डाक्टरविहीन प्राथमिक स्वास्थ्य केन्द्र

डाक्टरविहीन प्राथमिक स्वास्थ्य केन्द्र

सन्धिखर्क : कोभिड महामारी बढिरहेको समयमा अर्घाखाँचीमा रहेका दुईवटै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा सेवाग्राही समस्यामा परेका छन्। यी स्वास्थ्य संस्था एक महिनादेखि डाक्टरविहीन छन्। 

छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शीतगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वाथ्य केन्द्र डाक्टरविहीन हुँदा सामान्य रोगका बिरामी पनि सन्धिखर्क तथा बुटबल जान बाध्य भएका हुन्।  दुई जना डाक्टरको दरबन्दी रहेको दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरू अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए। 

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य कर्मचारीको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन्। सामान्य खालका बिरामी हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता स्थानीयले खेपेको शीतगंगा—३ ठाडाका स्थानीय नारायण अधिकारीले बताए। प्राथमिक स्वास्थ्य केन्द्रमा एचए पनि नहुँदा अहेब र अन्य कर्मचारीले बिरामीको चेकजाँच र उपचार गरिरहेका छन्। 

दुई जना डाकटरको दरबन्दी रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका दुबै डाक्टर एमडी अध्ययन गर्न गएपछि प्राथमिक स्वास्थ्य केन्द्र डाकटरविहीन बनेको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले बताए। डाक्टर ल्याउनका लागि पहल भइरहेको उनको भनाइ छ। 

पछिल्लो समय कोभिडका कारण विश्व नै आक्रान्त बनिरहेको समयमा आफ्नै गाउँमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीय चिन्तित बनेका छन्। कोभिड अस्पताल बनाउन तथा स्थानीय बिरामीको चेकअप गर्न सबै स्थानीय सरकारमा डाक्टरको दरबन्दी पठाए पनि पाणिनि गाउँपालिकाबाहेक अन्य पाँच वटा स्थानीय तहले पनि डाक्टरको नियुक्ति गरेका छैनन्। 

कोभिड अस्पताल तथा अन्य बिरामीको उपचारका लागि पालिकामा पठाएको दरबन्दीमा डाक्टर नियुक्ति गरेको र उनले सेवा दिएको पाणिनि गाउँपालकाका अध्यक्ष अच्युत गौतमले बताए। तर अन्य पाँच वटा स्थानीय पालिकामा डाक्टरको दरबन्दी खुलाएर विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए। गाउँपालिकाले नियुक्ति गर्ने डाक्टरको दरबन्दीअनुसार अब केही दिनमै डाक्टर नियुक्ति गर्ने छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलको भनाइ छ। 

शीतगंगाको प्राथमिक स्वास्थ केन्द्र ठाडा र बल्कोटको प्राथमिक स्वास्थ्य केन्द्रमा महामारीको समयमा डाक्टरविहीन भएकोमा आफ्नो ध्यानाकर्षण भएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताए। मन्त्री आर्चायले जनताको सेवाका लागि छिट्टै डाक्टर ल्याउने पहल गर्ने बताए। 

जिल्लामा कोरोनाका कारण हालसम्म २७ जनाको मृत्यु भएको छ। कोभिड—१९ का कारण सन्धिखर्क नगरपालिकामा ७, शीतगंगा नगरपालिकामा ६, भूमिकास्थान नगरपालिकामा ६, पाणिनि गाउँपालिकामा ३, मालारानी गाउँपालिकामा ४ र छत्रदेव गाउँपालिकामा १ जना गरी २७ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.