भाषाप्रयोगमा शुद्धता र एकरूपता

भाषाप्रयोगमा शुद्धता र एकरूपता

एकदशकयता नेपाली भाषाको प्रयोगमा एकरूपता छैन। विद्वत् वर्गकै बीच आफूलाई लागेको विचारलाई शुद्ध मान्ने ढिपी देखिन्छ। सञ्चार माध्यमहरूको आआफ्नै पारा छ। यसको मारमा खासगरी नेपाली शिक्षक परेका छन्। आफूले पढ्ने किताबमा देखेर र शिक्षक तथा अन्य विज्ञका कुरा सुनेपछि ‘नेपालीमा जे लेखे पनि हुँदोरहेछ’ भन्ने भान विद्यार्थीमा पर्न थालेको छ।

भाषिक प्रयोगको क्षेत्र बिस्तारै क्रमशः फराकिलो हुँदै जान्छ। यस क्रममा समाजशास्त्र, भूगोल, कृषि, राजनीति, विज्ञान, सञ्चार, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य, अर्थशास्त्रजस्ता विषयहरूमा वर्षेनी नयाँ नयाँ शब्दहरू जन्मिएर प्रयोगमा आउन थाल्छन्। नयाँ शब्दका वक्ता धेरै हुन थालेपछि ती शब्दहरू थाहै नपाइकन स्वतःस्वीकार्य पनि हुने गर्छन्। संस्कृतजस्तो पुरानो भाषामा यस्तो व्यवस्था नभए पनि नेपालीजस्तो जिउँदो भाषामा यस्तै छ। शब्दभण्डार बढ्ने तरिका नै यही हो। तर यसो भनेर सम्पदा र परम्पराको रूपमा प्रयोग भइआएका शब्दलाई बटारबुटुर पार्दै नयाँ रूपमा प्रयोग गर्न थालियो भने भाषामा अराजकता भित्रिन्छ।

नेपाली भाषा र व्याकरणका विषयमा सामान्य चासो राख्ने मान्छेले समेत ख्याल गर्नुपर्ने यस्ता सानातिना कुरामा, सम्पादक, शिक्षक, विद्यार्थी र सञ्चार माध्यमहरूमा काम गर्ने विशेष मानिसहरूले समेत ध्यान पु¥याएको पाइँदैन। यो नेपाली भाषाप्रति गरिएको बेवास्तापूर्ण अपमान हो।

भनिन्छ, ‘भाषाज्ञान : सर्वोत्तम धन’। धेरै वक्ताको आफ्नै मातृभाषा पनि हुन्छ। अनि एकजना व्यक्तिले धेरै भाषा सिक्न पनि सक्छ। तर जसले जुन भाषा बोले पनि त्यसमा शुद्धता हुनु आवश्यक छ। एउटा भाषा बोलिरहँदा त्यसमा अर्को भाषा मिसायो भने सामान्य श्रोताले बुझ्दैन। श्रोता पनि शिक्षित र उसमा भाषाज्ञान रहेछ भने वक्ताको कमजोरी उसले थाहा पाइहाल्छ। मिश्रित भाषाको प्रयोगले भाषा गिजोलिएर त्यसको मौलिक सुन्दरता पनि बिग्रन्छ। प्रत्येक भाषामा आफ्नै किसिमको व्यवस्था, विशेषता र नियम हुन्छ। नेपाली पनि त्यसैभित्र पर्ने एउटा भाषा हो।

अन्य भाषामा झैं यस भाषामा पनि नयाँ शब्द बन्ने निश्चित नियम र सीमा छ। नेपाली व्याकरण अनुसार सामान्यतः उपसर्ग लागेर, प्रत्यय लागेर, समास भएर, द्वित्व भएर र सन्धि भएर नयाँ शब्दहरू बन्ने गर्छन्। शब्दको अगाडि लाग्ने उपसर्गहरूको संख्या सीमित छ भने शब्दको पछाडि लाग्ने प्रत्ययहरूको संख्या असीमित छ। अक्कड, अत, अन्ते, अनी, आइ, आउ, आरो, आवट, आहा, इलो, उवा, ओट, इयार, अनीय, इका, इत, आडी, आलीजस्ता थुप्रै प्रत्ययमध्ये ‘ता’ पनि एउटा प्रत्यय हो। समानता, सम्पनता, स्वाधीनता, मौलिकता, दासता, लघुता, स्वतन्त्रता, विलासिता, सक्रियता, निष्क्रियताजस्ता थुप्रै शब्द ‘ता’ प्रत्यय लागेरै बनेका हुन्।

