कोरोना संक्रमितको नियति : अस्पताल धाउँदा धाउँदै भर्ना हुन नपाई मृत्यु

कोरोना संक्रमितको नियति : अस्पताल धाउँदा धाउँदै भर्ना हुन नपाई मृत्यु

दमौली : कोरोना संक्रमणका कारण बिरामी परेर दुई पटक भर्ना प्रयास गर्दा समेत अस्पतालमा भर्ना नपाएपछि एक वृद्धको ज्यान गएको छ । भानु १ साजबोटेका ६५ वर्षीय वृद्धको ज्यान गएको हो ।

पोखराको ओम अस्पतालमा परीक्षण गराउँदा संक्रमण पुष्टि भएका ती वृद्धले उपचारका लागि पटक पटक दमौली अस्पतालमा भर्नाको प्रयास गरे । तर भर्ना नपाउँदा उनको ज्यान गएको छ । 

पोखरामा कोरोना परीक्षण गराएर घर फर्केका उनलाई सा फेर्न गाह«ो भएपछि गत शुक्रबार मध्यराति बल्लतल्ल एम्बुलेन्स खोजेर छिमेकीले दमौली अस्पताल पठाए । तर अस्पतालले उनलाई भर्ना लिन मानेन । ‘अवस्था राम्रो छ, यत्तिको बिरामी अस्पताल भर्ना गर्नु पर्दैन,’ अस्पतालका चिकित्सकको भनाई उद्धृत गर्दै उनलाई अस्पताल पठाउन पहल गरेका वडा सदस्य खेमलाल थापाले भने, ‘त्यसपछि उहाँ एक रात घर बस्नुभयो । तर फेरि गाह्रो भएपछि फेरि अस्पताल पठाएका हौँ ।’

पहिलो पटकको पहलमा नै एम्बुलेन्स पाउन गाह्रो भएका ती वृद्धलाई आइतबार झनै गाह्रो भएपछि फेरि अस्पताल पठाउने प्रयास थालियो । बिहान ६ बजेबाट प्रयास गर्दा नौ बजे मात्र एम्बुलेन्स पाएको छिमेकी काजी थापाले बताए । ‘हात जोडेर भने जति रकम दिने भने पछि नौ बजे बल्लतल्ल एम्बुलेन्स पाउँदा उहाँको अवस्था झनै खराब भैसकेको थियो,’ उनले भने ।

त्यति गाह्रो गरेर अस्पताल पठाइए पनि दमौली अस्पतालले फेरि उनलाई भर्ना लिन मानेन । ‘पहिले राम्रो छ भनेर भर्ना नलिएको अस्पतालले यसपालि अवस्था खराब छ भनेर लिन मानेन,’ थापाले भने, ‘बिरामीले गाह्रो हुँदा भर्ना नै नपाउने हो भने किन चाहियो अस्पताल ?’

समयमा खबर नगरी आएकाले बचाउन सकिएन : डा. पौडेल
आफन्तले पटक पटक जाँदा पनि भर्ना नलिएको आरोप लगाइरहेका बेला दमौली अस्पताल व्यवस्थापनले भने आफूहरुकहाँ खबरै नगरी आएकाले बिरामीलाई उपचार दिन नसकिएको जिकिर गरेको छ । ‘पहिल्यै खबर गरेर आएको भए आवश्यक तयारी गर्न सकिन्थ्यो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेलले भने, ‘एकैपटक आउँदा अवस्था खराब भएकाले पोखरा रिफर गरेका हौँ ।’

तर संक्रमित ती वृद्धलाई चारवटा भेन्टिलेटर भएको अस्पतालमा भर्ना नै गरिएन । आफ्ना एक चिकित्सकले परीक्षण गर्दा ‘अवस्था जटिल रहेको र यहाँ उपचार नहुने देखेकाले रिफर गरिएको’ पौडेलको दाबी छ । 

तर आफन्त भने संक्रमित बिरामी भर्ना नै नलिने अस्पतालको नियत रहेको बताउँछन् । भिनाजु भर्ना गराउन आएका सालाले भने, ‘दुई घण्टा एम्बुलेन्समै राखिएकाले उहाँको ज्यान गयो । समयमै भर्ना पाएको भए बच्नुहुन्थ्यो कि ।’

डा. पौडेल भने आफूहरुले भर्ना लिँदा उपचार दिन सक्ने अवस्था बिरामीको नभएकाले समस्या भएको बताउँछन् । उनले समयमै थाहा पाएको भए तयारी गरेर भर्ना लिन सकिने बताए पनि आफन्तले भने भानुका स्वास्थ्य प्रमुखमार्फत खबर गरेरै आएको दाबी गरेका छन् । यस विषयमा अनुसन्धान हुनुपर्ने माग आफन्तको छ । 

‘लास राखेर द्वन्द्व गर्नु हुन्न भनेर सेनालाई अन्त्येष्टि गर्न दिएका हौँ,’ छिमेकी काजीले भने, ‘बिरामीले उपचार नै नपाउने यो अवस्थामा दोषीमाथि कारबाही नहुने हो भने अरु धेरैको ज्यान यसैगरी जान सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.