इमोसनल ब्ल्याकमेलको मनोविज्ञान

इमोसनल ब्ल्याकमेलको मनोविज्ञान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षीहरूले ‘इमोसनल ब्ल्याकमेलर’ भन्ने गर्छन्। नेपाली राजनीतिक वृत्तमा पनि थुप्रै इमोसनल ब्ल्याकमेलरहरू छन्। राजनीतिक क्षेत्रमा मात्र होइन, हरेक क्षेत्रमा इमोसनल ब्ल्याकमेलरहरूको बिगबिगी छ। पावर, पैसा र आफ्नो उद्देश्य पूरा गर्नटाठाबाठा चतुर व्यक्तिहरूले इमोसनल ब्ल्याकमेलको सहारा लिने गरेका छन्। आममानिसले पनि आफ्नो काम फत्ते गर्न कहिलेकाहीँजानीनजानी इमोसनल ब्ल्याकमेलिङ गर्ने गर्छन्।

एउटा सहरीया नेता गााउँमा किसानहरूको भेलामा स्थानीय पोशाक सजिएर यसो भन्न सक्दछ, म तपाईहरूजस्तै एक किसानको छोरा हुँ। मेरो नशा–नशामा किसानको रगत बगेको छ। मलाई थाहा छ किसानहरूको समस्या, दुःखपीडा। किसानहरू उसको भाषणमा भावुक बन्छन्। उसलाई आफ्नो मुक्तिको मसीहा ठान्छन्। अनि तरर्र ताली पिट्छन्। कुनै बेइमान चिकित्सकले यसो भन्न सक्दछ, स्थिति निकै नाजुक छ, तुरुन्त अप्रेसन गर्नुपर्छ, नत्र आमाबच्चा दुवैको ज्यान जान सक्दछ। कुनै कम्पनीले यस्तो विज्ञापन गर्न सक्दछ, मुटुरोगबाट बच्न यो तेलको प्रयोग गर्नुहोस्। जर्महरूबाट बच्न यो साबुनको प्रयोग गर्नुहोस्।

कुनै प्राइभेट स्कूलको प्रिन्सिपलले अभिभावकलाई यसो भन्न सक्दछ, तपाईंको छोरा निकै कमजोर छ, होस्टेल राख्नु भएन भने फेल हुन्छ। कुनै मादक पदार्थ प्रयोगकर्ताले त्यो चिज खाने पैसा जोगाडका लागि यसो भन्न सक्दछ, मेरो छोरोलाई क्यान्सर भएर अस्पतालमा भर्ना छ, केही सहयोग गरिदिनुहोस् न।प्रेमीले प्रेमिकालाई फोनमा यसो भन्न सक्दछ, म पार्कमा छु, छिटो आऊ। धेरै बहाना नबनाऊ। यदि तिमी आइनऊ भने मैले गाडी लगेर खोलामा हाल्छु। गाउँको पानी धाराको लामो लाइनमा कुनै चतुर महिलाले यसो भन्न सक्छिन्, घरमा मेरो सानो बाबु एक्लै छ, मलाई पहिला पानी भर्न दिनुहोस् न। यी सबै इमोसनल ब्ल्याकमेलिङका केही उदाहरणहरू हुन्।

केवल यौनतृष्णा मेटाउने उद्देश्यले आकाशको तारा खसालिदिने सपना बाँड्नु पनि इमोसनल ब्ल्याकमेलिङको अर्को उदाहरण हो।ड्रग्स किन्ने पैसा असुल्न आमाबाबुसामु आत्महत्याको धम्की दिनु पनि इमोसनल ब्ल्याकमेल हो। समाजमा इमोसनल ब्ल्याकमेलका यस्ता अनेक उदाहरणहरू देख्न सकिन्छ। वास्तवमा भन्ने हो भने हिजो आज इमोसलन ब्ल्याकमेल अधिकांश व्यक्तिहरूको चरित्र भएको छ। त्यो किनभने इमोसनल ब्ल्याकमेलबाट आफ्नो स्वार्थ तथा उद्देश्य पूरा गर्न तुलानात्मक रूपमा निकै सजिलो हुने भएकाले नै मानिसहरूमा यो प्रवृत्तिको विकास भएको हो।

जनसंख्याको तीव्र वृद्धि, होडबाजी, जसरी हुन्छ अगाडि बढ्ने प्रतिस्पर्धा, स्वार्थी प्रवृत्ति तथा जायज बाटोबाट भन्दा इमोसनल ब्ल्याकमेलको बाटोबाट आफ्नो अभिष्ट पूरा गर्न सजिलो हुने भएका कारण हिजोआज यत्रतत्र सर्वत्र इमोसनल ब्ल्याकमेलिङकोप्रकोप बढेको हो। त्यसैले अधिकांश मानिस आफ्नो जीवनकालमा कुनै कुनै बेला इमोसनल ब्ल्याकमेलिङको शिकार हुने गर्छन्। त्यसो त इमोसनल ब्ल्याकमेलर पनि अर्को इमोसनल ब्ल्याकमेलरको शिकार बन्न सक्दछन्।

