गोलअन्तरले विजयी भयो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले सुरुवाती अग्रता १९ औं मिनेटमा लिएको थियो। गोलरक्षक, कप्तान तथा मार्की खेलाडी विकेश कुथुले आत्मघाती गोल गरेपछि धनगढी ‘भाग्यमानी’ ठहरियो। टंक बस्नेतले निकालेको क्रस बल दोस्रो बारको पोल हुँदै विकेशलाई लागेपछि गोल भयो।
त्यसको तीन मिनेटपछि धनगढीले अर्को गोल गर्यो। २३औं मिनेटमा ओलावालेले काउन्टर अट्याकमा मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा धनगढीले तेस्रो गोल गर्यो। ६८औं मिनेटमा धनगढी १० खेलाडीमा समेटिएको थियो। रुमेश बर्ताैलालाई लडाएपछि रमेश दंगाल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
प्रतिक्रिया दिनुहोस !