ताप्लेजुङमा दुई पुरुषको मृत्यु
ताप्लेजुङ : ताप्लेजुङमा कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ । फुङलिङ नगरपालिका–६ बस्दै आएका ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सम्पर्क अधिकृत हेमराज कठायतले बताए ।
जिल्ला अस्पताल ताप्लेजुङमा जेठ १ गते गरिएको एन्टिजेन परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । अस्पतालमा केहि दिन उपचारपछि उनी होम आइसोलेसनमा बस्ने गरी फर्किएका थिए । नेपाली सेनाले उनको अन्त्येष्टि गर्ने फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले बताए ।
यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका अर्का ३० वर्षीय युवकको पनि मृत्यु भएको छ । फुङलिङ नगरपालिका–७ का ती युवक हप्तादिनदेखि ज्वरो, रुघाखोकीका बाट ग्रसित थिए। परिवारका अन्य दुई सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ।
मेयर प्याकुरेलका अनुसार युवाको अन्त्येष्टि भने परिवारले नै गर्नेछन् । जिल्लामा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सक्रिय संक्रमित ३ सय २२ छन् ।