रामेछापका जनप्रतिनिधि भन्छन् : ‘विकास निर्माण पछि गरौंला, जनता बचाउन खोप चाहियो’

रामेछापका जनप्रतिनिधि भन्छन् : ‘विकास निर्माण पछि गरौंला, जनता बचाउन खोप चाहियो’

काठमाडौं : रामेछापमा जनप्रतिनिधिले कोभिड–१९ विरुद्धको खोप सबै जनतालाई सुनिश्चित हुने गरी कार्ययोजना आउनुपर्ने बताएका छन्। रामेछाप-काठमाडौं पत्रकार समाजले शुक्रबार गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि खोपको प्रभावकारीता देखिएकोले पहिलो प्राथमिकता खोप भएको उल्लेख गरेका हुन्।

स्थानीय सरकारले कोभिड नियन्त्रणका लागि आइसोलेसन तयार गरेका छन्। तर बेडअनुसार अक्सिजन, औषधि, स्वास्थ्यकर्मीलगायतका सुविधाका लागि प्रदेश र केन्द्र सरकारकै भर पर्नुपर्दा समस्या भएको जनप्रतिनिधिको गुनासो छ। कम बजेट हुँदा रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले गरेको तयारीले मात्रै नपुग्ने उनीहरुको भनाई छ।

खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम तामाङले सबैले कोरोना भाइरसबाट बच्न अनिवार्य खोप लगाउनुपर्नेमा जोड दिए। उनले पालिकाबाट आफूले खोपका लागि संघीय सरकार र प्रदेश सरकारसँग पहल गरिरहेको जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालय, संघीय सरकार, प्रदेश सरकारलाई पनि पत्र पठाएका छु । भौतिक निर्माण पछि गरौंला, हामी अहिले विकासभन्दा पनि जनता बचाउनुपर्छ भन्ने उद्देश्यले अघि बढिरहेका छौँ।’तामाङले भने, ‘पहिले मानिस बचाउनुपर्ने भएकाले बरु पालिकामा बजेट पठाउनुपर्दैन खोप पठाए हुन्छ। कित पालिकालाई नै खोप खरिदका लागि अनुमति दिनुपर्छ खाडाँदेवी गाउँपालिका आफैँले केन्द्र र प्रदेशबाट आएको बजेटबाट खोप खरिद गरेर जनतालाई खोप लगाउछौँ ।’ उनले सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्नुको विकल्प नभएकाले सबैले यहि भर्सन लिएर अगाडि बढ्नुपर्ने धारणा राखे।

पहिलो चरणमा ५५ वर्ष माथिका उमेरसमूहमा खोप लगाउन खोज्दा केही मानिस खोप लगाउन डराएकाले खोप फिर्ता गर्नू परेको गुनासो गरे। तामाङले भने,‘तर अहिले खोप लगाउन धेरै इच्छुक हुनुहुन्छ तर खोप पर्याप्त मात्रा आएको छैन।’भेरोसेलको पहिलो डोज लगाएको १ महिनाभित्रै दोस्रो लगाउनुपर्ने भएकाले खोपको संख्या मा हुँदा थप समस्या भएको बताए।

उनले गाउँपालिकाका युवा, समाजसेवी र प्रहरीसहितको टीमले पालिकाभित्रका ९ वटै वडामा परिचालन गरी कोरोना महामारीमा बच्न सचेतना फैलाउने काम गरेको बताए। उनले सुरुवाती चरणमा कोरोना फैलिएपनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, प्रहरी र स्थानीयको सहयोगले महामारी नियन्त्रण गर्नमा सहयोग पुगेको जानकारी दिए। ‘अहिले पूर्णरुपमा नियन्त्रण भएको त भन्न सकिन्न।’तामाङ भने,‘४, ७ र ८ वडामा बढी संक्रमण भएको र वडा १ र ६ मा अहिलेसम्म सुरक्षित रहेको छ।’

