अमेरिकामा खोप लगाएका मानिसले मास्क लगाउन नपर्ने
![अमेरिकामा खोप लगाएका मानिसले मास्क लगाउन नपर्ने](https://annapurnapost.prixacdn.net/media/albums/corona-us_20210313074931_Xx1Da0bsQV.png)
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन उसले भनेको छ।
हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन् । उनले कोरोना भाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् । उक्त घोषणापछि उनी ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए।
महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उनले ज्यानवरीमा कार्यभार सम्हालेयता संक्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताए ।
'आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन,' उनले भने। 'उपलब्ध आँकडा हेरेर हाम्रा वैज्ञानिकहरू यसरी खुला हावामा खोप लगाइसकेकाहरू भेट्दा भाइरस संक्रमण हुने सम्भावना अत्यन्त कम रहेकोमा विश्वस्त भएका छन्।'
राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर देशभक्तिपूर्ण कार्य गर्न पनि आह्वान गरे।
'खोपले बिल्कुल तपाईँको ज्यान जोगाउने काम गर्छ र साथै यसले तपाईँ वरपरका अरू मानिसलाई पनि जोगाउँछ-अनि यसले हामीलाई सामान्य जीवनशैलीमा फर्कन मद्दत गर्छ,' उनले भने।
'स्वास्थ्य अधिकारीहरूले मङ्गलवार ह्वाइट हाउसमा नयाँ सुरक्षा मापदण्ड प्रस्तुत गरेका थिए। बाहिरी खुलास्थलमा हुने साना तथा मध्यमस्तरका जमघटमा खोप लगाएका मानिसहरूले मास्क नलगाएर पनि सुरक्षित हुन सकिन्छ,' सीडिसीकी निर्देशक डा. रोसेल वालेन्स्कीले भनिन्। तर बाहिरै भएको जमघट पनि यदि ठूलो छ भने त्यहाँ मास्क लगाउने कि नलगाउने भन्ने विषय सो ठाउँमा हावाको ओहोरदोहोर कत्तिको राम्रो छ अनि मानिसहरूबीच कति दूरी हुन्छ भन्ने जस्ता कुरामा भर पर्ने उनले बताइन्।
यी मापदण्ड अनुसार पूर्ण खोप लगाएको भन्नाले कुनै व्यक्तिले खोपको निर्धारित मात्रा पूरा गरेको दुई सातापश्चात् भन्ने बुझ्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)