सप्तरीमा बन्ने भयो अक्सिजन प्लान्ट
राजविराज : अक्सिजनको अभावलाई न्यूनिकरण गर्न सप्तरीमै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल नजिकै रहेको निजी अस्पताल छिन्नमस्तामा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो।
अक्सिजन प्लान्टका लागि राहत तथा विपद व्यवस्थापन कोषबाट सोधभर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने शनिबारको निर्णयसँगै छिन्नमस्ता अस्पताल प्रालिले अक्सिजन प्लान्टको योजना अगाडि बढाएको सञ्चालक शैलेन्द्रमोहन झाले बताए। सो अस्पतालले विरामीहरुको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
कोरोना संक्रमितको उपचारका लागि छिन्नमस्ता अस्पतालले २० एचडियुसहित ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले आफ्नै भवनमा २५ बेडको एचडियु व्यवस्थासहितको आइसोलेसन केन्द्र र साइकृष्ण मेडिकल कलेज एण्ड अस्पतालमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ।
हाल सप्तरीमा कोरोना संक्रमितको सङ्ख्या सात सय नाघेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीमा कोभिड–१९ को दोस्रो लहरमा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ। बिरामीहरुले पर्याप्त अक्सिजन नपाउँदा उपचारमा समस्या भएको अस्पतालले जनाएको छ।
अक्सिजनको अभावका कारण कोरोना संक्रमितको उपचारका लागि थप बेड र आइसोलेसन केन्द्र विस्तार हुन नसेकेको सीडीओ फणिन्द्रमणि पोखरेलले बताए। सप्तरीमा अक्सिजन प्लाण्ट स्थापनापछि थप बेड विस्तार भएपछि उपचारमा सहज हुने विश्वास गरिएको छ।
जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा शनिबार बसेको बैठकले अक्सिजन प्लान्टका लागि ३० लाख उपलब्ध गराउने निर्णयसँगै राहत तथा विपद व्यवस्थापन कोषमा यथाशिघ्र रकम जम्मा गर्न स्थानीय तहसँग आग्रह गरिएको छ। केही स्थानीय तहले रकम जम्मा गरिसकेको र केहीले जम्मा गर्ने तयारीमा रहेको जिसस प्रमुख प्रभाकर यादवले बताए।
अक्सिजनको अभावलाई न्यूनीकरण गर्न दैनिक राजविराजबाट ५० किलोमिटर दुरीमा रहेको सुनसरीको इटहरी गएर अक्सिजन भर्ने गरिएको छ। इटहरीबाट दैनिक ५० सिलिण्डर अक्सिजन भराएर ल्याउनु पर्ने बाध्यता रहेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले बताए। निमित्त मेसु डा झाले परिस्थिति विषम भएकाले यथाशिघ्र अक्सिजन प्लाण्ट आवश्यक रहेको बताए। अक्सिजन प्लाण्ट स्थापना भए थप बेडहरु विस्तार गर्न सकिने र संक्रमितको उपचारमा सहज हुने उनले बताए।
जिल्ला समन्वय समितिका प्रमुख यादवको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा बसेर १० दिन उपचार गरेका संक्रमितको थप तीन दिनसम्म कुनै लक्षण नदेखिए दोस्रो पटक पीसीआर परीक्षण नगर्ने निर्णय गरेको छ। दोस्रो पीसीआर परीक्षण नगरी चिकित्सकको सल्लाह बमोजिम एक हप्तासम्म होम आइसोलेसनमा बस्ने गरी पठाउने निर्णय भएको हो। आइसोलेसन र क्वारेन्टाइनमा १४ दिनसम्म बसेकालाई पनि दोस्रो पीसीआर नगराइ होम आइसोलेसनमा पठाउने निर्णय भएको छ।
जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिको बैठकको विगतको निर्णय अनुसार क्वारेन्टाइन र आइसोलेसन केन्द्र तयार नगरेका स्थानीय तहलाई अबिलम्ब तयार गर्न तथा नेपाल सरकारबाट घोषित ५, १० र १५ बेडको अस्पतालको अवस्थाको विषयमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय भएको छ।
अक्सिजन प्लान्टको स्थापना हुने निर्णयले सप्तरीवासी खुसी भएका छन्। विभिन्न मितिमा गरिएका निर्णय स्थानीय तहले यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने भन्दै पवनकुमार झाले अक्सिजन प्लान्टका लागि स्थानीयवासी समेत सहयोग गर्न तत्पर रहेको बताए।