चिनियाँ छलाङ

चिनियाँ छलाङ

- औद्योगिक क्रान्ति, युरोपेली र जापानी साम्राज्यहरूको विस्तार, अमेरिकाको उदय हुँदै बीसौं शताब्दीका दुई विश्वयुद्धसम्म आइपुग्दा संसार बिल्कुल अर्कै भइसकेको थियो। लामोसमयसम्म विश्वका प्रमुख अर्थतन्त्र रहेका भारत र चीनजस्ता देशले सामरिक शक्ति गुमाएर अर्काको उपनिवेश वा अर्धउपनिवेश मात्र बन्न पुगेका हैनन्, आर्थिक रूपमा धेरै कमजोर भइसकेका थिए। सन् १९४५ मा जापान चीन छोड्न बाध्य भयो भने सन् १९४७ मा बेलायत भारत छोड्न। साम्राज्यवादी मुलुक फर्किंदै भारत विभाजित हुन पुग्यो, चीनको हङकङ बेलायती र मकाओ पोर्चुगली अधीनमा रहिरहे। भारत टुक्रिएपछि पनि काश्मीर समस्या बाँकी नै छ, चीन अझसम्म ताइवान समस्या झेल्दैछ। यी समस्याका बाबजुद चीनले जुन शक्ति आर्जन गरेको छ, त्यसलाई लिएर विश्वमै धेरै विवेचना भएका छन्। यस लेखमा छिमेकीको नाताले नेपालीमा चीनको विकासक्रमप्रति जागेको चासोको उत्तर खोज्ने प्रयास गरिएको छ।

- सन् १९६० सम्मको चीनको आर्थिक आँकडा राम्ररी पाइँदैन। पाठकको जानकारीका लागि उपलब्ध आँकडाको आधारमा खासगरी सन् १९४९ मा कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता चीनले गरेको प्रगतिका केही झलक प्रस्तुत गरिन्छ। चिनियाँ पत्रिका ‘छ्यौश’ को २०१९ अक्टोबर १६ अंकमा च्वि ली लेख्छन्, सन् १९४९ मा ५४ करोड जनसंख्या भएको चिनियाँ अर्थतन्त्रले विश्वको ५ प्रतिशतभन्दा कम हिस्सा ओगटेको थियो, कूल राष्ट्रिय आम्दानी २३.९ अर्ब अमेरिकी डलर बराबर थियो, जुन प्रतिव्यक्ति ४४.२६ डलर हुन आउँछ। प्रतिव्यक्ति आम्दानीको हिसाबले यो अमेरिकाको १÷२०, बेलायतको १÷११, फ्रान्सको १÷६ हो। सन् १९५० सम्म पनि चीनको प्रतिव्यक्ति राष्ट्रिय आम्दानी भारतको भन्दा २०% कम थियो। अहिले चीनको अर्थतन्त्रले विश्वको १८.३४ प्रतिशत ओगट्छ, प्रतिव्यक्ति सरदर आय ११००० डलर छ, जुन झन्डै अमेरिकाको ६३२०० को १÷५, बेलायतको ४०४०६ र  फ्रान्सको ३९२३५ को १÷३ हो, भारत (१९६५) लाई उछिनेर झन्डै उसको ६ गुणा 
पुगेको छ। छोटोमा राख्दा, तेंग स्याओफिंगले भनेझैं सन् १९६० को दशकदेखि चीनसँग आणविक बम छ, मिसाइल छ, स्याटेलाइट प्रक्षेपण क्षमता छ (सन् १९७० मा सफलता हात लागेको थियो)। यिनको अभावमा चीन एउटा प्रभावशाली शक्तिराष्ट्र बन्ने थिएन र अन्तर्राष्ट्रिय मामलामा उसको बोली बिक्ने थिएन। तेंगको पालोपछि पनि चीनले धेरै फड्को मारेको छ। अहिलेसम्म आइपुग्दा चीनले कतिपय अन्तर्राष्ट्रिय मुद्दामा अडान लिन थालेको छ, बीआरआईजस्ता महत्त्वाकांक्षी बहुराष्ट्रिय योजना अघि बढाएको छ, कोरोना भाइरसलाई सफलतासाथ नियन्त्रण गरेको छ त्यसको खोप विकास गरेको छ। अन्तरिक्षमा एक्लै परीक्षण केन्द्र बनाउने, मंगल ग्रहमा मानवसहितको अनुसन्धान केन्द्र खोल्न योजना बनाउने, उज्यालोका लागि मानवनिर्मित चन्द्रमा बनाउने पहिलो देश बनेको छ। अर्थतन्त्र, उद्योग र व्यापारमा मात्र होइन, सैन्यशक्ति र आधुनिक प्रविधिमा पनि चीनले अमेरिकालाई उछिन्ने सम्भावना बढ्दै गएको छ।

