खोप लगाउन दिनभर लाम
ताप्लेजुङ : फुङलिङ नगरपालिका–५ का वडा सदस्य प्रेम विक बुधबार खोप लगाउन ४ घण्टा लाम लागे। जिल्ला अस्पतालस्थित खोप केन्द्रमा बिहान ११ बजे पुगेका विकले दिउँसो ३ बजे मात्रै खोप लगाउन पाए।
यसअघि गत माघमा सञ्चालित पहिलो चरणको खोप विकले लगाएका थिएनन्। उनी खोप लगाउन आग्रह गर्दै स्थानीयका घर–घरमा भने पुगेका थिए। त्यस बेला अनुरोध गरिएका स्थानीयले मतलब गरेका थिएनन्।
बुधबार भने विक मात्रै होइन, उनले पहिले अनुरोध गरेका स्थानीयले लाममा घण्टौं पालो कुरेरै खोप लगाएका छन्। ‘त्यति बेला खोपको विश्वासै लागेन। ज्वरो आउँछ। झन् बिरामी परिन्छ भन्ने लाग्यो। त्यही भएर लगाइएन’, विकले भने, ‘आज गाउँका सबैले लगायौं।’ जिल्ला अस्पतालमा खोप लगाउनेको भीड लागेको थियो।
स्वास्थ्य कर्मचारी र जनप्रतिनिधिले घरमै गएर खोप लगाउन अनुरोध गरे। प्रत्येक खोप केन्द्रमा कोभिसिल्ड खोप कार्यक्रम सञ्चालन भयो। घरनजिकको सेवा पनि अत्यन्तै कमले मात्रै उपभोग गरे। अहिले भने स्थानीय दिन माया मारी खोप लगाउन आएका छन्।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार यसअघि १ हजार ५ सय ३५ जनालाई कोभिसिल्ड खोप लगाउने लक्ष्य राखिएकोमा ८ सय ६६ जनाले मात्र लगाएका थिए। बाँकी खोप छिमेकी जिल्ला पाँचथर पठाइएको थियो। यसपटक फुङलिङ नगरपालिकाका लागि २ सय डोज छुट्याइएको थियो।
बुधबार पहिलो दिनमै २ सय ८८ जनाले खोप लगाएका छन्। अपेक्षाभन्दा धेरैले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन्। ‘यति धेरै आउनुहुन्छ जस्तो लागेको थिएन’, अधिकृत खरेलले भनिन्। बिहीबार पनि अस्पतालमै र शुक्रबार वडाका स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरिनेछ। तर, पहिलो दिनको चाप हेर्दा वडामा नपुग्ने सम्भावना बढेको खरेलले बताइन्। ‘यस विषयमा नगरपालिकासँग छलफल गर्छौं’, उनले भनिन्।
खोपको महत्व सबैले बुझेकाले उत्साहजनक सहभागिता देखिएको स्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोख्रेलले बताए। ‘खोप लगाएकाहरूलाई अहिलेको संक्रमणले खासै प्रभाव पारेन। कसैलाई लागे पनि लक्षण देखिएन’, पोख्रेलले भने, ‘खोप लगाउँदा विभिन्न समस्या हुन्छ भन्ने त्राश पनि हटेको पाइयो।’ कोरोनाको दोस्रो लहर ताप्लेजुङमा गाउँ–गाउँसम्म फैलिरहेको, युवावस्थाकै व्यक्तिको कोरोनाका कराण मृत्यु भएको र अर्को लहरसमेत आउने हल्लाका कारण पनि स्थानीयमा खोपप्रतिको आकर्षण बढेको हुनसक्ने पोख्रेलको भनाइ छ।
नगरपालिका पछि जेठ ३० गते सबै पालिकाअन्तर्गतका खोप केन्द्रबाट खोप लगाइनेछ। चीनले अनुदानमा दिएको खोप ताप्लेजुङमा लगाउन सुरु गरिएको हो। ताप्लेजुङमा १ हजार ८ सय ५१ जनालाई पुग्ने गरी खोप आएको छ। पहिलो र दोस्रो चरणमा छुटेका ५५ वर्षमाथिका नागरिक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अग्रभागमा कार्यरत कर्मचारीले उक्त खोप पाउनेछन्।
सरकारले चीनसँग सीमा जोडिएका स्थानीय तहका १८ वर्ष उमेरमाथिका सबैलाई यही खोप दिने सम्झौता गरेको छ। सोअनुसार खोप भने नपुग्ने भएको हो। कार्यालयका सूचना अधिकारी हेमराज कठायतका अनुसार यहाँको फक्ताङ्लुङ गाउँपालिकाले चीनको सीमालाई छोएको छ। त्यहाँका १ हजार २ सय ६४ जनाले कोभिसिल्ड लगाएका छन्। सो खोप लगाउन लक्ष्य गरिएका ८ हजार ६० जनामध्ये अब ६ हजार ७ सय ९६ जनालाई खोप लगाउनुपर्ने हुन्छ। सो मात्रा अपुग भएपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा थप खोपको मात्रा माग गरिएको कठायतले बताए।