अरनिको राजमार्ग अब भक्तपुर प्रहरीको निगरानीमा

अरनिको राजमार्ग अब भक्तपुर प्रहरीको निगरानीमा

भक्तपुर : अरनिको राजमार्गको भक्तपुर खण्ड अब नेपाल प्रहरीको २४ सै घन्टा निगरानीमा रहने भएको छ।

राजमार्गको भक्तपुर–काठमाडौंको सीमा नदी मनहरादेखि काभ्रेको सीमा नजिक पलासेंसम्म करिब १३ किलोमिटर सडक प्रहरीको २४ सै घन्टा निगरानीमा रहने भएको हो।

यसको लागि महानगरीय प्रहरी परिसर भक्तपुरको पहलमा ५२ सीसीटीभी क्यामेरा जडान गरिएको छ। यी क्यामेराको कन्ट्रोल महानगरीय प्रहरी परिसर भक्तपुरमा रहेको सीसीटीभी रुमबाट हुने गर्छ। 

जडान गरिएका सीसीटीभी क्यामेरामध्ये ७ वटा पीटी जेट रहेका छन्। जुन ३६ इन्चसम्म जुम गर्न मिल्ने र नाइटभिजनसमेत रहेको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन्। फूल एचडी क्वालिटीको उक्त क्यामेरा ४ मेगापिक्सेलको रहेका छन्।

त्यस्तै ४५ वटा सीसीटीभी क्यामेरा भने फिक्स्ड बुलेट हुन्। यी क्यामेरा आठ मेगा पिक्सेलका हुन्, जुन फूल एचडी क्वालिटीका छन्।

यही क्वालिटीका थप १२ वटा सीसीटीभी क्यामेरा भने महानगरीय प्रहरी परिसर भक्तपुरको प्रांगणमा जडान गरिएको प्रहरी उपरीक्षक थापाले बताइन्।
कूल ६४ वटा सीसीटीभी क्यामेराले खिचेका दृश्य फोरके क्वालिटीमा रेकर्ड हुने इञ्जिनियर मेन्सन लाखेमरु बताउँछन्। ६४ वटा सीसीटीभीले कैद गरेका दृश्य ६ वटा मनिटरमा डिस्प्ले हुनेछन्।

यी सीसीटीभी जडान गर्न भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठको अध्यक्षतामा भक्तपुर जिल्ला सीसीटीभी जडान समिति नै गठन गरिएको थियो। सोही समितिले जिल्लास्थित उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संघसंस्थाबाट ८१ लाख रुपैयाँ आर्थिक संकलन गरेको थियो। जसमध्ये ६४ वटा सीसीटीभी जडानलगायत सम्पूर्ण कार्य गर्न ६२ लाख ५६ हजार रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष नवीन प्रजापतिले जानकारी दिए।

उनले बाँकी रकमको समेत आवश्यकताअनुसार जिल्ला अन्य क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिने स्पष्ट पारे।

अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डमा हुने सडक दुर्घटनाको अनुसन्धान प्रभावित भएपछि सीसीटीभी क्यामेरा जडान गर्ने अभियान सञ्चालन गर्नुपरेको प्रहरी उपरीक्षक थापा बताउँछिन्।

‘अरनिको राजमार्गअन्तर्गत भक्तपुर सडक खण्डमा सीसीटीभी नहुँदा हिट एण्ड रनका धेरै घटना बढे। दुर्घटनामा व्यक्ति घाइते हुने र मृत्युसमेत हुने गरेका छन्’, उनले थपिन्, ‘तर घटना घटाउने सवारीसाधनको पहिचान नहुँदा पीडित र उनको परिवार उपचार खर्च र क्षतिपूर्तिबाट बञ्चित हुनुपरेको छ।’

यस्ता घटना धेरै भएकाले सडकलाई प्रहरीको निगरानीमा राखी अपराध अनुसन्धानमा पहुँच बढाउन सीसीटीभी जडान अभियान अगाडि बढाइएको प्रहरी उपरीक्षक थापाले स्पष्ट पारिन्।

‘सीसीटीभी जडानपछि अरनिको राजमार्गमा हुने सडक दुर्घटना र अन्य अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न सकिने विश्वास लिएका छौं’, उनले भनिन्, ‘यसले दुर्घटना गराउनेको पहिचानसँगै कानुनी अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कसुर ठहरिएअनुसार कारबाही गर्न सहयोग पुग्नेछ।’

नेपाल प्रहरीमा धेरै परिवर्तन आइसक्यो : एआईजी पाल
यसैबीच उक्त सीसीटीभी जडानको उद्घाटन गर्दै नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले प्रहरी धेरै सकारात्मक परिवर्तन आइसकेको दावी गरे।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखसमेत रहेका उनले नेपाल प्रहरीको सेवा जनमुखी र चुस्त भएको सुनाए। तर अझै केही आर्थिक अनियमितता तथा भ्रष्टाचारका घटनाले नेपाल प्रहरीको मान प्रतिष्ठामा आँच पुर्‍याइरहेको उनको भनाइ छ।

‘नेपाल प्रहरीमा धेरै सकारात्मक परिवर्तन आएको छ’, एआईजी पालले भने, ‘अझै सुधार्ने हाम्रो प्रयास रहेको छ।’

उनले अरनिको राजमार्गअन्तर्गत भक्तपुर खण्डमा जडान भएका सीसीटीभी क्यामेराले अपराध अनुसन्धानमा फाइदा पुग्ने सुनाए। सीसीटीभी नहुँदा अपराध अनुसन्धान प्रभावित हुँदै आएको उनले बताए।

निरन्तर मर्मत सम्भार : श्रेष्ठ
सीसीटीभी जडान समितिका संयोजक एवं भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले जडान भएका सीसीटीभी निरन्तर सञ्चालनको लागि छुट्टै मर्मतसम्भार समिति बनाइने बताए। सीसीटीभी जडान हुने तर नियमित मर्मतसम्भार नहुँदा ती सञ्चालनमा नआउने विगतका कमजोरीलाई यसपटक सच्याइने उनको भनाइ थियो।
उक्त सीसीटीभी क्यामेराको ३ वर्षसम्म मर्मतसम्भार भने जडान गर्ने कम्पनीले नै गर्नेछ। उक्त कम्पनीले सीसीटीभीका सामानको २ वर्षसम्म वारेन्टी दिएको छ।

जडान भएका सीसीटीभीको निरन्तर मर्मतसम्भार गर्न लाग्ने बजेटको लागि जिल्लास्थित उद्योगी व्यवसायी र बैंक तथा वित्तीय संघसंस्थाबाट मासिक रकम बचत गर्ने नीति लिइने परिसरकी प्रमुख प्रहरी उपरीक्षक थापाले बताइन्।

उनका अनुसार अहिले जडान भएका सीसीटीभी क्यामेराले भक्तपुर प्रहरीको काठमाडौं रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयमाथिको परनिर्भरतासमेत तोडिएको छ। कार्यालयअन्तर्गत अरनिको राजमार्गको भक्तपुर खण्डतर्फ सूर्यविनायकदेखि मनहरा खोलासम्म २३ वटा सीसीटीभी क्यामेरा रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.