परिवार खेत गएका बेला बालकको मृत्यु
राजविराज : बिहान नास्ता खाएर राजविराज–१० कमलपुरका शिवनन्दन खंग नाबालक दुई छोरालाई घरमा छाडेर सपरिवार खेत निस्किए ।
खेत पानीले हिलाम्मे पारेर असार १५ गतेको रोपाइँका लागि तयार पारिएको थियो । धान दिवसका अवसरमा जताततै रोपाइँ उत्सव चलिरहेको छ । रोपाइँ सकेको खुसीयालीमा जताततै भोजस्वरुप दही र चिउरा खाइरहेका छन् । हिलो छ्यापाछ्याप गरिरहेका छन् ।
खेतमा काम गरिरहेका बेला दिउँसो साढे १ बजे शिवनन्दनले ६ वर्षीय छोरा सचिन्द्र भनिने अनुजकुमार खंगलाई घरमा करेन्ट लागेको भन्ने खबर सुने । परिवारका ठूला मानिसहरु धान रोप्न खेत गएको बेला घरमा ६ वर्षीय अनुज र उनका भाइ ४ वर्षीय सुशान्त खेलिरहेका थिए ।
घरमै खेलिरहेका जेठा छोरा अनुजलाई घरको पश्चिम रहेको बिजुलीको नाङ्गो तारमा करेन्ट लागेको स्थानीय गाउँलेहरुले सुनाए । गाउँलेले करेन्ट लागेको थाहा पाएर होहल्ला गर्दै तत्कालै बिजुलीको लाइन काटेर बालकलाई छुटाए ।
खेतबाट हतारिएर आएका शिवनन्दनले छोरालाई अचेत पाएपछि उनको मनमा चिसो पस्यो । उनलाई तुरुन्तै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइयो । अस्पतालका चिकित्सकले बालकलाई चेकजाँच गरी मृत घोषणा गरेको मृतकका हजुरबुवा बलराम खंगले बताए ।
‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा सिंगो मुलुक रमाएको छ’, स्थानीय अर्जुन खंगले भने, ‘अकल्पनीय घटनाले हाम्रो सिंगो गाउँलाई भने शोकमग्न बनायो ।’
नाबालक छोरालाई घरमा एक्लै छाडेर जानु ठूलो भूल भयो भन्दै शिवनन्दनले पश्चाताप गरे । यो असह्य घटना जीवनभरीका लागि बोझ भएको भन्दै शिवनन्दनले बिलौना गरे । आफू मर्ने बेलामा नातीको मृत्यु देख्नु परेकोमा बलराम भक्कानिएर बर्बरी आँशुहरू बगाउँदै रुन थाले । यति छिटो यो घटना भोग्नु पर्दा आफूलाई सपना जस्तो लागेको उनले बताए ।