‘अध्यक्षज्यू, म बिरामी भएँ’

‘अध्यक्षज्यू, म बिरामी भएँ’

दमौली : बिहानको पाँच नबज्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाको फोन बज्यो। नचिनेको नम्बर भए पनि उनले बिहानै आएको त्यो फोन उठाइहाले। कोरोनाको लक्षण देखिएकाले परीक्षणका लागि अस्पताल ल्याउनुपर्ने बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स  तयार नभएपछि उनलाई फोन गरिएको रहेछ। 

यो पोहोर सालको घटना थियो, जतिखेर कोरोना संक्रमण भर्खर फैलँदो अवस्थामा थियो। ‘बिरामीलाई घरमा राख्नु पनि भएन। फेरि त्योबेला होम आइसोलेसनको व्यवस्था पनि थिएन,’ थापा त्यो दिन सम्झन्छन्, ‘अब बिरामीलाई त्यत्तिकै छाड्ने कुरा पनि भएन। अनि आफैं गाडी लिएर बिरामी ल्याएँ।’

थापाले गाउँपालिकाको सवारी चलाउँदा अरू डराउने ठान्दै आफ्नै निजी सवारीमा बिरामीलाई अस्पताल लगे।

यो त एउटा घटना मात्र थियो। गाउँपालिका अध्यक्ष थापासँग कोरोना संक्रमण सुरु हुन थालेदेखि यसरी बिरामी बोकेका कैयौं उदाहरण सम्झनामा छन्। केही दिनअघि पनि त्यस्तै भयो। ‘गाउँपालिकाको एम्बुलेन्स स्वाब बोकेर पोखरा गएको थियो,’ उनले भने, ‘एक संक्रमितलाई गाह्रो भएकाले अस्पताल लैजानुपर्ने खबर आयो। धेरैतिर फोन गर्दा पनि एम्बुलेन्स नपाएपछि आफैं गाडी लिएर पुगें।’ उनले आफ्नै निजी साधनमा बिरामीलाई बन्दीपुर अस्पतालको कोभिड वार्डमा पुर्‍याए।

आफैं जाँच्छन् बिरामी
नेपालमा आफैं बिरामी जाँच्ने जनप्रतिनिधि कमै होलान्। थापा भने धेरैजसो बिरामीको जाँच आफैं गर्छन्। ‘अहिलेसम्म तीन सयभन्दा बढी बिरामीको जाँच गरे हुँला,’ उनी भन्छन्, ‘अहिले पनि दिनहुँ त्यस्ता बिरामी जाँच्नुपर्छ।’

गाउँपालिका अध्यक्ष हुनुअघि थापा बन्दीपुर क्षेत्रका चर्चित स्वास्थ्य व्यवसायी थिए। उनको स्वामित्वमा रहेको मोती पोलिक्लिनिक धेरै बिरामी पुग्नेमा पर्छ। अहेबसम्मको अध्ययन गरेका उनले गाउँपालिकाको कामका बेला पनि बिरामी जाँची दिने गर्छन्। अझ तिनमा संक्रमित वा संक्रमणको आशंका भएका बढी पर्छन्। ‘बिहान निजी क्लिनिकमा त व्यवसाय नै भयो,’ उनी भन्छन्, ‘गाउँपालिकाको काममा जाँदा पनि धेरैको जाँच गर्नुपर्छ।’

स्वास्थ्य व्यवसायीको उनको पहिचान त छँदै थियो, गाउँपालिका अध्यक्ष पनि भएकाले बिरामीले पनि उनकै विश्वास गर्छन्। ‘शायद यो मैले आर्जन गरेको सम्पत्ति हो,’ थापा भन्छन्, ‘डाक्टर लिएर जाँदा पनि मैतिर बिरामी अघि सरेपछि नजाँची धरै भएन।’

थापाबाटै आइसोलेसनमा उपचार लिइरहेका एक संक्रमित सहजताका हिसाबले पनि अध्यक्षबाट उपचार लिएको बताउँछन्। ‘डाक्टरहरू जाँच्न पनि डराउँछन्,’ उनले भने, ‘तर अध्यक्षले धक नमानी जाँची दिँदा हामीलाई धेरै बिरामी निको भएको जस्तो हुन्छ।’

संक्रमित भेट्न घरघरै 
अध्यक्ष थापाले होम आइसोलेसनको अवधारणा सुरु गरेयता घरमै गएर बिरामीको अवस्था बुझ्न थालेका छन्। ‘सबै संक्रमितको घरमा पुगेर औषधि भए नभएको बुुझ्ने गरेको छु,’ उनी भन्छन्, ‘अनि आफैंले पनि ज्वरो नाप्ने र औषधि हेर्ने गरेको छु।’ 

चिकित्सक साथमै लिएर गए पनि नागरिकप्रतिको जिम्मेवारी र उनीहरूको विश्वासका कारण आफैं अघि सर्ने उनले बताए। थापाको अनुभवमा यसरी आफैंले जाँची दिंदा र हालखबर सोधी दिँदा धेरैको आत्मविश्वास बढ्ने गरेको छ। ‘त्यही भएर म सकेसम्म सबैकहाँ जाने गरेको छु,’ उनले भने । 

घरमै ९ संक्रमित थापाको बिरामी मोह परिवारभन्दा बढ्ता छ। अहिले उनका घरका नौजना सदस्य संक्रमित भएर आइसोलेसनमा छन्। यस्तो बेला उनी भने अरू संक्रमितको हालखबर सोध्दै हिँड्न व्यस्त देखिन्छन्। ‘घरका त धेरै स्वास्थ्यकर्मी हुुनुहुन्छ,’ उनले भने, ‘तर स्वास्थ्यकर्मी पुग्न नसकेका अनि आत्तिएको घरमा पुगेर ढाडस दिन पाउँदा शान्ति मिल्छ।’ त्यसैले पनि उनी हरेक दिन होम आइसोलेसन तथा बन्दीपुर अस्पतालको कोभिड वार्डमा रहेका बिरामीकहाँ फलफूल अनि औषधि लिएर पुगिरहन्छन्।

खोप नै समाधान 
स्वास्थ्यकर्मीसमेत रहेर कोभिड व्यवस्थापनमा खटेको अनुभवका आधारमा थापा बन्दीपुर अस्पतालको क्षमता विस्तारमा लागेका छन्। १५ शय्याबाट ५० पुर्‍याउन उनले सोच बनाएका छन्। कोभिड वार्ड अहिले ३० पुगेकामा त्यसलाई पनि बढाउने उनको सोच छ। 

आफ्नो अनुभवका आधारमा थापा सरकारलाई पीसीआर जाँच्नभन्दा खोपको आपूर्ति बढाउन जोड दिन्छन्। ‘पोहोरभन्दा झनै संक्रमण फैलिरहेको छ,’ उनी भन्छन्, ‘पीसीआर जाँच्ने कुरामा श्रम लगाउनुभन्दा नागरिकलाई खोप दिन सरकारको ध्यान जाने हो भने क्षति र धन दुवै जोगिन्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.