अस्पताल चहार्दा–चहार्दै मृत्यु

अस्पताल चहार्दा–चहार्दै मृत्यु

राजविराज  : भेन्टिलेटर र अक्सिजन अभावमा अस्पताल चहार्दाचहार्दै सप्तरीमा संक्रमितले ज्यान गुमाउन थालेका छन्। राजविराज नगरपालिका–९ गढियाका ३८ वर्षीय पुरुषको भेन्टिलेटर अभावमा मृत्यु भएको १८ घण्टा नबित्दै बिहीबार १२ बजे तिलाठी कोइलाडी गाउँपालिका–४ का ४७ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालले जनाएको छ। संक्रमण पुष्टि भई सोमबार अस्पतालको आइसोलेसनमा भर्ना भएका ४७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या आएपछि बुधबार बिहान आकस्मिक कक्षमा भर्ना भएका ३८ वर्षीय पुरुषको भेन्टिलेटरसहितको अस्पताल र अक्सिजन खोज्दा ढिला भई विराटनगरस्थित ग्रिनसिटी अस्पताल नपुर्‍याउँदै मृत्यु भएको राजविराज–९ का रामु यादवले बताए। बिहीबार पनि संक्रमित पुरुषको स्वासप्रस्वासमा समस्या भई अक्सिजनको मात्रा निकै कम भएको जानकारी दिँदै झाले भने– ‘भेन्टिलेटरमा राख्न सकेको भए कृत्रिम स्वास दिएर बचाउन थप प्रयास गर्न सकिन्थ्यो।’ होमआइसोलेसनमा वैशाख २० गतेदेखि बस्दै आएकी कञ्चनरूप–८ की ६५ वर्षीया महिलालाई अक्सिजनसहित अस्पताल पुर्‍याउन नपाउँदै बुधबार साँझ मृत्यु भएको थियो। 

राजविराजस्थित अस्पतालमा चारओटा भेन्टिलेटर रहे पनि अक्सिजन कन्सन्ट्रेटर सेन्सरमा प्राविधिक गडबडी भएकाले उपयोगमा आउन सकेको छैन। भेन्टिलेटर सञ्चालन गर्ने एनेस्थेसिया डाक्टरसमेत संक्रमित छन्। भेन्टिलेटरको प्राविधिक समस्या समाधान भई आवश्यक जनशक्ति उपलब्ध भए मात्र भेन्टिलेटर सञ्चालनमा आउन सक्ने अवस्था छ। अस्पतालले भेन्टिलेटरको जनशक्तिका लागि प्रदेश सरकार, संघीय सरकार र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयसम्म पहल गरिरहेको जानकारी दिँदै हालसम्म जनशक्ति उपलब्ध हुन नसकेको जनाएको छ। 

सप्तरीमा अक्सिजनको समस्या पनि विकराल बनेको छ। आइसोलेसन भर्ना हुने सबै संक्रमितका लागि अक्सिजन पुर्‍याउन हम्मे परेको अस्पतालले जनाएको छ। अक्सिजनकै लागि संक्रमितका परिवारबीच खोसाखोसको स्थिति बनेको छ। सरकारले अस्पतालमै अक्सिजन प्लान्ट राख्न टेन्डर आह्वान गरे पनि काम अगाडि बढ्न सकेको छैन। टेन्डर आह्वान भए पनि सामाग्री नपाइएकोले सम्भव नहुँदा अक्सिजन भर्न इटहरीस्थित उद्योग पठाउनु परेको डा. झाले बताए। खाली हुनासाथ दैनिक ५० वटा सिलिन्डर भर्न इटहरी पठाइने गरेको उनले बताए। 

बन्द रहेको राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एन्ड हस्पिटलमा बिहीबारदेखि सञ्चालनमा ल्याउने गरी तयार पारिएको ५० बेडको आइसोलेसनका लागि पनि अक्सिजन चाहिने भएकाले बिहीबार थप ३० वटा सिलिन्डर खरिद गर्ने सम्झौता भएको अस्पतालले जनाएको छ। स्थिति असामान्यतर्फ प्रवेश हुन थालेको भन्दै डा. झाले कोरोना संक्रमितलाई सेवा दिन चुनौती बढ्दै गएको बताए।

अक्सिजनकै कारण संक्रमितहरूको मृत्यु भइरहेको राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले बताए। नगरपालिकाले सिलिन्डर खरिदको प्रयास गरे पनि प्राप्त नभइरहेको उनको भनाइ छ। अस्पतालले सम्झौता गरेअनुरूप ३० वटा सिलिन्डिर थपिए १ सय २७ वटा सिलिन्डर हुनेछ। अस्पतालमा गत १९ गतेदेखि सञ्चालनमा आएको २५ बेडको एचडीयू व्यवस्थापनसहितको आइसोलेसन केन्द्रका सबै बेडमा अहिले कोरोना संक्रमित छन्। उनीहरूको मृत्यु भए वा होम आइसोलेसनमा गए मात्र नयाँ बिरामीको भर्ना हुने अवस्था छ। 

जिल्लामा रहेका अरू निजी अस्पतालहरू र आइसोलेसनमा समेत आईसीयू र भेन्टिलेटर नहुँदा कडा खालका संक्रमितको उपचार सप्तरीमा सम्भव छैन। निजी अस्पतालमा काम गर्ने चिकित्सक र कर्मचारीहरूले काम छाड्न थालेका छन्। छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा रहेको दुईवटा भेन्टिलेटरलाई कोभिड–१९ का संक्रमितका लागि प्रयोगमा ल्याउने तयारी भइरहेको सीडीओ फणिन्द्रमणि पोखरेलले बताए।

जिल्लामा पछिल्लो समय कोभिड–१९ का बिरामी दैनिक बढ्दै गएको छ। संक्रमितको सङ्ख्या बढेसँगै अक्सिजनको अत्यधिक खपत्ले गर्दा अक्सिजन अभाव हुँदै गएकोले अस्पतालले बिरामी लिन नसक्ने अवस्था आउनुअघि नै सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने स्थानीय तुला माझीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.