- चिनियाँ पत्रिका ‘राष्ट्रिय व्यापार दैनिक’ ले मार्च २५ मा उल्लेख गरेअनुसार चीनको प्रतिव्यक्ति खाद्यान्न उत्पादन सन् १९४९ को २०९ किलोग्रामबाट २०१७ मा ४७४ किलोग्राम पुगेको छ, धान र गहुँमा आत्मनिर्भर भएको छ, विश्वको ९ प्रतिशतभन्दा कम कृषियोग्य जमिन ओगटेको चीनले २० प्रतिशत जनसंख्यालाई खाद्यान्न पुर्‍याएको छ। सन् १९७८ मा सुधार र खुलापन सुरु गर्दासम्म त्यस समयको परिभाषाअनुसार चीनको ९७.५ प्रतिशत ग्रामीण जनता अथवा ७७ करोड जनता गरिबीको रेखामुनि थिए भने अहिले सबै चिनियाँ गरिबीमुक्त भएका छन्। उनीहरूलाई तीन कुरा (अनिवार्य शिक्षा, आधारभूत स्वास्थ सेवा, आवास) को निश्चित भएको छ, गरिब क्षेत्रमा आधारभूत उत्पादन र जीवनस्तरमा प्रगति भएको छ। 

चीनमा कम्युनिष्ट पार्टीबाहेक आठवटा प्रजातान्त्रिक दलहरू छन्, ती सबै अनुशासित छन्। विदेश नीतिमा, राष्ट्रिय स्वार्थका सवालमा सबै एकजुट छन्। आफ्ना विचार बैठकमा, संसद्मा शालीन तरिकाले राख्छन्, सडकमा गएर जोरजुलुम गर्दैनन्, विदेशी सञ्चारमा गएर एकापसलाई खुइल्याउने काम गर्दैनन्।

-‘समय साप्ताहिक’ ले सन् २०२० मार्च १३ मा उल्लेख गरेअनुसार चीनको सहरी क्षेत्रमा प्रतिव्यक्ति आवास सन् १९५८ बाट ५.८ गुणा वृद्धि भएर २०१८ मा ३९ वर्गमिटर पुगेको छ। प्रति दस हजार जनसंख्यासित रहेको फोन संख्या (मोबाइलसमेत गरेर) सन् १९४९ को ५ बाट बढेर २०१८ मा २४३१० पुगेको छ। प्रति हजार परिवारसित रहेको टेलिभिजन, वासिङ मेसिन र फ्रिजको संख्या सन् १९८१ को क्रमश: ६, ६३ र २ बाट बढेर सन् २०१८ मा क्रमश: १२१३, ९७७ र १००९ पुगेको छ। चिनियाँहरूको सरदर अपेक्षित आयु ७० अघिको ३५ वर्षबाट बढेर सन् १९१८ मा ७६.३ वर्ष पुगेको छ। प्रति दस हजार जनसंख्याका लागि स्वास्थ्यकर्मीको संख्या सन् १९४९ को ६.६ बाट बढेर ६४.७ पुगेको छ। प्रति हजार शिशु मृत्युदर सन् १९४९ को २०० बाट घटेर १९१८ मा ६.१, प्रति लाख मातृ मृत्युदर सन् १९४९ को १५०० बाट घटेर १९१८ मा १८.३, स्वास्थ्यसेवा केन्द्रको संख्या सन् १९४९ को ३७०० बाट बढेर १९१८ मा ९ लाख ९० हजार, प्रति दस हजार अस्पताल बेड संख्या सन् १९४९ को १.६ बाट बढेर १९१८ मा ६०.७ पुगेको छ।