यसो भन्दैमा ‘ता’ प्रत्ययको प्रयोग जथाभावी गर्न मिल्दैन। यहाँ भने यस्तै भइरहेछ। कतिपय सञ्चार माध्यमहरूबाट ‘देशमा राजनीतिक अन्योलता देखियो’, ‘मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो’, ‘उसले विषयवस्तुको गाम्भीर्यता बुझेन’, ‘सौन्दर्यतामा लोभिनेहरू धेरै हुन्छन्’, ‘देशविकासका लागि राजनीतिक इमानदारिता चाहिन्छ’, काठमाडौं उपत्यकामा नेवारहरूको बाहुल्यता छ’, ‘झगडामा उसले धैर्यता गुमायो’, ‘माछाले काँध फेरेमा भुइँचालो जान्छ भन्ने सोच्नु अज्ञानता हो’, ‘कोदोमकैमा कार्बोहाइड्रेडको प्राचुर्यता पाइन्छ’, ‘निरोगी रहनका लागि रोगविरुद्ध लड्ने सामथ्र्यता चाहिन्छ’, ‘गीत गाउनका लागि स्वरमा माधुर्यता चाहिन्छ’, ‘ती दाजुभाइका बीच वैमनस्यता भएको पनि धेरै भइसक्यो’ जस्ता प्रकृतिका वाक्यहरू जताततै सुन्न र पढ्न पनि पाइन्छ। यी वाक्यहरूमा अन्योल, आतिथ्य, गाम्भीर्य वा गम्भीरता, सौन्दर्य वा सुन्दरता, इमानदारी, बाहुल्य वा बहुलता, धैर्य वा धीरता, अज्ञातता र प्राचुर्य वा प्रचुरता, सामथ्र्य, माधुर्य वा मधुरता, वैमनस्य प्रयोग गरिँदा मात्रै शुद्ध हुने हो। 

त्यस्तै तामाङ, खोटाङ, भञ्ज्याङ लेख्नुपर्नेमा हत्ते गरीगरी तामाङ्ग, खोटाङ्ग, भञ्ज्याङ्ग लेखेर ‘परम्परा जोगाउने’हरू पनि पाइन्छन्। बन्द भएका विद्यालय/होटल/पसल/यातायात/उद्योग/उडान पनि सञ्चालन वा सुचालू नभएर ‘सुचारु’ भइरहेको सुन्न पाइन्छ। शुल्क आधारपदमा ‘नि’ उपसर्ग लागेर ‘निःशुल्क’ भएको हो भन्ने कुरा थाहा हुँदाहुँदै, यसको विपरीतार्थी शब्दका रूपमा कतैकतै ‘सःशुल्क’ लेखिएको देखिन्छ। अनि, ‘अङ्ग’ आधारपदमा ‘अप’ उपसर्ग लागेर ‘अपाङ्ग’ बनेजस्तै ‘सपाङ्ग’चाहिँ बन्दैन भन्ने कुरा थाहा नभएर होला, ‘अपाङ्ग’को विपरीतार्थी शब्दका रूपमा जताततै ‘सपाङ्ग’ शब्दको प्रयोग गरिएको पनि पाइन्छ। ‘दुर्घटनाग्रस्त बसबाट घाइतेहरूको उद्धार’ हुनु ठीक हो। तर यहाँ त ठाउँलाई नै ‘दुर्घटनाग्रस्त क्षेत्र’ लेखिएको हुन्छ। ‘दुर्घटना बाहुल्य क्षेत्र’ लेख्ने सोच नै कसैको देखिँदैन।

नेपाली भाषा र व्याकरणका विषयमा सामान्य चासो राख्ने मान्छेले समेत ख्याल गर्नुपर्ने यस्ता सानातिना कुरामा, सम्पादक, शिक्षक, विद्यार्थी र सञ्चार माध्यमहरूमा काम गर्ने विशेष मानिसहरूले समेत ध्यान पु¥याएको पाइँदैन। यो नेपाली भाषाप्रति गरिएको बेवास्तापूर्ण अपमान हो। सूचनाका लागि जताततै टाँगिएका परिचयपाटीहरू अशुद्धताको शिकार भइरहेका हुन्छन्। शुद्ध लेख्न सिकाउने कतिपय विद्यालयकै परिचयपाटीमा त अशुद्धि देखिन्छ भने बिस्कुट, चाउचाउजस्ता वस्तुको नामलेखाइप्रति के गुनासो गर्नु छ र ! लोक सेवा आयोगबाट कडा परीक्षा पास गरेर स्थायी भई उच्च तहमा पुगेका सरकारी कार्यालयका कर्मचारीबाट जारी गरिएका कतिपय परिपत्रहरू हेरिसाध्य हुँदैनन्।

बोलाइ र लेखाइ गरी भाषाको रूप दुईवटा हुन्छन्। बोलाइ परिवर्तनशील भए पनि लेखाइ स्थिर हुन्छ। सोलुको शेर्पाले ‘म पनि जान्छु’ लाई ‘म पनि जान्छा’ भन्ला। सप्तरीको यादवले ‘म पनि काम गर्छु’ लाई ‘म पनि काम गरिलिन्छु’ भन्ला। भक्तपुरे नेवारले ‘मलाई डुडको चिया मन पर्दैन’ भन्ला। जोसुकैले पनि ‘मैले काम सक्काएँ’ भन्लान् तर ती सबैले लेखाइमा भने ‘जान्छु’, ‘गर्छु’ र ‘दूध’, ‘सिध्याएँ’ नै लेख्नुपर्छ। हाम्रा सञ्चार माध्यमहरूको भाषामा पनि विभिन्नता पाइन्छ। नेपाली भाषा सरकारी कामकाजको पनि भाषा भएको हुँदा यसको प्रयोगमा शुद्धता र एकरूपता हुनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.