माथिल्लो दोर्दी ‘ए’ को परीक्षण सुरु
बेंसीसहर : लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सुरु गरिएको छ। सुरुङ र पेनस्टक पाइपमा पानी पठाएर परीक्षण भइरहेको आयोजनाले जनाएको छ।
संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले आगामी जेठ महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। भूकम्प, नाकाबन्दी, बाढीपहिरो र कोरोना कहरका कारण निर्माण अवधि लम्बाइरहेको सो आयोजनाको सबै संरचनाको परीक्षण (फुललोड टेस्ट) हुन सकेको छैन। निर्धारित समयभन्दा एक वर्ष बढी समय लगाएर आयोजना निर्माण सम्पन्न हुन लागे पनि पुनः कोरोनाका कारण प्रभावित हुन सक्ने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले जानकारी दिए। उनका अनुसार विद्युत् उत्पादन परीक्षणका लागि आयोजनाको सुरुङमा पानी हाल्न सुरु भएको छ, तर टर्वाइन परीक्षणका लागि भारतबाट प्राविधिकहरू ल्याउन समस्या भएको छ।
गत चैतमा व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने भनिए पनि उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न प्रसारण लाइन नबन्दा आयोजनाको काम पनि ढिलाइ भएको थियो। हाल १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि निर्माणको अन्तिम चरणमा पुगेकोले विद्युत् उत्पादनमा समस्या नहुने आयोजनाको दाबी छ। आयोजनाले जेठ महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग समन्वय भएको प्रवर्द्धक वस्तीको भनाइ छ। लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण सुरु हुँदा चार अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा बाढी पहिरोले आयोजनाको संरचना पुर्दा लागत रकम बढेको आयोजनाले जनाएको छ।
बाढीले आयोजना पुर्दा मात्र ६७ करोड ६० लाख लागत बढेको सञ्चालक वस्तीले बताए। आयोजनामा ७० प्रतिशत कर्जा र ३० प्रतिशत प्रवद्र्धकहरूको इक्विटी लगानी रहेको छ। आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा चार बैंकले २ अर्ब ७७ करोड ४० लाख रुपैयाँँ लगानी गरेका छन्।
प्रतिक्रिया दिनुहोस !