घुन्साका प्रत्येक घर-घरमा बिरामी, स्थानीय तह बेखबर

घुन्साका प्रत्येक घर-घरमा बिरामी, स्थानीय तह बेखबर

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–६ घुन्साका छ्युम्बे शेर्पा १६ दिनदेखि बिरामी छन् । सुरुमा ज्वरो आएर ओछ्यान परेका उनलाई पखाला लाग्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने समस्या थपिएका छन् । अर्का स्थानीय छेर्तेन शेर्पा, पेम्बुफुटी शेर्पा पनि दुई हप्तादेखि ज्वरोले नै थला परेका छन् । 

४० घरपरिवारको बसोबास रहेको हिमाली गाउँ घुन्साका प्रत्येक घरमा बिरामी रहेको सथानीय पेमा शेर्पाले बताए । ‘घरैपिच्छे एक–दुईजना बिरामी छन्,’ पोमाले मंगलबार अन्नपूर्णसँग टेलिफोनबाट भने, ‘सबैलाई ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, पखाला, छाती दुख्ने समस्या छ ।' वैशाख अन्तिम सातादेखि गाउँका मानिस बिरामी पर्न थालेको पेमाले बताए । 

‘मेरै श्रीमती ल्हामु पनि १४ दिन बिरामी भएर अलि बिसेक भएकी छिन्,’ उनले भने, ‘हिजोदखि मलाई पनि ज्वरोले भेट्यो ।’ घुन्साबाट दुई घण्टा टाढाको गाउँ फलेमा पनि सोही लक्षणका बिरामी देखिन थालेको पेमाले सुनाए । २० घरको बसोबास रहेको फलेमा ७ घरमा बिरामी छन् । कोहि हप्तादिन बिरामी भएर निको भएका छन् । 

कोहिलाई भने १५ दिनसम्म पनि नछोडेको स्थानीय टासी शेर्पाले बताए । ‘गाउँभरीकै मान्छे बिरामी भएको यो पहिलो पटक हो । पहिले जडिबुटी, अरु सामान्य औषधि खाँदा निको हुन्थ्यो । यसपाली स्वास्थ्यको औषधिले पनि भेटेन,’ टासीले भने । ३ हजार ४ सय १२ मिटर उचाइमा रहेको एउटा सामुदायिक स्वास्थ्य इकाइ मात्रै छ । इकाइ प्रमुख प्रविन राईले घरघरमै गएर बिरामी हेरिरहेका छन् । 

इकाइमा स्वास्थ्यकर्मी राई मात्रै छन् । घुन्सा फाउण्डेसनमार्फत् कार्यरत उनी चौबिसै घण्टा बिरामीको उपचारमा खटिइरहेको टासीको भनाइ छ । पालिकले स्वास्थ्यकर्मी राखेको छैन । ३ जना गम्भीर रहेको इकाइका प्रमुख प्रविन राईले बताए । ‘धेरैजना निको भइसक्नुभएको छ । घरमा एकजना चाहिँ अझै बिरामी नै हुनुहुन्छ,’ राईले भने, ‘भएको औषधि दिइरहेको छु । अक्सिजन लेभल, प्रेसर हेरिरहेको छु । चिसोबाट बच्न अनुरोध गरिरहेको छु ।’ 

बिरामीमध्ये अधिकांशको अक्सिजन लेभल ७७ देखि ८८ को बीचमा रहेको उनले बताए । फाउण्डेसनकी अध्यक्ष याङ्जोम शेर्पाले काठमाडौंबाट औषधि पठाइदिएकी छन् । ‘एकैपटक धेरै मान्छे बिरामी भएपछि स्टक रहेको औषधि सकियो । काठमाडौंबाट मगाएको ५ दिन भयो । बुधबारसम्ममा आइपुग्छ होला,’ एचए राईले भने । 

झुरुप्प बस्ती रहेकाले संक्रमण एक घरबाट अर्को घरसम्म फैलन सजिलो भएको हो । सुरुमा एक/ दुई जना मात्रै बिरामी हुँदा पालिका र वडा कार्यालयसँग समन्वय गरेको तर पालिकाले वास्ता नगरेको राई बताउँछन् । ‘वडामा लकडाउन गर्दिनुस् । बाहिरको मान्छे आउन नदिनुस् भन्दा मान्नु भएन,’ राईले भने । पालिका केन्द्र र वडा कार्यालयबाट घुन्सा पुग्न दुई दिन लाग्छ । 

पालिकालाई आफूले थप स्वास्थ्यकर्मी पठाइदिन अनुरोध समेत गरेको राई बताउँछन् । ‘गाउँभरी बिरामी बढिरहेका छन् । मैले एक्लै थेग्न नसक्ने भएँ । केहि दिनको लागि भएपनि स्थास्थ्यकर्मी पठाइदिन पालिकामा अनुरोध गरेँ,’ उनले भने, ‘पालिकामै अभाव छ भन्ने जवाफ आयो ।’ 

राई पनि बिरामी भए झनै समस्या आउने अर्का स्थानीय दिपक शेर्पाले बताए । सिरियस बिरामी भए मर्नुको विकल्प नरहेको शेर्पा बताउँछन् । ‘विचरा उहाँ रात दिन नभनी घरघरमा कुदिरहनुभएको छ, पालो दिने मान्छे भए सहज हुने थियो,’ दिपकले भने । 

प्रशासन र गाउँपालिकाले वास्ता नगरेका कारण गाउँमा संक्रमण फैलिएको उनको भनाइ छ । ‘पास बनाएर काठमाडौं, भारतलगायतका ठाउँदेखि मान्छे आइरहेका छन् । प्रशासन र पालिकासँग बाहिरको मान्छे रोकिदिनुस् भनेर अनुरोध गर्दा मानेनन्,’ दिपक भन्छन्, ‘पास हुनेलाई चाहिँ रोग नलाग्ने हो र ?’ 

गाउँको निगरानी गर्नुपर्ने प्रहरी पनि चौकीभन्दा बाहिर ननिस्किने उनले सुनाए । छिमेकी वडा ओलाङचुङगोलाले हप्तादिन अघिनै गउँ प्रवेश निषेध गरेर सुरक्षाका उपाय अपनाएको छ । गाउँभरका नागरिक बिरामी हुँदा समेत आफ्नो वडाले वास्ता नगरेको स्थानीयको गुनासो छ । 

घुन्सामा स्वास्थ्यकर्मीको टोली पठाउने विषयमा पालिका अध्यक्षसँग कुरा गर्ने वडाध्यक्ष चन्द्र शेर्पाले बताए । ‘ठिक हुन्छ होला भनेर बाटो हेर्‍यौं । अझै बिरामी बढ्दै गए भने औषधि लिएर टोली पठाउँछौं,’ उनले भने । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले घुन्साका स्थानीय बिरामी परेको विषयमा गाउँपालिका अध्यक्षसँग बुझ्ने बताए । 

निषेधाज्ञा फुङलिङमा मात्रै

गाउँगाउँससम्म कोरोनाको संक्रमण फैलदा समेत निषेधाज्ञा भने फुङलिङ नगरपालिकामा मात्रै लगाइएको छ । प्रशासनले निषेधाज्ञा नलगाउँदा गाउँपालिका र वडाहरु आफू आफू नै निर्णय गरेर गाउँमा आवतजावत बन्द गरिरहेका छन् । नगरपालिकाका गौंडाहरु बन्द गरेपछि गाउँमा पुग्ने ठानेर फुङलिङमा मात्रै निषेधाज्ञा लगाइएको प्रजिअ पाण्डेले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.