सप्तरीमा कोरोनाबाट तीनजनाको मृत्यु
राजविराज : कोरोना संक्रमणले शुक्रबार सप्तरीका तीनजनाको मृत्यु भएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ५८ वर्षीय, कञ्चनरुप नगरपालिका–१ का २८ वर्षीय र महादेवा गाउँपालिकाका १ का ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
ज्वरो आएपछि वैशाख २७ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पीसीआर परीक्षण गराएका ५८ वर्षीय पुरुष र ७५ वर्षीय पुरुषको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी वैशाख २७ गते विराट अस्पताल विराटनगरमा परीक्षण गराउँदा संक्रमित पुष्टि भएका २८ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुष्टि भएपछि सामान्य अवस्थामा रहेकाले उनी होम आइसोलेशनमा बसेका थिए ।
होम आइसोलेसनमा बसेका उनलाई बिहीबार राति स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि धरानको कोभिड अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । कोभिड–१९ को दोस्रो लहरमा यो समेत कञ्चनरुप नगरपालिकामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने हनुमाननगर कंकालिनी नगरपालिकामा ५ जना पुगेको छ ।
तीनवटै शवको व्यवस्थापनको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सप्तरीमा तीन साताको अवधिमा ४५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार कोभिड–१९ को पहिलो लहरमा गत वर्ष सप्तरीमा ४१ जनाले ज्यान गुमाएका थिए ।