- निरक्षरता प्रतिशत सन् १९४९ को ८० बाट घटेर १९१८ मा ४.८५, उच्च शिक्षालयको संख्या सन् १९७८ को ५९८ बाट बढेर १९१८ मा २६६३ पुगेको छ। बेरोजगारको रूपमा दर्ता हुनेको प्रतिशत सन् १९५२ को १३.२ बाट घटेर १९१८ मा ३.९ मा झरेको छ। प्रतिव्यक्ति प्रयोज्य (डिस्पोजेबल) आय सन् १९४९ को ४९.७ युआनमा ५६६.७ गुणाले वृद्धि भई सन् २०१८ मा आइपुग्दा २८२२८ युआन पुगेको छ। सन् २०१८ मे १ मा ग्रामीण क्षेत्रमा शौचालयको प्रबन्ध प्रतिशत ८१.७ पुगेको छ। सन् १९४९ को तुलनामा सन् २०१८ मा संख्याको हिसाबले सार्वजनिक पुस्तकालय ५७.७ गुणा (३१७६ वटा), सांस्कृतिक केन्द्र ४९.६ गुणा (४४४६४ वटा), संग्रहालय २३४.२ गुणा (१९४९ वटा), कला प्रदर्शन समूह १७.१ गुणा, कला प्रदर्शन स्थल १.४ गुणा पुगेको छ।

- चीनले ७० वर्षको छोटो अवधिमा यति ठूलो फड्को मार्नसक्नुका आधारहरू

पहिलो आधार– चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जाति, पहिचान र सभ्यतालाई ठूलो महत्त्व दियो। ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को क्रममा र अघिपछि पनि यदाकदा भौतिकवादी हुनुका नाताले इतिहासको धार्मिक पक्षप्रति असहिष्णु भएको देखिए पनि चिनियाँले संस्कृति, भाषा, साहित्य र तिनको माध्यमबाट आफ्नो माटो र मनको परम्पराको उच्च सम्मान गरिरहे, चाडपर्व मनाइरहे। यसले गर्दा चिनियाँ सत्ता संसारभरि फैलिएका चिनियाँको मानसिक अभिभावकत्वको भूमिकामा स्थापित हुनसक्यो। च्यांग काइशेक भागेर ताइवान गएपछि यसले चीनको मुख्य भूभागमा रहेका पुराना गैरकम्युनिष्टप्रति सहिष्णुता अपनायो, यहाँसम्म कि सन् यात्सेनकी विधवी सोंग चिंगलिंग बैनीज्वाईंसित ताइवान नगई चीनमै बसिन्, उपराष्ट्रपतिसम्म बनिन्। ‘मध्यदेश’ र यसका महान् जातिको गुमेको साख फर्काउने माओको उद्घोषले विश्वभरिका चिनियाँलाई हौसला दियो, कतिपय चिनियाँ विदेशको सुखी जीवन छोडेर चीन फर्किई चिनियाँ सपना साकार पार्न तत्पर भए।

पछिल्ला दिनसम्म आइपुग्दा चीन खुलापनको वकालत गर्दैछ। अमेरिका राष्ट्रिय सुरक्षा र अमेरिकी स्वार्थलाई प्राथमिकता भन्दै खुला व्यापारलाई अंकुश लगाउन थाल्दैछ।

अमेरिकाको म्यानह्याटन योजनाको सफलतामा खासगरी जर्मनीको पेलाइमा परेका वैज्ञानिकहरूको ठूलो भूमिका रहेको तथ्य बुझेको चीनले त्यसको सिको गरेको कुरा दुईवटा उदाहरणबाट प्रष्ट हुन्छ। अमेरिकाले आणविक शक्तिलाई हतियारमा विकास गर्ने उद्देश्यले बनाइएको म्यानह्याटन योजनाको नेतृत्व जर्मनीमा शिक्षित रोबर्ट ओपनहाइमरलाई सुम्पिएजस्तै चीनले सो दायित्व फ्रान्समा शिक्षित छ्यान सानछ्याङलाई सुम्पियो। त्यस कार्यमा संलग्न तेंग च्यास्यान अमेरिकामा, वांग कानछांग जर्मनीमा, फंग ह्वानउ स्कटल्याण्ड र आयरल्याण्डमा, छंग खाइच्या स्कटल्याण्डमा र अन्य धेरै जना विदेशमा शिक्षित र प्रशिक्षित थिए भएका थिए।

