पछि हट्यो आयोजना
![पछि हट्यो आयोजना](https://annapurnapost.prixacdn.net/media/albums/development_20210616043451_lBBgYj6lKK.jpg)
राजविराज : बर्सेनि खाँडो नदीको बाढीबाट सप्तरीले जनधनको क्षति खेप्दै आएको छ। सप्तरीको दक्षिणी भेगका आधा दर्जन बढी गाउँमा वर्षा नजिकिएसँगै डुबानको खतरा बढेको छ। मनसुन सुरु भएलगत्तै खाँडो नदी छेउछाउ बस्ने मानिसहरू सम्भावित बाढीले त्रसित बनेका छन्।
आउने बर्खामा पनि बाढी र डुबानको खतरा रहेको नेपाल र भारतका उच्च अधिकारीहरूले बताएका छन्। जलवायु तथा मौसम विज्ञान विभागले अन्य वर्षहरूभन्दा यो वर्ष बढी वर्षा हुने र लामो समय रहने जनाएको छ। विगत वर्षभन्दा यो वर्षको स्थिति झनै जटिल हुने जनाएको खाँडो नदी व्यवस्थापन आयोजनाले भने यो वर्ष आपत्कालीन नदी नियन्त्रण कार्य नगर्ने भन्दै हात उठाएको छ। मनसुन सुरु हुन लागेका बेला आयोजनाले आपत्कालीन नदी नियन्त्रण कार्य गर्न नसक्ने जनाएको हो। बाढीजन्य प्रकोपबाट जोगिन सम्बन्धित निकाय स्वयं तयार हुनुपर्ने भन्दै आयोजनाले सतर्क पनि गराएको छ।
खाँडो नदी नियन्त्रणतर्फ बजेट नछुट्ट्याएको भन्दै आयोजनाले आपत्कालीन नियन्त्रण कार्य गर्न असमर्थता जनाएको हो। आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्ट्याइएकाले बाढीजन्य विपद् व्यवस्थापन कार्य गर्न नसकिने आयोजनाका कार्यालय प्रमुख रेवाकान्त यादवले बताए। उनले सबै स्थानीय तहलाई यसबारे पत्राचारसमेत गरेका छन्। कोभिड–१९ बाट हरेक क्षेत्र प्रभावित भएको र सबैभन्दा बढी जोखिममा रहेको नेपाल–भारत सीमा क्षेत्र वर्षासँगै डुबानको जोखिममा परेको स्थानीय देवनारायण यादवले बताए। दुई देशका पदाधिकारीको निरीक्षण, अनुगमन, बैठक निरन्तर भए पनि खाँडो नदी नियन्त्रणको काम हुन नसकेकाले डुबानको जोखिम उच्च रहदै आएको छ। आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट व्यवस्थापन हुन नसक्दा यो वर्ष जोखिमको जटिलता झनै बढेको आयोजना प्रमुख यादवले बताए।
प्रत्येक वर्षायाममा सप्तरीवासीको दक्षिणी भेगलाई डुबाउँदै आएको खाँडो नदीको बहावको निकास जरुरी रहेको भारतीय पक्षले समेत स्वीकारेको विषय हो। कमला, बागमती र लालबकैया नदी नियन्त्रणको काम सकिएपछि ध्यान दिइने भने पनि भारतीय पक्षले चासो नदिँदा खाँडो नदी नियन्त्रणको काम भएको छैन।
उदयपुरको चुरे क्षेत्र उद्गमस्थल भएको त्रियुगासहित अन्य नदीनाला खाँडोमा आएर मिसिएपछि पानी चारैतिर फैलिने हुन्छ। जसले गर्दा बर्खायाममा भारतको कुनौली र नेपालको तिलाठी कोइलाडी गाउँपालिकासहित राजविराज नगरपालिका र रूपनी गाउँपालिकाका बस्ती बाढीले डुबान हुने गरेको छ। खाँडो नदीले वहाव क्षेत्र भई बग्न नपाएपछि बढी बालुवा थुप्रिन गई बस्तीभन्दा बहावस्थल अग्लो हुन गएपछि बर्खाको भेल गाउँबस्तीमा पुग्ने गरेको छ।
हरेक वर्ष खाँडो नदीको बाढीले नदी किनार कटान गरी जग्गा बगरमा परिणत गर्ने तथा नदी किनारका गाउँबस्ती र बजार प्रवेश गरी ठूलो धनजनको क्षति गर्दै आएको छ। असारदेखि भदौ महिनासम्म हुने भारी वर्षाका कारण खाँडो नदीमा आउने बाढीले सो समयमा गाउँबस्ती डुबानमा पर्दा सयौं नागरिक विस्थापन हुँदै आएका छन्। चुरे क्षेत्रबाट राजमार्ग हुँदै बग्ने खाँडो खोलाले वर्षामा रूपनी गाउँपालिकाका दुई, राजविराज नगरपालिकाका चार र तिलाठी कोइलाडी गाउँपालिकाका चारवटा वडा पूर्ण प्रभावित हुने गरेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए।
दुई देशका अधिकारीले बारम्बार संयुक्त निरीक्षण, भ्रमण, अनुगमन, बैठक गरे पनि काम अगाडि नबढ्दा डुबानको खतरा टड्कारो रहेका बेला आपत्कालीन नियन्त्रण कार्यसमेत नहुने भएपछि यो वर्ष झनै विपद्को सामना गर्नुपर्ने तिलाठीका सुनील मिश्र बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)