इमोसनल ब्ल्याकमेलबाट आफ्नो स्वार्थ तथा उद्देश्य पूरा गर्न तुलानात्मक रूपमा निकै सजिलो हुने भएकाले नै मानिसहरूमा यो प्रवृत्तिको विकास भएको हो।त्यसैले अधिकांश मानिस आफ्नो जीवनकालमा कुनै कुनै बेला इमोसनल ब्ल्याकमेलिङको शिकार हुने गर्छन्।

इमोसनल ब्ल्याकमेलरलेआफ्नो नाजायज उद्देश्य पूरा गर्न मानिसको भावनात्मक संवेगहरू जस्तैः प्रेम, डर, धम्की, क्रोध,लोभ, दुःखपीडा तथा अपराधबोध आदिलाई प्रभावित गरी ब्ल्याकमेलिङ गर्छन्। यसका लागि उनीहरूले नयाँ–नयाँ तरकिव निकाल्छन्। कतिपय इमोसनल ब्ल्याकमेलरहरूले यति चलाखीपूर्ण तरिकाले ब्ल्याकमेल गर्छन् कि इमोसनल ब्ल्याकमेलमा परेका व्यक्तिहरूले यसको सुइँको समेत पाउँदैनन्। उल्टो ब्ल्याकमेलरलाई नै आफ्नो सहयोगी ठान्छन्। इमोसलन ब्ल्याकमेल प्रायः नजिकको व्यक्ति, परिचित व्यक्ति तथा साथीसंगीहरूबाट नै हुने गर्छ।

सामान्यतया अरूलाई पनि आफूजस्तै सम्झने इमान्दार व्यक्ति, नो भन्न नसक्ने व्यक्ति, परिस्थितिको मूल्यांकन गर्न नसक्ने व्यक्ति, अशिक्षित, डरपोक तथा भावुक प्रकृतिको व्यक्ति अर्थात् भावनात्मक बुद्धिमत्ता कम भएको व्यक्ति नै प्रायः इमोसनल ब्ल्याकमेलिङको शिकार हुने गर्छन्। त्यसो त शिक्षित व्यक्ति पनि इमोसनल ब्ल्याकमेलिङको शिकार हुँदैन भन्ने होइन, हुन्छन्। विद्यावारिधि गरेको एक शिक्षित व्यक्तिलाई एउटा अशिक्षित गाउँले मानिसले पनि इमोसनल ब्ल्याकमेलिङ गर्न सक्दछ। इन्जिनियरलाई चिकित्सकले, चिकित्सकलाई इन्जिनियरले, प्रहरीलाई वकिलले, वकिललाई प्रहरीले, शिक्षकलाई विद्यार्थीले, विद्यार्थी तथा अभिभावकलाई शिक्षकले, नेतालाई पत्रकारले, कर्मचारीले तथा व्यापारीले, पत्रकार, कर्मचारी तथा व्यापारीलाई नेताले तथा विज्ञापनले उपभोक्तालाई इमोसनल ब्ल्याकमेलिङ गर्न सक्छन्। र गरिरहेका पनि प्रशस्त उदाहरणहरू छन्।

त्यसैले वर्तमान युगमा इमोसनल ब्ल्याकमेलबाट बच्न त्यति सजिलो छैन। त्यसो त मानिसको मनोविज्ञान बुझ्न सक्ने, परिस्थितिको मूल्यांकन गर्न सक्ने सचेत र भावनात्मक बुद्धिमत्ताले परिपूर्ण व्यक्ति इमोसनल ब्ल्याकमेलबाट कमै पीडित हुन्छन्। तर संसारमा यस्ता व्यक्तिहरू कमै हुने गर्छन्। खुसीको कुरा के भने मानिसले चाह्यो भने आफ्नो व्यक्तित्वमा चार चाँद लगाउन सक्छ। त्यसैले यस कुरालाई मनन गरी आफूमा भावनात्मक बुद्धिमत्ताको विकास गर्ने तथा इमोसनल ब्ल्याकमेलिङप्रति सचेत रहने हो भने इमोसनल ब्ल्याकमेलबाट जोगिन सकिन्छ।

अन्तमा, अतः नाजायज फाइदा उठाउने उद्देश्यले अर्काको भावनालाई प्रभावित गर्नु नै इमोसनल ब्ल्याकमेलिङ हो। यसका लागि ब्ल्याकमेलरले प्रेम, डर, भावनातथा अपराधबोध आदिको सहारा लिने गर्छ। आधुनिक युगमा यत्रतत्र सर्वत्र, हरेक क्षेत्रमा इमोसनल ब्ल्याकमेलिङको बिगबिगी भएता पनि यसप्रति अलिकति सचेत हुने हो भने इमोसनल ब्ल्याकमेलिङलाई कम गर्न सकिन्छ। वास्तवमाशिक्षा तथा सचेतना नै इमोसनल ब्ल्याकमेलिङबाट बच्ने उपाय हो।
- लेखक मनोविद् हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.