अमेरिकामा शिक्षित छ्यान स्वेसन म्यानह्याटन योजनामा काम गरेका व्यक्ति हुन्। सन् १९४९ उनलाई क्याल टेकको जेट प्रणोदन प्रयोगशालाको निर्देशक बनाइएको थियो। तर त्यसै वर्ष चीनमा कम्युनिष्ट सत्ता आयो, त्यसपछि सुरु भएको जो मकार्थीको कम्युनिष्टविरोधी अभियानले उनलाई कम्युनिष्टप्रति सहानुभूति राखेको आरोपमा ५ वर्ष जेल पुर्‍यायो र अन्त्यमा देश निकाला गर्‍यो। उनी चीन फर्किए, कालान्तरमा चीनमा आणविक बम, हाइड्रोजन बम र रकेट प्रविधि विकासमा उनको नेतृत्व र अहं भूमिका रह्यो। यस हिसाबमा पश्चिमा देशले चिनियाँ मूलका नागरिकप्रति अपनाएको विभेद पनि चीनको लागि वरदान नै साबित भयो। पहिचानका नाताले चीनको आर्थिक विकासमा ठूलो भूमिका खेलेको छ। जतिबेला अमेरिका, युरोप र जापानका उद्योगव्यवसायी र व्यापारी चीनमा लगानी गर्न तत्पर थिएनन्, त्यसबेला हङकङ, ताइवान, सिंगापुर, मलेसियाजस्ता अर्थतन्त्र र विश्वभरि फैलिएका चिनियाँ जाति चीनमा लगानी गर्न तयार भए।

जर्मनीस्थित चीन अध्ययनका लागि मर्केटर संस्थाका जोन लीले सन् २०१६ मा ‘चीनको उदयमा डायस्पोराको भूमिका’ बारे लेख्दै भनेका छन्, अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागको सन् १९९५ प्रतिवेदनमा ताइवान, हङकङ, मकाओ र दक्षिणपूर्वी एसियामा फैलिएका ५ करोडको हाराहारीमा रहेका चिनियाँ डायस्पोराले सन् १९९० को दशकमा एसियामा व्यापारिक क्षेत्रमा जापानसित प्रतिस्पर्धा गरे। यिनको सम्पति चीनको कूल गार्हस्थ उत्पादन बराबर थियो। सन् १९९० को दशकको मध्यदेखि चीनको तीव्र आर्थिक विकासको अगाडि यी डायस्पोरा ओझेलमा परेका छन् तर चीनको उदयमा यिनको भूमिका धेरै ठूलो थियो। ‘डायस्पोरा’ भनेर सामान्यीकरण गर्नु त्यति उचित छैन, उनीहरूको इतिहास, मान्यता र परिस्थिति फरक छन्, कति त धनी व्यापारी पनि हैनन्। जे भए पनि यिनीहरूले चीनको निर्यातमुखी उद्योगको विकास र चीन र ती क्षेत्रको अर्थतन्त्र जोड्नमा खेलेको भूमिकाले चीनलाई सन् १९७९ पूर्वको राजनीतिक अर्थव्यवस्थालाई कायमै राखेर तीव्र आर्थिक विकास प्राप्त गर्न सम्भव बनायो। सुरुआती चरणमा चीनमा मुख्य वैदेशिक लगानी नै यिनैले गरेका थिए। इतिहासमा अर्को कुनै पनि उदाउँदो शक्तिले डायस्पोराको यस्तो सहयोग पाएको थिएन।

