मनोज गजुरेल सिरीजङ्घाका ‘सद्भावना पर्यटन दूत’
ताप्लेजुङ : चर्चित हास्यकलाकार मनोज गजुरेललाई ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले सद्भावना पर्यटन दूत नियुक्त गरेको छ। बिहीबार सम्पन्न नवौं गाउँसभाले गजुरेललाई ‘सिरीजङ्घाको छोरो’ उपमाले समेत सम्मान गर्ने निर्णय गरेको हो।
गजुरेल सिरीजङ्घाको ६ नं वडा मामाङ्खेमा जन्मिएका हुन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्र लगायत विभिन्न पर्यटकिय क्षेत्रको प्रवर्द्धन गरी पर्यटक भित्र्याउने लक्ष्य अनुरुप कलाकार गजुरेललाई पर्यटन दूत नियुक्त गरिएको गाउँपालिका प्रमुख टिकाराम गुरुङले बताए।
कञ्चनजङ्घा हिमाल गाउँपालिकाको ८ नं वडा याम्फुदिनमा अवस्थित छ। गजुरेलको सक्रियताले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा उल्लेख्य उपलब्धि हासिल हुने प्रतिनिधिसभा सदस्य योगेश भट्टराई बताउँछन्।
साथै याम्फुदिनको आम्जी खोलाबाट चेइराम हुँदै कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म सासिक पदमार्ग निर्माण आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत सन्तोस घिमिरेले बताए। उक्त पालिकाले गत वर्षदेखि नै ‘सिरीजङ्घाको गौरव कञ्चनजंघा’ नामक अभियान सञ्चालन गरिरहेको छ।