आफैले थापेको पासोमा करेन्ट लागेर महिलाको मृत्यु
![आफैले थापेको पासोमा करेन्ट लागेर महिलाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/hospital-_20210603082357_v0Lb4jsE8Z.jpg)
राजविराज : सप्तरीमा पाहुनाका लागि तरकारी टिप्न खेत गएकी एक महिलाको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका रामबृक्ष रायकी श्रीमती ५५ वर्षीया इनरदेबी रायको बिहीबार करेन्ट लागेर मृत्यु भएको स्थानीय शोभानन्द रायले जानकारी दिए ।
स्थानीयवासीका अनुसार सुँगुर, स्याललगायतका जनवारबाट तरकारीबालीको सुरक्षार्थ घेरबार गरी बिछ्याइएको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेर महिलाको मृत्यु भएको हो । घरमा पाहुनासँग श्रीमान बसिरहेको बेला इनरदेबी तरकारी टिप्न खेत गएकी थिइन् ।
अन्य दिन श्रीमान रामबृक्ष रायसँग उनी तरकारी खेत जाने गरेकी थिइन् । केही दिन अगाडि सो पासोमा परेर एउटा स्यालको मृत्यु भएको गाउँलेहरूले जानकारी दिए । घटनास्थलमै मृत्यु भएको महिलाको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)