दोस्रो आधार– कम्युनिष्ट राजनीति र विदेश सम्बन्ध आफ्नो घरेलु आवश्यकताअनुरूप निर्धारण। चीनले सुरुदेखि नै शासन व्यवस्थालाई चिनियाँ विशेषताअनुरूप भएको बताउँदै आएको छ। ऊ आफ्नो देशको जल, भूमि र राष्ट्रिय अखण्डतामा सम्झौता गर्दैन। ताइवानलाई हटाएर मात्र चीन राष्ट्रसंघमा प्रवेश गर्‍यो, ताइवानसित सम्बन्ध–विच्छेद नगर्ने कसैसित पनि दौत्यसम्बन्ध राखेन।

लिन विथांगले इग्ल्यान्डलाई जहिले पनि सही समयमा सही मित्रराष्ट्रसित मिलेर युद्ध लड्ने देश भनेका थिए। यो लेखकको विश्लेषणमा वर्तमानमा कम्युनिष्ट चीनले त्यो क्षमता देखाएको छ। अमेरिकी समर्थनमा च्यांग काइसेकले दु:ख दिन सक्ने बेलामा चीन सोभियत संघसित सैन्य गठबन्धन गरेर सुरक्षा प्राप्त गर्न, चीनमा आणविक बम ल्याउन र सोका लागि प्रयोगशाला निर्माण गर्न, चिनियाँ वैज्ञानिकलाई अन्य विषयका साथै आणविक हतियार निर्माणसम्बन्धी तालिम दिलाउन सफल भयो। जब सोभियत संघसित सम्बन्ध बिग्रियो, चीन तेस्रो विश्वको नेतृत्व गर्दै त्यसको माध्यमबाट आफ्नो पक्षमा अन्तर्राष्ट्रिय माहौल बनाउन सफल भयो।

चीनको परराष्ट्र नीति चलायमान पनि छ। अमेरिकाविरुद्ध युद्ध लडेर उत्तर कोरियाका लागि युद्धमा अध्यक्ष माओको छोरो माओ आनयिङसम्म गुमाएको चीनले आर्थिक व्यापारिक पाटोमा ध्यान दिन थालेपछि दक्षिण कोरियालाई स्वतन्त्र देशको मान्यता दियो। उससित पनि दौत्यसम्बन्ध सुरु गर्‍यो। मध्यपूर्वमा प्यालेस्टाइनको पक्षमा लागेर इजरायलसित सम्बन्ध नराखेको चीन बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिमा उससित दौत्यसम्बन्ध राख्न पुग्यो। विश्वले मान्यता दिएसितै चीनले पनि सिक्किम भारतको भएको कुरा स्वीकार्यो। देशको एकीकरण नै नहुनु वा सोका लागि युद्धमा फस्नुभन्दा निश्चित समयका लागि ‘एक देश दुई नीति’ अपनाएर भए पनि हङकङ र मकाओ फिर्ता लियो। शान्तिपूर्ण फिर्तीका लागि ताइवानसित पनि त्यस्तै पहल गर्दैछ।

चीन व्यवहारमै मतभेदलाई थाती राखेर सहमतिका बिन्दुमा अघि बढ्ने नीति अख्तियार गर्छ। सम्बन्ध सुध्रिएसँगै कतिपय विवादका समाधान आफैं देखिन थाल्छन्। जापान, भारतलगायत देशसित भूमिमा र दक्षिण चीन सागरवरिपरिका देशसित पानीमा उसका मतभेद छन्। तर यी विवादले चीनलाई ती देशसित आर्थिक व्यापारिक सहकार्य गर्नबाट रोकेको छैन, उसले ती देशसित युद्ध गरेको छैन। पञ्चशीलको सिद्धान्त मान्नाले ऊ सजिलै अरूसित झमेलामा फस्दैन।

