संक्रमितको शव नै बन्धक

संक्रमितको शव नै बन्धक

तानसेन : पाल्पाको तानसेन नगरपालिका–९ मदनपोखराको डाडाडुममा बसोबास। सम्पत्तिका नाममा जनता आवास कार्यक्रमबाट निर्माणाधीन घर। आम्दानीको स्रोत ज्यालादारी काम। निषेधाज्ञापछि गाउँघरमै मागेर छाक टार्दै आएका थिए बुद्धिबहादुर विक। 

विकको स्वास्थ्यमा समस्या देखियो। श्रीमती, छोरीहरूले वडाध्यक्ष हरिसुमन रेग्मीको सहयोगमा जेठ १४ गते लुम्बिनी मेडिकल कलेजमा लगियो। स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। ऋणधन तथा ज्यालादारीबाट बचेको केही रकम जुटाएर परिवारले २० हजार धरौटी राखी अस्पतालमा भर्ना गरे। विकको उपचारका क्रममा जेठ १९ गते मृत्यु भयो। बुवा कुर्न बसेका छोरीहरू खर्च अभावमा अस्पतालमा भोकै थिए।

विककोे उपचार खर्च १ लाख ७० हजार रुपैयाँ पुगेको थियो। एकातिर अभिभावक गुमाउनुपरेको पीडा, अर्काेतिर त्यति धेरै रकम अस्पतालमा बुझाउनुपर्ने। उनीहरूसँग पैसाका नाममा १ कौडी बाँकी रहेन। उपचार खर्च नपाएपछि अस्पतालले शव पनि दिएन। श्रीमती र छोरीहरू कतै भनसुन गरेर रकम मिलाउन सकिन्छ कि भनेर २४ घण्टासम्म दौडधुपमा लागे। कतैबाट भनसुन लागेन। वडाध्यक्ष रेग्मीले धेरै कोसिस गरे तर सफल भएनन्।     

कतैबाट पनि सहयोग नजुटेको कुरो तानसेनका नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठकसम्म पुग्यो। प्रमुख, उपप्रमुख र वडाध्यक्षको सरसल्लाहमा व्यक्तिगत रूपमा रकम उठाएर विकको उपचारमा लागेको खर्च व्यहोर्ने निर्णय गरी शव व्यवस्थापनका लागि लुम्बिनी मेडिकल कलेजलाई अनुरोध गरे। नगर प्रमुख शाहीले १ लाख ५० हजार रुपैयाँ व्यक्तिगत रूपमै जिम्मेवारी लिने गरी कलेजलाई पत्राचार गरे। त्यसपछि मात्रै कलेज प्रशासनले बन्दी बनाएको शव बाहिर निकाल्ने अनुमति दियो। 

‘नगरपालिका आफैंले आइसोलेसन सञ्चालन गरेका छौं। बुद्धिबहादुरको रकम नगरपालिकाको खाताबाट दिन मिल्दैन’, नगर प्रमुख शाहीले भने, ‘हाम्रो तलब भत्ता एवं अन्य रकम जुटाएर कलेजलाई १ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरिन्छ। विकको शवलाई मेडिकल कलेजदेखि राम्दी घाट पुर्‍याएर जलाउने काम नेपाली सेनाको गोरखदल गणको टोलीले गरेको छ।

बुद्धिबहादुर त बिते। तर, घरमा शोक र भोकको पीडा भयो। घरमा अन्नको दाना थिएन। नगर प्रमुख शाही, उपप्रमुख पाठकसहितको टोली जेठ २० गते राति ८ बजे नै खाद्यान्य बोकेर बुद्धिबहादुरको घरमा पुग्यो। तत्कालका लागि ५० किलो चामल, ५ किलो दाल, ५ लिटर, तेल, ५ किलो आटा, २ पोका नुन, माक्स, स्यानिटाइजरलगायत खाद्यान्य तथा अन्य सरसमान हस्तान्तरण गरे। मेडिकल कलेजका प्रवक्ता कृष्णप्रसाद पराजुलीले भने पैसा नदिएका कारण शव बन्धक बनाएको भन्ने कुरा झुट भएको दाबी गरे। 

‘कलेजले सरकारसँग निःशुल्क कोभिड उपचारको सम्झौता गरेको छैन। बिरामीको मृत्यु भएपछि आफन्त बेपत्ता भएपछि पैसाको हिसाब–किताब गर्न बोलाएका हौँ’, पराजुलीले भने, ‘वडा कार्यालयबाट उपचार खर्च निःशुल्कका लागि पत्र आए पनि निःशुल्क गर्न सक्ने अवस्था नभएकाले नगर प्रमुखको मौखिक अनुरोधमा बुद्धिबहादुरको शव नेपाली सेनालाई जिम्मा लगाएका हौं।’ 

उनले उपचारपछि हिसाब–किताब गरी पैसा माग्दा केही पक्षले प्रोपोगान्डा बनाएको बताए। ‘कलेजले पनि औषधि, अक्सिजन किन्नु पर्‍यो, उपचारमा खटिने चिकित्सक लगायतलाई सेवा शुल्क दिनुपर्‍यो’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.