गाउँपालिकाले गाउँ कार्यपालिका भवन नजिकै हाटेचौरमा आइसोलेसन कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको उनले बताए। उनले कोरोना संक्रमण भए नभएको स्वाब संकलनका लागि आवश्यक किट पर्याप्त रहेको र थप आवश्यकताको लागि स्वास्थ्य कार्यालयमा समन्वय भइरहेको जानकारी दिए। परीक्षणको दायरा फराकिलो बनाउनुपर्छ, जाँच्न पर्छ भनेर वडा र बस्तीमा गएर परीक्षण गर्न खोज्दा लक्षण देखिएका बिरामीसमेत डराएर भाग्ने गरेको अनुभव तामाङले सुनाए।

उनले १८ करोड लगानीमा १५ शैय्याको पालिकास्तरिय अस्पताल निर्माणको प्रक्रिया सुरु भइसकेको बताए। गाउँपालिकाभित्र अहिले ६३ जना स्वास्थ्यकर्मी रहेकोले उनीहरुलाई अगाडि पनि केहि प्रतिशत छुट्याएर भत्ताको व्यवस्था गरेको र यस पटकपनि भत्ताको व्यवस्था गर्ने तामाङले बताए। उनले दरबन्दी नभएकाले पालिकाले करारमा स्वास्थ्यकर्मी राखेर भएपनि उपचारमा ध्यान दिने धारणा राखे।

उनले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रले प्राथमिकता पाउने स्पष्ट पारे। उनले बेरोजगार युवाका लागि रोजगारी दिन ५ वर्षभित्र फिर्ता गर्ने शर्तमा ५० प्रतिशत गाउँपालिकाले लगानी गरिदिने गरी कार्यक्रम रहेको जानकारी दिए। उनले भने,‘पाँच लाख लगानी गर्नुहुन्छ भने २ लाख पचास हजार र १० लाखको लगानी गर्ने प्रस्ताव भए ५ लाख गाउँपालिकाले बैंक, सहकारीमार्फत अनुदान दिने छ तर लगानी गरेको एकवर्ष किस्तामा रकम फिर्ता गर्नुपर्छ।’ स्थानीय किसानले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउन नसकेको खण्डमा गाउँपालिकाले सहजीकरण गरिदिने उनको भनाई छ।

स्वास्थ्य, शिक्षा र रोजगारलाई प्राथमिकता

गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले देशबाहिर र काठमाडौंलगायतका शहरबाट आएकालाई क्वारेन्टाइनमा राखेकाले संक्रमण फैलन नपाएको जानकारी दिए। उनले देवाली,पुजा र बिहे लगाएतका कामले संक्रमण फैलिएपनि जनप्रतिनिधि, स्वास्थ्यकर्मी निरन्तर खटेर संक्रमणको जोखिम कम गरेको बताए। उनले भने,‘हाम्रो कारणले गाउँपालिकामा संक्रमण बढेको छैन। २४ घण्टा नै फ्रन्टलाइनर नियन्त्रणमा खटेका छन्। विभिन्न संघसंस्थासँग सहयोगको आह्वान गरिरहेको र कतिपयले सहयोग गरिरहनुभएको छ। गाउँपालिका आफैँले एन्टिजेन्ट किट खरिद गरेर जनातालाई निशुल्क उपचार गरिरहेका छौं।’

अवस्था सामान्य रहेका संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा, लक्षण देखिएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा र जटिल समस्या देखिएका बिरामीलाई रेफर गरेर अन्य अस्पतालमा पठाउने गरी व्यवस्था मिलाइएको उनले बताए ।  सिमानाकामा हेल्थ डेक्सको स्थापना, जनचेतनामूलक कार्यक्रम लगायतका कार्यहरू सञ्चालन गरि कोरोना नियन्त्रण तथा रोकथाममा अग्रसर भएको उनको भनाई छ।
सुनुवारले स्वास्थ्यमर्मीलाई स्थानीय जोखिम भत्ता उपलब्ध गराउने निर्णयसमेत गरिसकेको जानकारी दिए। 