तेस्रो आधार– आन्तरिक एकता र स्थिरतामा जोड। अस्थिरता निम्त्याउन सहायकसिद्ध हुने जातिमा आधारित संघात्मक सोभियत मोडेललाई अस्वीकार गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको ठूलो बुद्धिमत्ता थियो। अहिलेसम्म आइपुग्दा सोभियत संघ विघटन भइसकेको छ, तर चीन स्थिर छ। हानभन्दा फरक अल्पसंख्यक जातिलाई स्वायत्त क्षेत्रहरू र कतिपय स्थानीय सवालमा विकेन्द्रीकरणको व्यवस्थाद्वारा तिनलाई विशेष सहयोग गर्ने प्रयास गरिएको छ। हानहरूको भाषाको अक्षर समान भए पनि बोलीमा रहेको भिन्नताले कठिनाई नआओस् भनेर मुख्यत: उत्तरी चीनको फुथोङ्ह्वा बोलीलाई आधिकारिक चिनियाँ भाषा तोकिएको र देशैभरि अनिवार्य गरिएको छ, स्थानअनुसार अन्य भाषालाई पनि 
मान्यता दिइएको छ र तिनमा पनि पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ। भारतमा जस्तो ‘हिन्दी वा बंगालीभन्दा बरू अंग्रेजी’ भन्ने प्रवृत्तिले टाउको उठाउन पाएको छैन, न त नेपालमा जस्तो संसद्मा नेपाली भाषा बहिष्कार गर्दै हिन्दीमा बोल्ने प्रवृत्ति देखिएको छ।

चीनमा कम्युनिष्ट पार्टीबाहेक आठवटा प्रजातान्त्रिक दलहरू छन्, ती सबै अनुशासित छन्। विदेश नीतिमा, राष्ट्रिय स्वार्थका सवालमा सबै एकजुट छन्। आफ्ना विचार बैठकमा, संसद्मा शालीन तरिकाले राख्छन्, सडकमा गएर जोरजुलुम गर्दैनन्, विदेशी सञ्चारमा गएर एकापसलाई खुइल्याउने काम गर्दैनन्। कम्युनिष्ट पार्टी पनि ती प्रजातान्त्रिक दलहरूलाई सरकारको उच्च नेतृत्वमा पुग्न दिन्छ र राज्य सञ्चालनमा हातेमालो गर्छ। सत्ता भने कम्युनिष्ट पार्टीको नेतृत्व र निर्देशनमा चल्छ। एक जना व्यक्तिले वर्षमा सरदार २५० दिन काम गर्छ भन्ने सम्झिँदा कुनै दलले २५ हजार जनाको जुलुस निकाल्नु भनेको एक सय जनाको वर्षदिनको उत्पादकत्व गुमाउनु हो। कसैले ५ लाख जनाको जुलुस निकाल्यो भने देशले दुई हजार जनाको वार्षिक उत्पादकत्व गुमाउनु हो। सायद चिनियाँलाई यो कुराको राम्रो हेक्का छ, उनीहरू झगडा र प्रदर्शनीमा समय बर्बाद गर्न अग्रसर देखिँदैनन्। पर्यटन, खेलकुद र मनोरञ्जनलाई भने उनीहरू समय दिन्छन्, सायद यसरी शरीर र मन फुर्तिलो हुन्छ भन्ने लागेर होला।

चौथो आधार– भ्रष्टाचारप्रति संवेदनशील। त्यति ठूलो देशमा बेलाबखत तल्लोदेखि माथिल्लो तहसम्मका नेता, कर्मचारी, उद्योगपति, व्यापारीहरू भ्रष्टचार, नाफाखोर, करछली, नातावाद, विलासी जीवनशैलीमा फसेका खबर आउँछन्, छानबिनबाट कसुर पुष्टि भएको अवस्थामा अपराधको प्रकृति हेरी आत्मआलोचनादेखि मृत्युदण्डसम्मका सजाय दिएको देखिन्छ। व्यक्तिगत आर्थिक लाभका लागि राजनीति गर्ने चलन निरुत्साहित छ। यसरी जनताको सम्पत्ति कसैले गलत तरिकाले हत्याउने सम्भावना न्यून बनाउन टेवा पुगेको छ।

