अमेरिका मेक्सिको सिमाना भ्रमण गर्न ह्यारिसलाई दबाब

अमेरिका मेक्सिको सिमाना भ्रमण गर्न ह्यारिसलाई दबाब

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई अमेरिका र मेक्सिकोको सीमा क्षेत्रको भ्रमण गर्न दबाब बढिरहेको छ । कीर्तिमानी संख्यामा आप्रवासीहरूले सीमा पार गरिरहँदा यो विषय उठेको हो। एकजना समाचार प्रस्तोताले अमेरिकाको उत्तरी सीमा क्षेत्रमा किन नगएको भन्दै प्रश्न गरेपछि ह्यारिसले त्यसलाई टारेकी थिइन्।

गैरकानुनी आप्रवासनबारे चेतावनी दिएपछि आफ्नै डेमोक्र्याटिक दलका नेताहरूले उनको चर्को आलोचना गरिरहेका छन्। दुई दशकभन्दा यताकै उच्च अर्थात् एक लाख ७८ हजार आप्रवासीहरू एप्रिल महिनामा सीमामा पुगेका थिए। 

उपराष्ट्रपतिका एकजना सहयोगीले प्रारम्भिक अवस्थामा सिमाना ह्यारिसको जिम्मेवारीमा पर्ने बताएका थिए।

मार्च महिनामा राष्ट्रपति जो बाइडनले उनलाई ल्याटिन अमेरिकाबाट भइरहेको आप्रवासन नियन्त्रण गर्ने जिम्मेवारी दिएका थिए। तर पछिल्लो समयमा उनका सहयोगीहरूले राजनीतिक रूपमा विवादित मुद्दाबाट ह्यारिसलाई अलग गर्ने प्रयास गरिरहेका छन्।

पछिल्लो सर्वेक्षणहरूमा अर्थतन्त्र र महामारीबारेका बाइडेनका नीतिहरूलाई सकारात्मक रूपमा लिइए पनि आप्रवासनलाई सम्बोधन गर्ने उसको प्रयास त्यति लोकप्रिय पाइएको छैन।

एनबीसी न्यूजको मङ्गलवार बिहान प्रसारित अन्तर्वार्तामा ह्यारिसलाई सीमा क्षेत्रको भ्रमण गर्ने योजनाबारे सोधिएको थियो। जवाफमा उनले कुनै समय हामी सीमामा जानेछौँ र हामी सीमा क्षेत्रमा गएका छौँ भनेर जवाफ दिएकी थिइन्। त्यसपछि प्रस्तोताले उनी स्वयं सीमा क्षेत्रमा हालसम्म नगएको भन्ने अर्को प्रश्न गरेपछि हाँस्दै उनले आफू युरोप पनि नगएको भन्दै तपाईँले उठाइरहेको सवाल मैले बुझ्न सकिन् भनिन्।

मेक्सिकोमा संवाददाताहरूसँगको छलफलमा पनि सीमामा नगएको विषयमा प्रश्न गरिएपछि उपराष्ट्रपति ह्यारिसले त्यो भन्न सजिलो भएको र भ्रमण गर्दैमा समाधान ननिस्कने बताइन्। उनले आफू क्यालिफोर्नियाको सिनेटर हुँदा सीमा क्षेत्रको भ्रमणमा गएको बताइन्।

कूटनीतिक सम्बन्ध अभिवृद्धि र गैरकानुनी आप्रवासन नियन्त्रण गर्ने उद्देश्य सहित ग्वाटमाला र मेक्सिकोको दुई दिने भ्रमणका क्रममा त्यहाँका नेताहरूसँग भेटवार्ता गरेपछि उनका पछिल्ला भनाइ आएको हो। यसअघि मेक्सिकोको राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले गैरकानुनी आप्रवासीको सङ्ख्या कीर्तिमानी रूपमा बढ्नुको कारण बाइडेन प्रशासन रहेको बताएका थिए।

ह्यारिसले एक घण्टाभन्दा बढी उनलाई भेटेको बताइएको भएपनि आप्रवासन नियन्त्रणका लागि कस्ता कदम चाल्न भनेको प्रस्ट भइसकेको छैन। उनले मेक्सिकोका श्रमिकको अधिकारका लागि १ सय ३० मिलियन डलर अमेरिकी सहयोगको घोषणा गरिन्। उनले मध्य अमेरिकामा महामारी र अघिल्लो वर्षको आँधीको प्रभावलाई कम गर्न ३ सय १० मिलियन डलर साहयता दिने बताएकी छन्।

ह्यारिस र ओब्राडोरले गैर कानुनी आप्रवासन नियन्त्रणका लागि आर्थिक लगानी अभिवृद्धि गर्ने योजना घोषणा गरेका छन्। मेक्सिको सिटीमा भएको वार्तापछि आप्रवासनका जरैदेखीका कारण सम्बोधन गर्नु दुवै देशको हितमा रहेको उनीहरूले बताए।

ह्यारिसले वासिङ्टनले दक्षिणी मेक्सिको र मध्य अमेरिकाको आर्थिक विकासमा सहायता गर्ने योजना बनाएको बताइन्। तर उनले आप्रवासन समस्या रातारात हल गर्न नसकिने उनले उल्लेख गरिन्। दुवै देशले यसै वर्षको अन्त्यतिर उच्चस्तरीय सुरक्षा बैठक गर्न सहमति जनाएका छन्।

ग्वाटमालामा उनले गरेको सम्बोधनले बाइडेन प्रशासनको वाचा तोडेको भन्दै उनको आलोचना भइरहेको छ। ह्यारिसले गैरकानुनी आप्रवासीलाई सिमानामा नआउन भन्दै आए फिर्ता गरिने चेतावनी दिएकी थिइन्।

सन् २०१९ मा राष्ट्रपतीय चुनाव लड्दै गर्दा उनले कागजपत्र नभएका आप्रवासीलाई फिर्ता गरेकोमा तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गरेकी थिइन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.