उनले आगामी वर्षको बजेट स्वास्थ्य, शिक्षा र रोजगार गरी तीन क्षेत्रलाई प्राथमिकता दिने बताए। उनले भने,‘कोरोना महामारीको कारण स्वास्थ्य, शिक्षा र रोजगारको अवस्था कमजोर भएकाले यसलाई लक्षित गरेर दायरा फराकिलो बनाउने छौं ।’

उनले गोकुलगंगाले स्थानीय पाठ्यक्रम जारी गरिसकेकाले सोही अनुसार कृषि उत्पादन र पालिकाको विकास गर्न लाग्ने बताए। उनले गाउँपालिकामा इन्टरनेटको पहुँच नभएकाले भर्चुअलमार्फतका कक्षा र रेडियो लगायतमार्फतका कक्षा संचालन प्रभावकारी नभएकाले विद्यालयमा भौतिक दुरी कायम गरेर पठनपाठन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने‘दुरी कायम गर्ने, गाउँपालिकाबाट विद्यालयमा मास्क र स्यानिटाइजर उपलब्ध गराएर वा कक्षा सिफ्ट गरेर संचालन हुन सक्छ।’

उनले साउन पछाडि बोलपत्र गरेर अस्पतालका लागि नयाँ भवनको निर्माण गर्ने बताए। उनले आगामी आर्थिक वर्ष आइसियू बेड लगायत स्वास्थ्य पूर्वाधार थप गरेर आउन सक्ने महामारी नियन्त्रणको प्रयास गर्ने बताए। अहिले संक्रमण देखिएका अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको भएपनि तेस्रो लहर आउनु अगावै पूर्वतयारीमा जुटिरहेको बताए। आइसोलेसनमा अक्सिजन, औषधी लगायतको सबै व्यवस्था मिलाएको उनले बताए।

कोरोनाविरुद्ध लड्न केन्द्र सरकारले सहयोग गरेन

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विपद्कोषमा ६० लाख रुपैयाँ जगेडा राखिएको जानकारी दिए। उनले संघले १० लाख दिनेभनेपनि हालसम्म नपाएको र प्रदेश सरकारले भर्खरै ५ लाख रुपैयाँ उपलब्ध गराएको बताए। उनले भने,‘संघ सरकारले अहिलेसम्म कुनै सहयोग गरेको छैन, तर काठमाडौं लगायतका विभिन्न स्थानका संघ संस्थाको सहयोग भने भएको छ।’

कोरोना संक्रमितको लागि दुई स्थानमा ३२ वटा आइसोलेसन वेड चलाइरहेको जानकारी दिए। उनले टोलटोलमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालित गरेको संक्रमण फैलन नदिएको बताए। योभन्दा पहिला पनि भत्ता दिएका थियौं तर थोरै भएको गुनासो गरेको बताउँदै लामाले गाउँकार्यपालिकाको बैठकको निर्णय गरेर ५० प्रतिशत बढाउने निर्णय गरेर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराइएको बताए।

उनले गाउँपालिकामा ५ वटा वडामा ५ वटै एम्बुलेन्सले बिरामीको ओसारपसारमा गरिरहेको बताए। दीर्घ रोगीलाई औषधी आवश्यक भएमा नाम/बील पठाएको खण्डमा घरघरमै औषधी पुर्‍याउने व्यवस्था गरिएको लामाको भनाई छ। नागरिकको जीवन बचाउनु अहिलेको प्राथमिकता भएकाले विकास निर्माण लगाएत अहिले सबै कुरा छाडेर आफूहरुको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित भएको अध्यक्ष लामाको भनाई छ।

लामाले आगामी बजेटमा कोरोना संक्रमण नियन्त्रणलाई विशेष प्राथमिकतामा राख्ने बताए। नागरिकको सहयोग र परीक्षणको मात्रा बढ्यो भने महामारी नियन्त्रण छिट्टै गर्न सकिने उनको तर्क छ। कार्यक्रममा रामेछाप जिल्ला र काठमाडौं कार्यक्षेत्र बनाएका बनाएका पत्रकारहरुको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.