पाँचौं आधार– आर्थिक उन्नति र उत्पादकत्व वृद्धिमा जोड। धेरै अर्थविद्को भनाइ छ, चीनको तीव्र आर्थिक विकासका मुख्य दुई कारण थिए : पहिलो, ठूलो धनराशी लगानी (ठूलो आन्तरिक बचत र विदेशी लगानी) र दोस्रो, उत्पादकत्वमा तीव्र वृद्धि। यी दुई एकैसाथ देखा परे। आर्थिक सुधारले अर्थतन्त्रको प्रभावकारिता बढ्यो, फलस्वरूप उत्पादन बढ्यो, जुन फेरि अर्को लगानी बन्न पायो। चिनियाँको बचत गर्ने बानी छ, सन् १९७९ मै घरेलु बचत त्यस समयको कूल गार्हस्थ उत्पादनको ३२ प्रतिशत थियो। विकेन्द्रीकरणजस्ता आर्थिक सुधारले घरायसी र संस्थागत बचतलाई उत्पादनशील क्षेत्रमा लगानी हुन प्रेरित गर्‍यो, वास्तवमा चीनमा लगानीका लागि चाहिनेभन्दा बढी बचन हुन थाल्यो। जुन रकम चीन अरूलाई सापट दिन सक्ने हैसियतमा रह्यो। राज्यले सञ्चालन गर्दा भन्दा खुलापन लागू भएपछिका साना र मझौला उद्योगको उत्पादकत्व वृद्धि भयो, फलत: अर्थतन्त्रले फड्को मार्‍यो। करछुट आदिका आकर्षण दिएर निर्यातमुखी उद्योगलाई प्रश्रय दिएकाले चीनमा नयाँ प्रविधि भित्रियो।

त्यसबाट प्रकारान्तरले चिनियाँ कम्पनीको प्रतिस्पर्धा क्षमता बढ्यो, उत्पादकत्व बढ्यो। मध्यमस्तरीय अर्थतन्त्रमा उक्लिएपछि आर्थिक वृद्धिदरमा मन्दी आउने गरेको अन्तर्राष्ट्रिय अनुभवलाई मध्यनजर गर्दै चीनले पछिल्ला दिनमा श्रम र उर्जामा आधारित वातावरण प्रदूषण बढाउने परम्परागत उद्योगको सट्टा उच्च प्रविधिमा आधारित वातावरणमैत्री उद्योगमा जोड दिने नीति अख्तियार गर्‍यो। फलत: उसले कप्म्युटर, अन्तरिक्ष प्रविधि, स्वास्थ्य विज्ञान, यातायात, सञ्चारजस्ता क्षेत्रमा एकपछि अर्को सफलता हासिल गर्न थालेको छ। शिक्षा र अनुसन्धानलाई जोड दिँदै विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूलाई निकै ठूलो आर्थिक सहयोग दिन थालेको छ। नयाँ प्रविधि विदेशबाट प्राप्त गर्न र आफैंले विकास गर्न सबैभन्दा सजिलो सजिलो उपाय विदेशबाट बौद्धिक लाभ हो भन्ने बुझेर चीनले सकेसम्म धेरै विदेशी विशेषज्ञलाई आफ्नो देशमा ल्याउने प्रयास गरेको छ। यस प्रयासमा उसले खास गरी चिनियाँ मूलका विदेशी वा विदेशमा पढ्न गएका चिनियाँको साथ पाएको छ।

छैठौं आधार– निरक्षरता उन्मूलन, सबैलाई आधारभूत शिक्षा, प्राविधिक शिक्षामा जोड, नयाँ सीप सिक्न विश्वका अगुवा विश्वविद्यालय र अनुसन्धान केन्द्रसित सहकार्य, विशेष आर्थिक सुविधा र अनुसन्धानको वातावरण सिर्जना गरेर विदेशिएको दक्ष जनशक्तिलाई देश फर्किन प्रोत्साहनजस्ता उपायद्वारा चीन छोटो समयमा ठूलो शैक्षिक र अनुसन्धानात्मक उपलब्धि हासिल गर्न सफल भयो। ‘राष्ट्रिय मध्यम र दीर्घकालीन शैक्षिक सुधार र विकास योजनाको रूपरेखा’ ले शिक्षा क्षेत्रमा कुल गार्हस्थ उत्पादनको ४ प्रतिशत लगानी सन् २०२० मा पुर्‍याउने लक्ष्य लिएकोमा धेरै अगाडि सन् २०१२ मै त्यो पूरा भई सन् २०२० मा ४.५४ प्रतिशत पुग्यो। सन् २०१९ मा वार्षिक बजेट ७७ करोड डलरभन्दा माथि हुने चिनियाँ विश्वविद्यालयको संख्या २९ थियो, छिङ्ह्वा विश्वविद्यालयको वार्षिक बजेट ४.६ अर्ब डलर थियो। अहिले अनुसन्धानमा लगाउने बजेटको हिसाबले चिनियाँ विश्वविद्यालयहरूले अन्य विकसित देशका समकक्षीलाई उछिनेका छन्।

