भक्तपुरमा १० दिनपछि शून्य मृत्यु : संक्रमितभन्दा डिस्चार्ज हुने बढी

भक्तपुरमा १० दिनपछि शून्य मृत्यु : संक्रमितभन्दा डिस्चार्ज हुने बढी

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण लगातार १० दिनपछि आइतबार शून्य मृत्यु भएको छ। स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकअनुसार यहाँ वैशाख २३ गतेदेखि दैनिक संक्रमितको मृत्यु भइरहेको थियो। जुन सिलसिला जेठ १ गतेसम्म जारी रहेको थियो तर आइतबार जेठ २ गते उक्त सिलसिलामा ‘ब्रेक’ भएको हो।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरमा आइतबार एकसय ८८ जना नयाँ संक्रमित थपिँदा कुनै पनि संक्रमितको मृत्यु नभएको जानकारी दिए।

भक्तपुरमा वैशाख २८ गते अहिलेसम्मकै सबैभन्दा बढी ९ जना संक्रमितको मृत्यु भएको थियो। त्यस्तै वैशाख ३० गते ६ जना, वैशाख २९ गते ५ जना, वैशाखकै २६ र ३१ गते ४–४ जना संक्रमितले ज्यान गुमाउँदा बैशाख २७ गते ३ जना संक्रमितको मृत्यु भएको थियो।

जेठ महिनाको पहिलो दिन भने ५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख मिजार बताउँछन्। उनले भने ‘तर जेठ २ गते मृत्यु शून्य रह्यो।’ उनका अनुसार भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ। जसमा पुरुष ११९ जना र महिला ६४ जना रहेका छन्।

यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिका ४७ जना पुरुष र २० जना महिला गरी ६७ जना संक्रमितको ज्यान गएको छ। भक्तपुरका ३३ जना पुरुष र २१ जना महिला गरी ५३ जना तथा सूर्यविनायक नपाका २९ जना पुरुष र १७ जना महिला गरी ४६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ। सबैभन्दा कम चाँगुनारायण नपाका १० जना पुरुष र ६ जना महिला गरी १६ जना संक्रमितले ज्यान गुमाएका छन्।

संक्रमितभन्दा डिस्चार्ज हुने बढी
कार्यालयको तथ्यांकअनुसार भक्तपुर थपिने नयाँ संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेहरु केही बढेका छन्। पछिल्लो समय १८८ जना नयाँ संक्रमित थपिँदा २८२ जना डिस्चार्ज भएको कार्यालय प्रमुख मिजारले बताए। तर समग्र संक्रमितको संख्याको तुलनामा डिस्चार्ज हुने संख्या चित्तबुझ्दो नभएको उनले सुनाए। भक्तपुरमा कुल संक्रमितको ६९.७३ प्रतिशतमात्रै डिस्चार्ज भएका छन्। जबकि नेपालमा कुल संक्रमितको डिस्चार्ज हुने दर ७४.४ प्रतिशत रहेको छ। भक्तपुर र नेपालको संक्रमितको मृत्युदर भने समान १.१ प्रतिशत रहेको छ।

भक्तपुरमा हालसम्म संक्रमितको संख्या १६ हजार ६३२ पुगेको छ। जसमा ९ हजार १६९ जना पुरुष र ७ हजार ४६३ महिला रहेका छन्। यसमध्ये ६ हजार ४९१ जना पुरुष र ५ हजार १०८ जना महिला गरी ११ हजार ५९९ जना संक्रमित डिस्चार्ज भएका छन्।

४ हजार ८५० जना सक्रिय संक्रमित
भक्तपुरमा सक्रिय संक्रमितको संख्या ४ हजार ८५० जना रहेका छन्। जसमा २ हजार ५५९ जना पुरुष र २ हजार २९१ जना महिला रहेका छन्। यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ६४२ जना सक्रिय संक्रमित रहेका छन्। सूर्यविनायकमा एकहजार ३३२ जना, भक्तपुरमा ८६२ जना र चाँगुनारायण नपामा ५८९ जना सक्रिय संक्रमित छन्।
सक्रिय संक्रमितमध्ये २३५ पुरुष र १९० महिला गरी ४२५ जना सम्पर्क बाहिर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यहाँका १५५ जना पुरुष र १०९ जना महिला गरी २६४ जना सक्रिय संक्रमित अस्पताल तथा नपाको आइसोलेसन सेन्टरमा उपचाररत छन्। यो कुल सक्रिय संक्रमितको ५.४४ प्रतिशतमात्रै हो। ९४.५६ प्रतिशत अर्थात ४ हजार ५८६ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.