'हिट डोम' का कारण अमेरिका र क्यानडामा अत्यधिक गर्मी

'हिट डोम' का कारण अमेरिका र क्यानडामा अत्यधिक गर्मी

'अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडा इतिहासकै सबैभन्दा उखरमाउलो गर्मीको केन्द्रविन्दु बनेको छ,' मौसमविद् स्कट डन्कन भन्छन्। 'मध्य दिन हुनुअघि सर्वाधिक तापक्रमको कीर्तिमान तोडिएका छन्। भोलि झन् गर्मी। पर्सी अझै गर्मी... मैले जे देखिरहेको छु त्यो विश्वास गर्न सकिरहेको छैन,' उनले आफ्नो ट्विटरमा लेखेका छन्।

अमेरिकाको उत्तरपश्चिम प्रशान्त महासागरीय तट र क्यानडाको तापक्रमको ग्राफ यसअघिका सर्वाधिक गर्मीको कीर्तिमान तोड्दै उकालो लागेको छ। शनिवार सिआटलको तापक्रम ३८ डीग्री सेल्सीअस थियो। जुन महिनामा यसअघि त्यति तापक्रप कहिल्यै नापिएको थिएन। अमेरिकाको 'न्याश्नल वेदर सर्भिस'ले वाशिङटन, ओरेगन, क्यालिफोर्निया र आईडाहो राज्यमा गर्मीबारे चेतावनी जारी गरेको छ।

क्यानडामा पनि अहिलेसम्मकै बढी तापक्रम नापिएको छ। लेट्टनमा आइतवारको तापक्रम ४६.६ डीग्री सेल्सीअस थियो। यसले ८४ वर्ष पुरानो कीर्तिमान भङ्ग गर्यो। ती स्थानहरूमा सामान्यतया तापक्रम उच्च नहुने भएका कारण घरहरू वातानुकूलित नभएको बताइन्छ। 

धेरै मानिसहरू गर्मीबाट बच्न पौडी पोखरी, समुद्र किनार, नदी, सडकका पानीका फोहरा र होटलहरूमा जम्मा भएका छन्। केही सहरहरूमा नागरिकका लागि वातानुकूलित वासस्थानको व्यवस्था गरिएको छ। यसरी तापक्रम उच्च हुनुको कारण 'हिट डोम' भनिने मौसमी अवस्था भएको बताइएको छ। “हिट डोम“ आकाशमा धेरै तातो हावा माथि उठ्दा निश्चित क्षेत्रलाई त्यसले पर्वत आकारको घेरा बनाइ ढाक्ने अवस्थालाई भनिन्छ। अन्य अवस्थामा तापक्रम बढ्दा तातो हावाको पातलो तह हुने भए पनि 'हिट डोम'को अवस्थामा तातो हावाको बाक्लो तहले प्रभावित क्षेत्रमा हावाको दबाव र बहावमा प्रभाव पार्न सक्ने बताइन्छ।

बीबीसीका निक मिलरका अनुसार 'हिट डोम'ले पकाउने भाँडामा बिर्को लगाएको जस्तो काम गर्छ। जति समय उच्च दबाव रहन्छ उति नै तापक्रम बढ्ने क्रम जारी रहन्छ। अहिले त्यहाँको उच्च दबाव क्षेत्र आकारमा विशाल रहेको र क्यालिफोर्नियादेखि क्यानडाको आर्कटिक क्षेत्रसम्म फैलिएको बताइएको छ।

यो 'हिट डोम'ले समुद्रमाथिको चिसो हावाको बहावलाई रोकेको बताइएको छ।स्थास्थ्य चेतावनी जारी गरिएको भए पनि धेरैलाई घमाइलो दिन र सफा आकाशले रमाइलो पनि दिएको छ। तर बालबालिका, बिरामी र वृद्धहरूलाई असहज भएको छ।

अमेरिकामा विद्यालयहरू र कोभिड परीक्षण केन्द्रहरू बन्द गरिएका छन् भने ओलिम्पिक्स एथ्लेटिक्स छनौट प्रतियोगिता स्थगन गरिएको छ। त्यहाँको तापक्रम अझै केही दिन बढ्न सक्ने बताइएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.