सातौं आधार– सस्तो श्रमशक्ति। सन् १९८० को दशकमा देशैभरि रहेको सस्तो जनशक्तिको उपलब्धता, विदेशी लगानीलाई करछुट जस्ता आकर्षणले गर्दा धेरै विदेशीहरूले चीनमा लगानी गर्न थाले। जब चीनका ‘केही मान्छे र केही क्षेत्र पहिले धनी’ भए, ती क्षेत्र नयाँ प्रविधि, नयाँ उत्पादन, नयाँ सेवातिर आकर्षित हुँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धामा उत्रिन थाले। त्यसबाट चीनमा सस्तो श्रमशक्ति उपलब्ध हुन छाडेन, श्रम–केन्द्रित उद्योगधन्दा फस्टाइरहे, चीनकै पिछडिएका जनता र क्षेत्रले रोजगारी र आर्थिक विकासको मौका पाए, चीनले पिछडिएका क्षेत्रमा गरिने लगानीलाई प्रोत्साहन दिने नीति अख्तियार गर्‍यो। अहिलेसम्म पनि श्रमशक्तिमा चीनको सापेक्षिक फाइदा कायमै छ।

आठौं आधार– अन्तर्राष्ट्रिय लगानी र व्यापारमा कुशलता। नेपाललगायत विकासोन्मुख देशहरूलाई आर्थिक अनुदान दिन थालिसकेको, आणविक हतियार र अन्तरिक्ष प्रविधिले सुसज्जित चीन पश्चिमा देशहरूसित प्रतिव्यक्ति आयको आधारमा, चीनमा रहेका पिछडिएका क्षेत्र र जनताको आधारमा आर्थिक सहयोग प्राप्त गर्न सफल भइरह्यो। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, युनिसेफजस्ता निकायको सहयोग र सद्भाव प्राप्त गर्न सफल भइरह्यो। ऊ आफ्नो अनुकूलमा बहुपक्षीय र द्विपक्षीय समझदारीसहित विश्व व्यापार संगठनको सदस्य बन्न सफल भयो। आसियानलगायतका क्षेत्रीय व्यापार संगठनका माध्यमले चीन आफ्नो हितमा बजार वृद्धि गर्न सफल रह्यो। अरू त अरू धेरै विवादका बीच ऊ अमेरिकासित व्यापारिक सहुलियत प्राप्त देश (मोस्ट फेवर्ड नेशन) को हैसियत पाइराख्न सफल भयो।

बदलिँदो समय र परिस्थितिसँगै चीन अन्तर्राष्ट्रिय खुला बजार नीति अपनाउन पुग्यो। एकातिर उसले आफ्नो प्रतिस्पर्धात्मक क्षमता बढाउँदै लग्यो भने अर्कातिर स्वतन्त्र व्यापारबाट फाइदा लिन र आफू नठगिन आवश्यक कानुनी क्षमता वृद्धि गर्‍यो। जब चीनसित अन्य देशसितभन्दा बढी वैदेशिक मुद्रा सञ्चिति हुन थाल्यो, अन्तर्राष्ट्रिय बहुपक्षीय आर्थिक संरचनामा चीनको उपस्थिति सुदृढ हुन थाल्यो। ऊ अमेरिकाले अघि सारेको स्वतन्त्र बजार र खुला व्यापारकै मुद्दामा टेकेर प्रतिस्पर्धा गर्न थाल्यो। पछिल्ला दिनसम्म आइपुग्दा चीन खुलापनको वकालत गर्दैछ। अमेरिका राष्ट्रिय सुरक्षा र अमेरिकी स्वार्थलाई प्राथमिकता भन्दै खुला व्यापारलाई अंकुश लगाउन थाल्दैछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.