सप्तरीमा कोरोना कहर : अस्पतालले भर्ना नलिँदा घरमै मृत्यु
राजविराज : लक्षण भएका र सिकिस्त संक्रमितलाई मात्र भर्ना लिँदै आएका अस्पतालका बेड भरिएपछि संक्रमितको घरमै ज्यान जान थालेको छ । विभिन्न अस्पताल चहारेर भर्ना हुन नसकेपछि घरमै फर्काएर ल्याइएकी सप्तरीको कञ्चनरूप नगरपालिका–११ गोरपारकी ६५ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो ।
स्वास्थ्य जाँच र उपचार गराउन सोमबार बिराटनगरस्थित कोशी अस्पताल गएकी चिनी रोगबाट पीडित महिलाको पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमित पुष्टि भएको थियो । अवस्था सामान्य रहेकोले अस्पतालले होम आइसोलेसनमा बस्न सुझाव दिँदै घर पठायो ।
होम आइसोलेसनमा बसेकी महिलाको स्वास्थ्य अवस्था बुधबार अचानक बिग्रिएपछि स्वास्थ्य शाखा कञ्चनरूपले सुविधाजनक अस्पतालमा लैजान रेफर गर्यो । उनका परिवारका सदस्य र गाउँलेहरुले धरान, बिराटनगर र राजबिराजका अस्पतालसँग अनुनय विनय गर्यो । अस्पतालका बेडहरु संक्रमितले भरिएको भन्दै भर्ना लिन नमान्दा संक्रमितलाई पुनः फर्काएर घरमै ल्याइयो । अस्पतालमा उपचार नपाएर बिहान मृत्यु भएको परिवारका सदस्यले बताए ।
बिहीबार मात्र विराटनगरमा उपचाररत कञ्चनरुप–८ का ६५ वर्षीय पुरुष र काठमाडौंमा उपचाररत कञ्चनरूप नपा–१२ की ३७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य शाखा, कञ्चनरूपका सहसंयोजक डम्बरप्रसाद गुप्ताले बताए । यो समेत कञ्चनरुमा मात्र ३ दिनको अवधिमा ५ जनाको मृत्यु भइसेको छ ।
कोभिड–१९ को पहिलो लहरमा ४१ जनाको मृत्यु भएको सप्तरीमा दोस्रो लहरको १ महिना नपुग्दै २० जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्ये १८ जना निको हुँदा ६ सय ४७ जना सक्रिय संक्रमित छन् । अधिकांश घरमै आइसोलेसन छन् ।
लक्षण नदेखिएकालाई अस्पतालमा राखेर उपचार नगर्ने सरकारको निर्णयसँगै अधिकांश संक्रमित होम आइसोलेसनमा बस्दै आएका हुन् । संक्रमितहरुको सङ्ख्या बढदै गएको अवस्थामा हाल लक्षण देखिएका संक्रमितको उपचार पनि असहज बनेको छ ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा एचडियु व्यवस्थासहितको २५ बेडको आइसोलेशन सबै भरिएका छन् । अन्य ठाउँमा व्यवस्थापन गर्न नसकेकाले ५ जना संक्रमितलाई आकस्मिक कक्षको वेटिङ बेडमा राखिएको छ । राजविराजबाट रेफर भइ लैजाने गरिएको धरान र विराटनगरका अस्पतालहरु पनि संक्रमितले भरिएको छ । ती बेडहरु खाली नभई नयाँ बिरामी भर्ना लिने अवस्था नरहेको डा.रणजितकुमार झा बताउँछन् ।
‘हरेक दिन बेडको लागि फोन आउँछ, हामि पनि धरान, विराटनगरका लागि फोन गर्छौ तर राख्ने ठाउँ छैन’, उनी भन्छन्, ‘कोभिड–१९ को दोस्रो लहरमा संक्रमित हुनेहरुमा जटिल लक्षणहरु देखा परेकाले चुनौति थपिएको छ ।’ स्थिती असामान्य बन्दै गएको र व्यवस्थापन जटिल बन्दै गएको भन्दै डा. झाले अहिले संक्रमण बढदो क्रममा रहेकाले निषेधाज्ञासहित स्वास्थ्य मापदण्डको पालना गर्न जरुरी रहेको बताए ।
'गत वर्ष अस्पतालमा १० वटा अक्सिजन सिलिण्डर हुँदा पनि समस्या थियो, अहिले ९७ सिलिण्डर हुँदा पनि समस्या अक्सिजनकै छ, थप ३० वटा सिलिण्डरका लागि सम्झौता गरिएको छ” डा. झाले भने, 'अस्पतालमा संक्रमित सङ्ख्या बढदै गएमा धान्न नसक्ने भएकाले उपचार भन्दा रोकथाममै ध्यान दिन जरुरी छ ।”
समन्वय गरेर संक्रमितलाई उपचारका लागि अन्यत्र पठाउन खोजिए पनि बेडको लागि थामि नसक्नु चाप छ । सिडिओ फणिन्द्रमणि पोखरेलले अस्पतालमा राखेर उपचार गर्नुपर्ने संक्रमितको कहिँ न कहिँ व्यवस्थापन गर्ने प्रयास भइरहेको बताउँछन् । ‘आइसोलेसन केन्द्रहरु थपिदै गएको र निजी अस्पतालले पनि छुट्टै आइसोलेशन कक्ष बनाउने प्रतिबद्धता गरेकोले चाँडै समस्या समाधान हुने आश्वसान दिए । पूर्वाधार र जनशक्ति कमी रहेकोले कारोना लागेर उपचार गर्नुभन्दा लाग्नै नदिने तर्फ सचेत रहन उनले आग्रह गरे ।